भर्खरै :

१ माघ २०७८ को ‘मजदुर’ पढ्दा

६ दिनसम्म ‘राष्ट्रिय’ भनिने पुँजीवादी पत्रपत्रिकाको विज्ञापन, भ्रष्टाचार, साम्राज्यवाद र विस्तारवादका पिछलग्गू शासक दलहरूको वाक्कलाग्दा समाचारहरूले थकित भएको आँखा र कानलाई सुविस्ता दिने काम ‘मजदुर‘ दैनिकको शनिबार अङ्कले दियो ।
छिमेकी देश भारतका कामदार र सचेत जनता नेपालीका मित्र हुन् भारतको स्वतन्त्रताको निम्ति र शोषणविरुद्ध लड्ने भारतीय प्रगतिशील लेखक, कवि, कलाकार र अगुवाहरूको लेख–रचना र जीवनीहरू पढ्न पाउँदा संवेदनशील नेपाली जनताले आनन्दको अनुभूति गर्नेमा म विश्वस्त छु ।
‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकले अमेरिकी साम्राज्यवाद र त्यसका पिठ्ठु सरकारहरू– मोदी, बोल्सोनारी तथा अष्ट्रेलियाली, बेलायती आदि साम्राज्यवादी र फासीवादी सरकारहरूको नीतिलाई उदाङ्याउँदै नेपाली जनतालाई सचेत गर्दै आएको छ । ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकको साम्राज्यवादी गतिविधिको निन्दा र विरोध गर्नु साँच्चै प्रगतिशील कदम हो । त्यसैले नेपालका विभिन्न जिल्ला, गाउँ र सहरहरूका सचेत जनता र बुद्धिजीवीहरू ‘श्रमिक‘र ‘मजदुर’ खोजी खोजी पढ्ने गर्छन् ।
‘मजदुर‘ र ‘श्रमिक‘ मा प्रकाशित भारतीय साहित्य, सङ्गीत, चिन्तन र शिक्षाका एक शिरोमणि व्यक्तित्त्व रवीन्द्रनाथ ठाकुर, प्रेमचन्द, वेलराज सहानी, भारतीय विद्वान मालविय, राहुल सांस्कृत्यायन आदिका जीवनी र रचनाहरू पढ्न पाउँदा पाठकहरू गद्गद् हुन्छन् । प्राध्यापक, बुद्धिजीवी र भारतीय विचारकहरूले मोदी सरकारको फासीवादी विचार र गतिविधिबारे लेखिएका लेखकहरूको सङ्ग्रह ‘आजको भारत’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ। नेपालीमा अनुवाद गरिएको उक्त पुस्तकबारे नेपालका कलेज, स्कूल, पुस्तकालय र जिल्लाहरूमा अन्तरक्रिया चालु छ ।
यही सेरोफेरोमा १ माघ २०७८ को ‘मजदुर’ पढ्दा साहित्यबारे नयाँ विषय हेर्न पाएको अनुभव भयो । मेरो आँखा सबभन्दा पहिले ‘इच्छापत्र’ शीर्षकको कवितामा पन्यो । ‘अमृता प्रितम’ ले लेख्नुभएको र अभयले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको थाहा पाउँदा उक्त कविता दोहो¥याएर पढेँ ।
त्यही सिलसिलामा ‘दस मुक्तकहरू’ र ‘हाम्रा महान् गुरू’ शीर्षकका नेपाली कविताहरू पनि पढेँ । बरोबर पढिने ती कविका मुक्तक र कविताहरूको समालोचना आवश्यक सम्झे ।
अदिति भारद्वाजको ‘यशपालः म जिउने कामनाले, जीउन सक्ने प्रत्यनका लागि लेख्छु’ शीर्षकको लेख पढ्दा यशपालको क्रान्तिकारी जीवनी, उहाँका जीवन सङ्गिनी प्रकाशवतीका तस्बिर गतिविधि र चिन्तनबारे मनमनै गुनें भारतमा हिजोका ती क्रान्तिकारीहरूबारे कम पढ्न पाए पनि नेपालकै एक पत्रिकाबाट पढ्न पाउँदा भारतीय बेलायती उपनिवेशवाद, साम्राज्यवादविरोधी सङ्घर्ष र भारतीय स्वतन्त्रतापछिका प्रगतिशील साहित्यबारे बिर्सेको पाठ फेरि स्मरण भएजस्तो लाग्यो । यशपालका ‘सिंहावलोकन’ का पाठहरू पढ्ने इन्द्रलाल कर्माचार्य अहिले ७२ वर्ष नाघिसकेर साहित्य पढ्न थाक्नुभएको छ भने कवि पूर्णबहादुर वैद्यले जीवनबाट बिदा लिनुभएको एक–दुई वर्ष भइसक्यो ।
‘दादा कामरेड’ का केही चरित्रबारे हाम्रो फरक मत होला तर, नेपाली राजनीतिमा गुण्डागर्दीको प्रयोग भारतबाटै भित्रिएको हो । उनको ‘माक्र्सवाद’ र ‘गान्धीवादको शव परीक्षा’ आज पनि पठनीय पुस्तक हो । उनका ‘घर घरको कथा’, ‘कुना कुनाको कुरा’ जस्ता नाटक पढ्दा हृदयचन्द्रसिंह प्रधानका ‘छेउ लागेर’ ‘गङ्गालालको चित्ता र अन्य कथाहरूको सम्झना हुन्छ ।
नेपाली भाषामा यशपालका रचनाहरूको अनुवाद मैले पढ्न पाएको छैन । तर, मालवीयका ‘आँखाले देखेको केरल’ प्रकाशले गर्नुभएको नेपाली अनुवाद ‘मजदुर’ मा पढेँ । ‘मेरो दाइ वलराज’ शीर्षकको भाइ भीष्म सहानीको अनुवाद, त्यस्तै रवीन्द्रनाथ ठाकुरको ‘रूसको चिठी’ को अनुवाद पनि पढ्न पाएँ। ‘मजदुर’ मा प्रकाशित विभिन्न देश र भाषाका साहित्य र नेताहरूको रचना अनुवादहरूबाट नेपाली पाठकहरू वैचारिकरूपले लाभान्वित हुनेमा दुईमत छैन । भारतीय राजनीतिक अर्थशास्त्र प्रभात पटनायकको ‘पुँजीवादको अझ चर्को अन्तरविरोध’ र ‘पुँजीवादले संरा अमेरिकालाई समाप्त पार्दै छ‘ भन्ने लेखोट पनि सान्दर्भिक छ ।
सरकारको भूगर्भ विभाग र त्रिविलाई थाहा भए पनि नभए पनि सोभियत सङ्घमा पढेर फर्केका साँखु (काठमाडौँ) का ढुङ्गा माटोलगायत खनिज पदार्थका केमिकल इन्जिनियर राजदासले धारावाहिकरूपले ‘मजदुर’ मा लेखेर पाठकहरूलाई जानकारी दिइरहनुभएको छ । हामी पाठकहरू ती लेख वा संस्मरणहरू पढ्दा रमाइलो अनुभव गर्छौँ । यसकारण ‘मजदुर’ का साथीहरूलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *