भर्खरै :

कापुचे लेक पुगेर फर्के भक्तपुरका दुई कलाकार

काठमाडौँ, ८ माघ । प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’ लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।
धेरैजसोको समय काठमाडौँ र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम माताङ र लक्ष्मीप्रसाद खोतेजा कापुचे पुगेका थिए । उनीहरूले मार्दीमा पुगेर त्यहाँका हिमशृङ्खला समेटेर चित्र बनाएको वर्ष दिन नपुग्दै अर्काे महत्वपूर्ण यात्रा तय गरे ।
कापुचे ताल समुन्द्र सतहबाट तल्लो ठाउँमा रहेको हिमतालको रूपमा चिनिन्छ । उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलो अनूभूति मिलेको छ । रङमा कुची चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन ।
आइतबार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो । घामको किरणको स्पर्शपछि बिस्तारै आइस पग्लिन्थ्यो । कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेका थिए । कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पद मार्गको रूपमा विकास भएको क्षेत्र हो । कास्की जिल्लाको उत्तर–पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो । समुन्द्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट ६ घण्टाको पैदल यात्रामा पुगिन्छ । त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ ।
त्यस वरपरका दृश्यले निकै लोभ्याएको कलाकार माताङले बताए । उनले भने, “त्यसैको काखमा बसेर क्यान्भासमा दृश्य उतार्न कम्ता मजा भएन ।” कापुचेको अर्थ झरेको बरफ हो । नामअनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ । हिउँले ढाकिएको पहाडको बीचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिरोले आकर्षण थप्छ । यसपालि शनिबारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कापुचे कलायात्रा पूरा गरेर फर्किएका हुन् । शनिबार र आइतबार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरूले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन् ।
उनीहरूका अनुसार जानलाई केही चुनौती भयो । साँघुरो बाटो, भिर–पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उनीहरूले सुनाए । माताङले भने, “बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जेझैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो । आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ ।”
गएको शुक्रबार काठमाडौँबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिबार र आइतबार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमबार काठमाडौँ आइपुगे । अन्य बाँकी कलाकारले काठमाडौँकै विभिन्न क्षेत्रमा चित्र सिर्जना गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *