भर्खरै :

“प्रतिपक्षी कलम” को बारेमा एकछिन घोत्लिँदा

जोरालको पुस्तक ‘प्रतिपक्षी कलम’ आद्योपान्त पढ्दा देश, काल र परिस्थितिको व्याख्या पाएँ । देशको राजनीतिको डाँवाडोलमाथि टाउको दुख्ने गरी प्रहार गरेको देखियो । देशको पीत पत्रकारितामाथि पनि राम्रो प्रहार गरेको पाएँ ।
पुस्तकमा ‘श्रमिक’ साप्ताहिक पत्रिकाको वर्ष १ को अङ्क २ मिति २०५० साल माघ १९ गतेदेखि वर्ष ५ अङ्क ५२ मिति २०५५/१०/५ अर्थात् ६ वर्षमा प्रकाशित मुख्य–मुख्य लेख समावेश गरिएको छ ।
लेखकको बारेमा
यस पुस्तकका लेखक जोराल शिक्षण पेशाबाट अवकास प्राप्त हुनुहुन्छ । उहाँले ‘श्रमिक’ साप्ताहिक पत्रिकाको स्तम्भकार, ‘मजदुर’ दैनिकको प्रकाशकको रूपमा काम गर्नुभएको हो । पत्रकार समाजका पूर्वअध्यक्ष जोरालले हाल भनपाबाट प्रकाशित मासिक ‘भक्तपुर’ पत्रिकाको सम्पादन गरिरहनुभएको छ ।
यो पुस्तकमा २०५० सालदेखि २०५५ सालसम्मका राजनीतिक उतारचढाव, वैदेशिक चासो र दाउपेचको उछित्तो काढिएको छ । नेपाली काङ्ग्रेसको भारतसँगको सम्बन्ध, भारतीय नीतिको कारण नेपालमा पारेको हानिनोक्सानी र उसको सीमा अतिक्रमणको नीति, सिमानामा बसोबास गर्ने नेपालीले पाएको हैरानी आदिलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ ।
एमाले र काङ्ग्रेसमा खासै भिन्नता केही छैन । दुइटैको उद्देश्य एउटै किसिमको छ । जसरी पनि देशको स्रोत साधनको दोहन गर्ने उनीहरूको उद्देश्य हो । यहाँसम्म कि आफ्ना नाता–गोता, आसे–पासे तथा भैँसी गोठालासमेतको स्वार्थमा काम गरिएको छ ।
पुस्तकमा देशले सर्वमान्य नेता, युग पुरुष भनी सम्बोधन गरिएका गणेशमान सिंहको त्यागको बारेमा प्रस्ट उल्लेख छ । जसको शीर्षक छ, ‘जनताको हिरा र शवयात्रामा हाँसो’ (पेज २२० मा उल्लेख भएको छ) गणेशमानजीको शवयात्रामा हाँसो गर्नेहरूको नाम किटेर लेखिएको छ । डा. रामशरण महत, गोविन्दराज जोशी, विजय गच्छदार यसका उदाहरण हुन् ।
जन्तीमा जानेर मलामीमा हाँस्ने काम कसैबाट पनि गरिँदैन । यो नेपाली परम्परा हो । (पृष्ठ २२२)
२००७ सालको क्रान्तिमा राणाविरुद्ध एक शुद्ध नेपाली भएर अनेकौँ यातना तथा जेलनेल सहेर पनि राणा शासन अन्त्यका लागि अनवरतरूपमा लागेर २०४६ को आन्दोलनको सफलता प्राप्तिपछि राजाले प्रधानमन्त्री पदको अवसर दिँदा आफू प्रधानमन्त्री नहुने र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको लागि योग्य छ भनी सिफारिस गरेको त्यो त्यागको ‘श्रमिक’ पत्रिकाले मुक्तकण्ठले प्रशंसा गरेको बारेमा उल्लेख गरिएको छ ।
हालको प्रजातन्त्रलाई बग्गीको घोडासँग तुलना गरिएको छ । एउटै सरकार रहिरह्यो भने प्रतिपक्षीबाट हमला होला र आफ्नो रजाइँ नहोला भन्ने डरले ६÷६ महिनामा सरकार परिवर्तन भइरहनु हालको प्रजातन्त्रको विशेषता हो भनी किटान गरिएको छ ।
पृष्ठ २२ मा प्रजातन्त्रको रूपप्रति अट्टहास गरिएको छ । आन्दोलन पनि भयो, सत्ता पनि फेरियो भनी देशमा विभिन्न हर्षाेल्लासका कार्यक्रमहरू भएका थिए । तर, नेपालमा उनै पञ्च भएर तर मारेका दिग्गजहरूको रजाइँ चल्यो, काङ्ग्रेस, ‘कम्युनिस्ट’ मा सबै पञ्चकै बोलवाला भयो र यहाँसम्म कि पञ्चलाई नै एकलौटी सरकार चलाउनसमेत दिइएको देखियो ।
माओवादीको बारेमा
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) कै शब्दमा भन्नुपर्दा यी नक्कली कम्युनिस्ट हुन् भनी सम्बोधन गरिएको तथ्यलाई यो सङ्कलनमा पुष्टि गरिएको छ । देशमा यिनको योगदान केही छैन । निमुखा गरिब जनतालाई पूर्वाग्रहको आधारमा हत्या र बलात्कार गरी जनतामा त्रास पैदा गरिएको कुरालाई कसी लगाइएको छ ।
हुन पनि बेकसुर र निमुखा जनतालाई मार्नु र पीडा दिनुबाहेक देशमा सो समयमा के नै भयो र ?
न्यायालयको खेलाँची
माछा देखे दुलोभित्र हात, सर्प देखे दुलो बाहिर हात भनेझैँ सदन र जनादेशको आधारमा सरकार बन्ने र ढल्ने प्रक्रिया संसद् भएको देशमा हुन्छ । तर, यो देशमा कैयौँ पटक परमादेशको आधारमा संसद् बन्ने अनि भङ्ग भएको छ । गिरिजाले गरेको भङ्ग ठीक, मनमोहनले गरेको बेठीक भन्ने अदालतले अहिले किटानी गरेर फलानोलाई नै प्रम बनाउनु भनेर राष्ट्रपतिलाई आदेश गर्दछ ।
महाकाली सन्धि
सुगौली सन्धिले महाकाली नदी नेपालको हो भनी किटानी गरेको अवस्थामा बनेको नक्सा हुँदाहुँदै प्रजातन्त्रको खोल ओढेको सरकारले नेपाल र भारत दुवैको आधा–आधा भनी सन्धि ग¥यो । पञ्चेश्वर आयोजनाले अब नेपालको कायापलट हुन्छ, घाम पूर्वबाट होइन पश्चिमबाट उदाउँछ भनी ढ्वाङ फुकी सत्तासीन दलले महाकाली बेचे । यो तथ्यलाई आज देशभक्त नेपाली सबैले बुझेका छन् भनी बडो राम्रोसँग उजिल्याइएको छ ।
यसरी हेर्दा हरेकपल्ट नेपाल भारतबाट ठगिएको छ । २००७ सालको राणाविरुद्धको आन्दोलनपछिको कोसी सम्झौतामा नेपाललाई लोप्पा खुवाइएको छ । प्रजातान्त्रिक कालमै गण्डक सम्झौता भयो, त्यसमा हामीलाई थाङनामा सुताइएको थियो ।
अब भारतको आँखा कोसी उच्च बाँध
झगडा लगाउने पनि उही मिलाउने पनि उही, ‘धामी पनि आफै बोक्सी पनि आफै’ ¤ नेपालमा अशान्ति मच्चाउने वातावरण बनाइदियो । झगडा चरमसीमामा पुगेपछि आफै मध्यस्थ भएर आफ्नो नाफामा बार्गेनिङ गरेर सम्झौता गराइदियो । यो खेल प्रजातन्त्रका नामधारीहरूले गरिरहेका छन् । विशुद्ध नेपालीले सिमानामा एसएसबीको यातना भोग्नुबाहेक के पो पाएको छ र ?
प्रस्तावित कोसी उच्च बाँध आयोजनामा मित्र राष्ट्रको आँखा
भारतले नेपाललाई सानो छिमेकी भाइ भनेर भन्दा राजा महेन्द्रले माउते र हात्तीको उदाहरण दिएपछि प्रम इन्दिरा गान्धी नाजवाफ भएको कुरालाई यो पुस्तकमा राम्रोसँग प्रस्ट्याइएको छ । पूर्व – पश्चिम राजमार्ग बनाउन भारतसँग सोध्नुपर्ने भन्ने विषयमा महेन्द्रले दिएको जवाफबारे पुस्तकमा प्रकाश पारिएको छ । त्यसकै झोकमा अरनिको राजमार्ग (कोदारी) बनाउँदा नेपालले भारतको कर्केनजर सहनुप¥यो । उसलाई चित्त बुझेन कि नाकाबन्दीको हतियार प्रयोग गरिदिने कथनलाई पनि चित्रण गरिएको छ ।
पुरातत्वको संरक्षण
हाम्रो प्रवृत्ति अर्काले गरिदेओस् अनि हामी बसीबसी उपभोग गर्ने भन्ने किसिमको छ । पुरातत्वको संरक्षण पनि हामी गरिदिन्छौँ भनी मित्रराष्ट्रको दबाब परेको कुरा कुनै समयमा पुरातत्वका महानिर्देशक साफल्य अमात्यको कुरालाई लिन सकिन्छ । हाम्रो पुरातत्वको संरक्षण हामी आफै गर्छाैँ भन्दा विदेशी रिसाउँछन् भनी मिटिङ्गबाट उठेको प्रसङ्ग सान्दर्भिक तरिकासँग गरिएको छ ।
यो पुस्तकको सन्दर्भमा
यो पुस्तक सदनको प्रतिपक्षको भूमिकाजस्तै सडकको प्रतिपक्षको भूमिका निर्वाह गर्ने खालको छ । यो पुस्तकजस्तै यसको अर्काे भाग आगामी निर्वाचनसम्मको चिरफार गरी प्रकाशित हुन पाए अझ रोचक हुने देखिन्छ । पुस्तौँ पुस्तासम्म एक इतिहासको पर्यायको रूपमा रहने थियो ।
यति ठूलो सङ्कलन त्यसलाई सम्पादन, प्रकाशन तथा शीर्षक, उपशीर्षक पहिल्याएर जनसागरमा यो जहाज छोड्नुभएको छ, त्यसको लागि मेरो तर्फबाट हार्दिक नमन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *