भर्खरै :

‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया

काठमाडौँ, १९ माघ । नेपाल मजदुर किसान पार्टीले चन्द्रागिरी नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम अनलाइनमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकबारे जानकारी दिँदै जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने लगभग पक्का भएको बताउनुभयो ।
“स्थानीय तहको निर्वाचनदेखि भाग्न खोज्नेहरू चुनावदेखि डराएका हुन्”, सचिव सुवालले भन्नुभयो ।
राष्ट्रघाती एमसीसी पारित गर्न सरकारले जोड दिइरहेको बेला सबै नेपाली जनता सडकमा उत्रेर विरोध गर्नुपर्ने अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
कार्यकर्ताहरूले पार्टी प्रकाशन र माक्र्सवादी साहित्यहरू अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले अध्ययनपछि नियमित अन्तरक्रिया र छलफल कार्यक्रम चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको चर्चा गर्दै समाजवादी व्यवस्थामा मात्र कामदार जनताको भविष्य सुखद हुने बताउनुभयो ।
शासक पुँजीवादी पार्टीहरू सबै गासेगुसे एकैनासे भएको चर्चा गर्दै उहाँले ती पार्टीहरू जनताको पक्षमा भन्दा जनविरोधी काममै व्यस्त छन् भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले चिनियाँ कम्युनिस्ट आन्दोलनबारे अवगत गराउनुभयो । माओ त्सेतुङ्गले चीनमा गरेको सङ्घर्ष र योगदानबारे कार्यकर्ताहरूले बारम्बार स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य राजवीर डंगोल, जिल्ला समितिका श्यामकुमार महर्जन, विश्वक डंगोल, हरिशरण श्रेष्ठ, रामचन्द्र महर्जन, जितबहादुर महर्र्जनलगायतले ‘श्रमिक’ र ‘मजदुर’ दैनिकमा प्रकाशित विभिन्न आलेखबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *