“सहकारी बैङ्क तथा वित्तीय संस्थाको रूपमा मात्र सञ्चालन हुनुहुँदैन”
- पुष १०, २०७९
काठमाडौँ, १९ माघ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल÷मट्टीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपालको पेट्रोलियम इतिहासमा २०७० सालमा डिजेल तथा पेट्रोलको मूल्यले उच्च बिन्दु कायम गरेको थियो । २०७० साल फागुन ३० गते निगमले मूल्य समायोजन गर्दैै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रू. १४० र डिजेल÷मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर रू. १०९ तोकेको थियो ।
निगमले गएरातिदेखि डिजेल÷मट्टीतेल र पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ वृद्धि गरेको छ । मूल्य बढेसँगै डिजेल÷मट्टीतेलको भाउ प्रतिलिटर रू. १२५ र पेट्रोलको भाउ प्रतिलिटर १४२ पुगेको छ । यो अहिलेसम्मै उच्च हो । पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलर आसपास छ । त्यस्तै अमेरिकी डलरको सटही दर बढेर ११९ माथि पुगेको छ । आर्थिक वर्ष २०७०÷७१ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.५२ अमेरिकी डलर थियो । सोही वर्ष अमेरिकी डलरको सटही दर ८७.२८ रुपियाँ थियो ।
पछिल्ला १० वर्षमा पेट्रोलियमको मूल्यमा निकै उतारचढाव देखिएको छ । सो अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर घटेर रू. ९८ र डिजेल÷मट्टीतेलको मूल्य प्रतिलिटर रू. ८८ सम्म झरेको थियो । २०७० फागुनमा प्रतिलिटर रू. १४० पुगेको पेट्रोलको मूल्य २०७१ असारमा प्रतिलिटर १३४ रुपियाँ ५० पैसा, २०७२ असारमा प्रतिलिटर रू. १०९, २०७३ असारमा प्रतिलिटर रू. ९९, २०७४ असारमा प्रतिलिटर रू. ९८, २०७५ असारमा प्रतिलिटर रू. ११३, २०७६ असारमा प्रतिलिटर रू. १०८, २०७७ असारमा प्रतिलिटर रू. १०२ र २०७८ असारमा प्रतिलिटर रू. १२९ पुगेको थियो ।
त्यस्तै डिजेल÷मट्टीतेलको मूल्य २०७० असारमा प्रतिलिटर रू. १०९ थियो । २०७१ असारमा प्रतिलिटर १०५ रुपियाँ ५० पैसा, २०७२ असारमा ८६ रुपियाँ ५० पैसा, २०७३ असारमा प्रतिलिटर रू. ७५, २०७४ असारमा प्रतिलिटर रू ७४, २०७५ असारमा प्रतिलिटर रू ९५, २०७६ असारमा प्रतिलिटर ९६ रुपियाँ ५० पैसा, २०७७ असारमा प्रटिलिटर रू. ८८ र २०७८ असारमा प्रतिलिटर रू. ११२ रुपियाँ थियो ।
निगमले आर्थिक वर्ष २०७५÷७६ मा ६ पटक, आव २०७६÷७७ मा ५, आव २०७७÷०७८ मा १५ र चालु आवको पछिल्लो ६ महिनामा तीनपटक पेट्रोलको मूल्य समायोजन गरेको थियो ।
Leave a Reply