भर्खरै :

भक्तपुरका असुरक्षित अभिलेख– ४

तुलाछेँ टोलको त्रिपुरसुन्दरी देवगृहको उत्तराभिमुख पाटी सामुन्नेको बाटोको दक्षिण किनारमा भुइँमा धसिएर रहेको पत्र
त्यस अवस्थाको यस ढुङ्गेपत्रमा अहिले देखिने वा पढ्न सकिने जति भाग यस्तो छ–
१…….संङाच्छेया, चिकुटिन दयका शुभ्ं ।।
यस ढ्ुङ्गेपत्रको अभिलेख कुँदिएको भागमाथि कलात्मक सुन्दर बुट्टाहरू कुँदिएकोले आकर्षक देखिन्छ । यो कुनै सुन्दर वास्तु कृतिको विच्छिन्न हुन पुगेको भाग हो । ‘सङाच्छे’ टोलको नाम हो र यस टोलको चिकुटि राजा जितामित्र मल्लका पालाका एक प्रभावशाली भारदार हुन् । यो कुरा तात्कालिक ऐतिहासिक सामग्रीको आधारमा थाहा पाइन्छ । यस अभिलेखमा चिकुटिले के बनाएका हुन् भन्ने कुरा खुलेको छैन, यो कुरा खुलाउनका लागि सो ढुङ्गेपत्रको जम्मै भाग खोतलेर बाहिर निकालेपछि मात्र थाहा हुनसक्छ ।
भक्तपुर राजदरबारस्थित सैनिक क्वार्टरको सिँढीमा खुड्किलोको रूपमा छापिन पुगेको भूपतीन्द्र मल्लको पालाको पाँचतले मन्दिरको प्रतिष्ठासम्बन्धी पत्र
भक्तपुर राजदरबारको मूलचोक बाहिर उत्तरपूर्वमा यस दरबारको सुरक्षार्थ खटाइएका सैनिकहरू बस्नका लागि बनाइएको ‘सैनिक क्वार्टर’ छ । सो क्वार्टरमा पुग्नका लागि एउटा दक्षिणाभिमुख सिँढी पनि बनेको छ । सोही सिँढी बनाउँदा निम्नलिखित कुरा कुँदिएको यो ढुङ्गेपत्र त्यसरी खुड्किलोको रूपमा छापिन पुगेको छ–
मूलपाठ
१. ङातापोलल प्रतिष्ठा)……………….
२. सं. ८२२ आ (षाढ)………………..
कुनै सुन्दर वास्तुकृति बनाउँदा राखिएको अभिलेख
 
राजा भूपतीन्द्र मल्लले ने.सं. ८२२ (वि.सं. १७५९) आषाढ शुदि १ मा ‘ङातापोल देग’ (पाँचतले मन्दिर) बनाई प्रतिष्ठा गरेका थिए भन्ने कुरा यस विषयका अन्य प्रमाणहरूको आधारमा थाहा पाइन्छ । तर, यस विषयमा प्रकाश पार्ने यो पहिलो शिलाभिलेख प्रमाण हो । (यस्तै एउटा अर्को ढुङ्गा केही वर्ष पहिले योगेशराजज्यूले लुँहिटी चोकमा फेला पार्नुभएको थियो । सो ढुङ्गामा १ पङ्क्तिको ‘ङातापोलदाङास ८२२ आषाढ’ कुँदिएको थियो । सुथा अभिलेख प्रकाशन (ने.सं. १११९), पृ.१२, (सङ्ख्या २१) मा यो छापिएको छ । तर, यो ढुङ्गा अहिले त्यस ठाउँमा छैन, हराइसकेको छ ।)
असुरक्षित यी पत्रहरू प्रकाशमा आइसकेको हुँदा तीनमा बाँचिएका इतिहासका अनेक पक्षहरू पनि वैज्ञानिक दृष्टिले सुरक्षित हुन पुगेका छन् । तर, हजारौँले टेक्दै (हिँड्दै) कुल्चिएका यी पत्रहरूको पुरातात्विक महत्व सदाकाल रहनुपर्ने (दृश्यात्मक–प्रमाण) हुँदा विलुप्त हुने अवस्थामा पुगिसकेका यस्ता ऐतिहासिक महत्वका पुरातात्विक अवशेष–प्रमाणहरूलाई सुरक्षित गरी राख्नु अत्यन्तै हतार भइसकेको छ ।
भूपतीन्द्र मल्लको पालाको पत्र, विश्व प्रसिद्ध पाँचतले मन्दिरको इतिहास बाँचिरहेको यो पहिलो शिलाभिलेख प्रथम खुड्किलोको रूपमा प्रयुक्त
ऐतिहासिक पुरातात्विक महत्वका सम्पदाहरूको मूल महत्व मूल स्थानमा रहँदा जति हुन्छ, त्यति नै विचलनपश्चात् रहँदैन । तथापि अधिकांश ‘कुल्चिएका पत्रहरू’ आफ्नो आदिस्थानबाट कालक्रमले स्थानान्तरित भइसकेको सन्दर्भमा हाल अवस्थित रहन पुगेको स्थान नै अन्तिम मूल स्थानको रूपमा देखिएका छन् । तर, असुरक्षित अवस्थामा रहेका यस्ता सामग्री वा सम्पदालाई अन्यत्र जुनसुकै सुरक्षित स्थानमा सारेर राख्दा पूर्व मूलस्थान अत्यावश्यक विवरणसहित राख्नु पनि नितान्त आवश्यक छ, होइन भने त्यताबाट अनेक गलत व्याख्या, भ्रम आदि अनेक दुष्परिणाम भोग्नुपर्ने हुन्छ ।
(छड्के परेका अक्षरहरू लेखकले मूल स्रोतमा पादटिप्पणीको रूपमा समावेश गर्नुभएको हो ।)
स्रोतः प्राचीन नेपाल (स्न २००१)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *