भर्खरै :

विचार गर्नुस् है मधुमेहले समात्ला

करिब ६५ वर्षका एक व्यक्ति बट्टामा बन्द गरेर बेचिने नरिवल–पानी र फलफुलको रस एकदम स्वस्थ हुन्छ भनेर दैनिक ४–५ गिलाससम्म पिउने गर्थे । उनका केही साथीहरूले “यसरी बट्टामा राखिएको ‘रस’ मा चिनी धेरै हुन्छ, बिगार गर्छ” भन्दा उनी पत्याउँदैनथे ।
“होइन यो त साँच्चिकै फलफुलको रस हो भनेर प्रचार गरेको छ, चिनी मिसाएको छैन भन्छ, यस्तोले खराबी गर्छ र ?” उनी भन्ने गर्थे । एक दिन उनको रगतको जाँच गर्दा रगतमा चिनीको मात्रा अति नै बढेको पाइएपछि भने उनी छक्क परे । “म मिठाइ, केक, चिनी खाँदै खाँदिन, पत्रु खाना खाँदिन, कसरी मेरो शरीरमा चिनीको मात्रा बढ्यो भनेर सोधपुछ र छलफल गर्न थाले । त्यसपछि बल्ल फलफूलको ताजा मानिने जुस नियमित पिएका कारण आफ्नो शरीरको रगतमा चिनीको मात्रा बढेको बुझे । त्यसपछि उनले बट्टामा बन्द गरेर बेचिने फलफुलको रस खान छोडे । एक महिनापछि उनको शरीरको रगतमा चिनीको मात्रा ठीक ठाउँमा आयो । धन्न औषधि खानुपरेन ।
केही वर्षअघि महाराजगन्ज शिक्षण अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. प्रदीप श्रेष्ठले मधुमेहको समस्याबारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रले नेपालमा दोस्रो प्रकारको मघुमेहको जगजगी छ भन्ने देखाएको थियो । यसको कारण शरीरमा चिनीको मात्रा सुचारु गर्ने इन्सुलिन नामक हर्मोनले राम्रोसँग काम गर्न नसकेकोले हो । दक्षिण एसियामा नै यस्तो दोस्रो प्रकारको मधुमेहको मुख्य कारण विभिन्न पत्रु खाना–चाउचाउ, चिप्स अनि अनेक प्रकारका चिसो पेयपदार्थ एवं ससेजजस्ता मासुका परिकार हुन् । केही महिनाअघि अमेरिकाबाट ३० वर्षका एक विद्यार्थी नेपालमा आएका थिए । घरमा छुट्टीमा आउँदा उनलाई चिनी रोग देखियोे । अमेरिकामा बस्दा, खाना नपकाउने, धेरै पिज्जा, चिसो पेयपदार्थ र फलफुलको बट्टाको जुसमात्र खाने रहेछन् । उनको वजन नै १०४ के.जी. थियो । नेपाल आएपछि अस्वाभाविक रूपले वजन घट्ने, थकाइ लाग्ने भयो ।
त्यसपछि उनी डाक्टरकहाँ जँचाउन गए । उनको रगतमा चिनीको मात्रा धेरै भएर मिर्गौलामा पनि खराबी आइसकेको थियो । त्यसपछि उनको उपचार सुरु भयो । औषधि र स्वस्थकर खाना तथा स्वस्थ जीवनशैली अपनाएपछि उनको स्वास्थ्यमा सुधार आयो । अहिले उनको रगतमा चिनीको मात्रा सन्तुलनमा छ । अमेरिकामा गएर खानपान र जीवन शैलीलाई कसरी स्वस्थ राख्ने भनेर पिर परेको छ ।
मोटा व्यक्तिहरूको शरीरमा धेरै मात्रामा नराम्रो बोसो जम्मा भएको हुन्छ । अहिले विश्वमा मोटोपनको समस्या बढिरहेको छ । भारतमा सन् २०२० मा गरिएको एक सर्वेक्षणमा ११ हजार मानिसमध्ये ६२ प्रतिशतभन्दा बढी वयष्क (३० देखि ५९ वर्षका) व्यक्तिहरूको शरीरको तौल धेरै भएको अथवा मोटोपन भएको पाइएको थियो ।
पहिले मधुमेह रोग ४० वर्ष काटेपछि हुन्छ भनिन्थ्यो । अहिले अस्वस्थकर जीवन शैली, पत्रु खाना, अत्यधिक तनाव आदिले गर्दा युवा अवस्थामा नै मधुमेह (चिनीको रोग) हुन थालेको पाइन्छ । अझ कतिपय त आमाको पेटबाट नै यो रोग लिएर जन्मिन्छन् । गर्भावस्थामा हुँदा नै आमालाई मधुमेह भयो भने बच्चालाई पनि मधुमेह हुने सम्भावना धेरै हुन्छ ।
लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *