भर्खरै :

‘बादशाहको लुगा’ मा नयाँ ‘राणाहरू’

सत्ता जोगाउन प्रजातान्त्रिक परिपाटीमाथि लगातार हमला गर्ने शासक दलका नेताहरूले शहीदका प्रतिमामा माल्यार्पण गर्दै आइतबार शहीद दिवस मनाए । तर, प्रजातन्त्रको लागि आफ्नो जीवन बलिदान गरेका वीर शहीदहरूप्रति उनीहरूको श्रद्धा औपचारिक मात्र देखियो । राणाको मुखमा कानुन झुण्डिएको जहाँनिया व्यवस्था फालेर जनताको भावनाअनुसार शासन चल्ने प्रजातन्त्रको निम्ति जीवन बलिदान दिएका शहीदहरूले आफ्नो रगतमा हुर्केको प्रजातन्त्रलाई आजका शासकहरूले विद्रुप अवस्थामा पु¥याउने अपेक्षा पक्कै गरेका थिएनन् । प्रजातन्त्रको भजन गाउँदै प्रजातन्त्रलाई आफ्नो स्वार्थ पुरा गर्ने हतियार बनाएका शासक दलहरूका व्यवहार र शहीदका पवित्र भावनाबीच मिलनबिन्दु कतै छैन ।
शहीदहरू कलिलो उमेरमा पनि जीवन त्यागेर देशमा जनताको शासन ल्याउन लडे र शहादत्त प्राप्त गरे । तर, आजका शासक दलका नेताहरू बरोबर भन्ने गर्छन्–जोगी बन्न राजनीतिमा लागेको होइन । जीवन बलिदान गर्न तयार हुने शहीद र त्यागको नामोच्चरण पनि गर्न तयार नहुने आजका शासकहरूबीच समानता खोज्नु मुर्खता मात्र हो ।
कयौं नेपाली योद्धाको बलिदानले बनेको नयाँ संविधानको पनि शासक दलहरू आज आफ्नो स्वार्थअनुकूल व्याख्या गरिरहेका छन् । आफ्नो स्वार्थ पुरा नगर्ने संविधानका धारालाई बङ्ग्याएर आफुअनुकूल व्याख्या गर्ने शासक दलहरूबाट संविधानवादको पालना र संविधानको भावनाको संरक्षणको अपेक्षा गर्न सकिन्न । स्थानीय तहको निर्वाचनको मितिबारे शासक दलका तर्कले उनीहरूले फेरि पनि संविधानलाई आफ्नो खेलौना बनाउन चाहने देखियो ।
हरेक पाँच वर्षमा स्थानीय तहको चुनाव गर्नु संविधानको भावना हो । तर, शब्दमा खेलेर त्यसैको अपव्याख्या गर्दै संविधानको भावना र प्रजातन्त्रको नियमित प्रक्रियालाई विथोल्ने शासक दलहरू फेरि पनि देशमा अस्थीरता र अराजकताको बिजारोपण गर्न चाहन्छन् । अस्थीर अवस्थामा सत्तासुखको स्वाद फेरि फेरि चाख्न पाइनेमा अनुभवी शासक दलहरू देशलाई अनेकन बहाना पनि फेरि पनि धमिलो पानीमा धकेल्न खोजिरहेका छन् ।
राणाशासनको अन्त्य पछि देशको राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन भइसकेको छ । शहीदको बलिदान र जनसङ्घर्षको परिणामस्वरूप देशमा हामी आज प्रजातान्त्रिक अधिकार उपभोग गरिरहेका छौँ । तर, व्यापक नेपाली जनतामाथिको शासक वर्गमा हुने शोषणको रूप बद्ले पनि सार भने बद्लिएको छैन । हिजो राणा र राजा बसेका ठाउँमा आज नयाँ राणा र राजाहरू स्थापित छन् । जनताको कोखमा जन्मेका भए पनि आजका नेताहरूको व्यवहार र चिन्तन हिजोका शासकहरूभन्दा धेरै अन्तर छैन । हिजो जनताका छोराछोरी पढ्लान् भनी डराउने राणाकै सिको गर्दै आजका शासकहरू शिक्षा र स्वास्थ्यलाई फेरि पनि जनताको पहुँचभन्दा अप्राप्य बनाएको छ । समाज हिजो जसरी वर्गीय खाडलले विभाजित थियो, आज पनि विभेदको खाडल उस्तै छ ।
शहीदको सपना पक्कै खेर गएको छैन । हरेक राजनीतिक व्यवस्थामा फेरि फेरि नयाँ रूपमा देखापर्ने राजा र राणाहरूले शहीदको बलिदानलाई अझ सार्थक बनाएको छ । राणाशाहीको अन्त्यसँगै देश अहिले फरक रङको राणाशाही भोगिरहेको छ । नयाँ राजा र राणाहरूको जरा उखेल्न अझै पनि शहीदका बलिदान नयाँ पुस्ताको निम्ति प्रेरणा बनेको छ । शासकहरूले शहीदका प्रतिमामा पुष्पाञ्जली गरेर आफुभित्रको ‘राणा’ छोप्न खोजे पनि जनताको चेतनास्तरले ‘बादशाहको लुगा’ उदाङ्गिंदैजानेछ, बादशाहरू नाङ्गिंदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *