भर्खरै :

जिल्ला–जिल्लामा मनाइयो नेमकिपाको ४८ औँ स्थापना दिवस

काठमाडौँ, ११ माघ । नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा नेमकिपा, काठमाडौँ जिल्ला समितिको आयोजनामा सोमबार अनलाइन प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले कामदार वर्गको हकहितको लागि स्थापना भएको नेमकिपाको तत्कालीन लक्ष्य जनताको प्रजातन्त्र र दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्नु हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “जनताको प्रजातन्त्रमा मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, देशभक्त उद्योगी एवम् व्यापारीको सरकार गठन हुन्छ ।” उहाँले समाजवादमा उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने र योग्यताअनुसार काम र कामअनुसाको ज्यालाको बन्दोबस्त हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने र व्यक्तित्व विकासमा समान अवसर हुने बताउनुभयो । समाजवादको सुरुवाती चरणमा पुँजीवादका विकृतिहरू रहिरहने र त्यो चरणबद्धरूपले हट्दै जाने उहाँले बताउनुभयो ।
पार्टी सचिव सुवालले नेपालका युवाहरूलाई म्यानपावर कम्पनीहरूले सस्तो ज्यामी बनाई वैदेशिक रोजगारमा पठाइरहेको छ भन्नुभयो ।
उहाँले वैदेशिक रोजगार गोर्खा भर्तीजस्तै भएकोले नेपाली युवाहरूलाई देशमै रोजगारी दिएर देशको दिगो विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडाँै जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले प्रकाशस्तम्भको भूमिका खेलिरहेको भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको कम्युनिस्ट आन्दोलन र समग्र नेपालको राजनीतिमा नेमकिपाको उपादेयता अझ बढ्दै गएको छ । यसले साम्राज्यवादविरोधी सङ्घर्षले नेपालको सार्वभौमिकता बलियो बनाएको छ । नेपाली भूमिमा साम्राज्यवादी थिचोमिचोको प्रतिकार सुरु भएको देखाएको छ । हाम्रो यात्रा अझ लामो छ, सङ्घर्षका दिन अझ सकिएका छैनन्, छिचोल्नुपर्ने बाटो अझ लामो छ ।”
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले अमेरिकी साम्राज्यवाद, मोदी फासीवाद र विस्तारवादका अन्ध समर्थक शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन प्रचण्ड र माधव नेपालले गरेको अगुवाइ ठीक नभएको बताउनुभयो । उहाँले समाजवाद दाल–भात डुकुको मात्रै समस्या समाधान होइन, बरु उँचो सांस्कृतिकस्तरले युक्त समाज निर्माण गर्नु पनि हो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पुँजीवादी देशले भन्दा समाजवादी देशले छिट्टै विकास गरिरहेको बताउनुभयो ।
प्रवचन कार्यक्रममा विश्वक डंगोल, रमेश डंगोल, रामचन्द्र महर्जन र श्यामकुमार महर्जनलगायतले बोल्नुभएको थियो ।
चितवन
पार्टी स्थापना दिवसकै अवसरमा राप्ती नगरपालिका –१० स्थित वकान्दीमा नेपाल क्रान्तिकारी युवा सङ्घमा आबद्ध युवाहरूको भेला भयो ।
भेलामा नेपाल क्रान्तिकारी युवा सङ्घका चितवन जिल्ला अध्यक्ष ज्ञानेन्द्र चेपाङले पार्टीले अँगीकार गर्दै आएको समाजवादी विचारलाई प्रत्येक श्रमिक जनतामा पु¥याउनुपर्ने बताउनुभयो । अध्यक्ष चेपाङले भन्नुभयो, “युवाको जोस जाँगरलाई समाज परिवर्तनमा लगाउनु पर्दछ । पुँजीवादी विकृति विसङ्गतिलाई तोड्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा युवाहरू लाग्नुपर्छ ।”
युवा श्रम शक्तिलाई विदेश पलायन गरेर देशको विकास सम्भव नभएको भन्दै उहाँले पुँजीवादी दलका नेताहरू सत्ताको लोभ र निहित स्वार्थमै रुमलिरहेको प्रस्ट पार्नुभयो ।
नेक्राविसङ्घ चौथो जिल्ला सम्मेलन तयारी समितिका संयोजक अर्जुन प्रजाले आफूलाई क्रान्तिकारी दाबी गर्ने पार्टी र नेताहरू सरकारमा पुगेर पनि शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य गर्न नसकेको हुँदा शिक्षा र स्वास्थ्य गरिब नागरिकहरूको पहुँचमा पु¥याउनको लागि नेक्राविसङ्घ निरन्तर सङ्घर्षरत रहेको बताउनुभयो ।
भेलाले प्रकाश चेपाङको अध्यक्षतामा ९ सदस्यीय नेपाल क्रान्तिकारीले युवा सङ्घ राप्ती– १० वकान्दी गाउँ एकाइ समिति गठन ग¥यो ।
त्यस्तै पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ राप्ती नगरपालिका –१० चिप्लेटी गाउँ एकाइ समितिको आयोजनामा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेक्राविसङ्घ चौथो चितवन जिल्ला सम्मेलन तयारी समितिका संयोजक अर्जुन प्रजाले कामदार जनताका छोराछोरीहरू राजनीतिकरूपमा अघि नबढे पुँजीवादी विचारले ग्रस्त युवा विद्यार्थीहरूको नै समाजमा चहलपहल रहिरहने बताउनुभयो । विकृति रविसङ्गतिको विरुद्ध युवा–विद्यार्थीहरू सङ्गठित भएर अघि बढ्नुपर्दछ, सिद्धान्तनिष्ठ राजनीतिले मात्र समाजलाई सही बाटोमा डो¥याउने हुँदा श्रमिक वर्गको हकहितको सुनिश्चितता समाजवादी राज्य व्यवस्थामा मात्र हुन्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ चितवन जिल्ला सदस्य प्रकाश चेपाङले नियमितरूपमा छलफल र कार्यक्रम भएमात्र युवा विद्यार्थीहरू राजनीतिकरूपमा सचेत हुने बताउनुभयो ।
कार्यक्रममा सरोज प्रजा, सुरेस प्रजालगायतले बोल्नुभएको थियो ।
काभ्रे
नेमकिपा मन्दनदेउपुर नगर समितिको आयोजनामा मङ्गलबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले भन्नुभयो, “नेमकिपाको स्थापना कामदार वर्गलाई शासक वर्गको रूपमा उठाउने उद्देश्यले भएको हो । पार्टीको तत्कालीन लक्ष्य जनताको प्रजातन्त्र स्थापना गर्ने र दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्नु हो ।” उहाँले समाजवादमा उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने, योग्यताअनुसार काम र कामअनुसाको ज्यालाको बन्दोबस्त हुने र शिक्षा–स्वास्थ्य निःशुल्क हुने छ भन्नुभयो ।
उहाँले थप्नुभयो, “साम्यवादी समाज वर्गविहीन, राज्यविहीन र शोषणरहित समाज हुन्छ । समाज पूर्णरूपले बुद्धिजीवीकरण हुन्छ । शारीरिक श्रम र बौद्धिक श्रमबीचको भेद तथा किसान र मजदुरबीचको भेद क्रमशः अन्त्य हुन्छ । गाउँ र सहरको भेद अन्त्य हुन्छ । यस्तो समाज स्थापना गर्न ऐतिहासिक युग लाग्नेछ ।”
पार्टीका अर्का वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले भन्नुभयो, “नेमकिपा माक्र्सवाद लेनिनवाद र माओत्सेतुङ विचारधारालाई आफ्नो मार्ग निर्देशक सिद्धान्तको रूपमा अँगाली देशको परिस्थितिअनुसार सृजनात्मकरूपमा माक्र्सवादलाई प्रयोग गर्दै आइरहेको पार्टी हो । लेनिनवादी सिद्धान्तअनुसार पुँजीवादी निर्वाचनलाई क्रान्तिकारी उपयोग गरी देश र जनताको सेवा गरिरहेको पार्टी हो ।” उहाँले वैदेशिक रोजगार गोर्खा भर्तीजस्तै हो, पुँजीवादी बन्दोबस्तमा व्यक्तिगत सम्पत्ति बढाउने, व्यक्तिगत फाइदाको लागि काम गर्छ । यसैले समाजवादी बन्दोबस्त आवश्यक छ भन्नुभयो ।
नेक्राशिसङ्घ काभ्रे जिल्ला अध्यक्ष पितमबहादुर तामाङले नेपालको कम्युनिस्ट आन्दोलन र समग्र नेपालको राजनीतिमा नेमकिपाको उपादेयता अझ बढ्दै गएको उल्लेख गर्दै साम्राज्यवादविरोधी सङ्घर्षले नेपालको सार्वभौमिकता बलियो बनाएको र पार्टीले नेपालको राजनैतिक क्षेत्रमा प्रकाशस्तम्भको भूमिका खेलिरहेको छ भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका कर्म वाइवाले नेपालमा कम्युनिस्ट नामधारी एमाले र माओवादी केन्द्रले संशोधनवादी बाटो लिएको र चुनावमा जनतालाई ठग्न अनेक प्रकारका जालझेल गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा इन्द्रबहादुर तामाङ, छेवाङ तामाङ, विजय मगर, निङम तामाङ, विशाल तामाङ, दीपिका तामाङ, अञ्जली तामाङ र स्वस्तिका तामाङले नेमकिपाले देशभक्तिपुर्ण र कामदार जनताको पक्षमा कार्य गरिरहेको प्रकाश पार्नुभयो ।
जुम्ला
नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले पार्टी स्थापना दिवसको अवसरमा विभिन्न गाउँ र स्थानमा प्रशिक्षणात्मक कार्यक्रमहरू सञ्चालन गरेको छ ।
सोमबार कनका सुन्दरी गाउँपालिकाको गोठीजिउलामा आयोजित अन्तरक्रियामा नेमकिपाका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले नेमकिपा स्थापनाको औचित्यबारे प्रकाश पार्दै पार्टीले सामन्तवाद, पुँजीवाद तथा विदेशी हस्तक्षेप र आक्रमणको निरन्तर विरोध गरिरहेको बताउनुभयो ।
हीरादेवी शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा रत्नसिंह कार्की, गजेन्द्र कार्की, तारा शाही र कालीबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
त्यस्तै माघ ९ गते सिगा गाउँपालिकाको बिग्रा गाउँमा प्रशिक्षणात्मक कार्यक्रम भयो ।
रोहित खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्णलाल खत्री र कालीबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
माघ ८ गते हिमा गाउँपालिकाको पाटर खोलामा अर्काे प्रशिक्षणात्मक कार्यक्रम भयो ।
छत्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमा पूर्णलाल खत्री, बिर्खबहादुर राउत र कालीबहादुर शाहीले बोल्नुभएको थियो ।
यसैगरी माघ ७ गते निला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम भयो ।
मानबहादुर बोहराको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा पूर्णलाल खत्री, दीर्घबहादुर शाही, हर्कबहादुर बोहरा र लालबहादुर बोहराले नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले गरिरहेको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *