भर्खरै :

नयाँ पुस्तालाई सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्न आवश्यक

काठमाडौँ, २१ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ विषयमा अन्तरक्रिया एवम् समसामयिक विषयमा अनलाइन प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टी प्रकाशनहरू अध्ययन गरेर नयाँ पुस्ताबीच नियमित छलफल र अन्तरक्रिया चलाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
नयाँ पुस्तालाई सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्न सकेमात्र पार्टी अगाडि बढ्ने उहाँले बताउनुभयो ।
नेपालमा भइरहेको भ्रष्टाचार र कर छलीलाई रोक्न सकियो भने एमसीसी सम्झौतामार्फत दिने भनिएको रकम एक वर्षभित्रै जम्मा गर्न सकिने धारणा राख्दै अध्यक्ष रोहितले संरा अमेरिकाको सहयोग दान नभई माछा मार्न बल्छीमा थापेको मात्र भएको बताउनुभयो ।
संरा अमेरिकाले हालसम्म कसैलाई दान नदिएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “संरा अमेरिकी साम्राज्यवाद लुटाहा देश हो । जहाँ जहाँ अमेरिका पुग्यो उसले त्यो देशलाई बर्बाद पा¥यो । इराक, लिविया, अफगानिस्तान, सिरिया यसका उदाहरण हुन् ।”
आफूले भनेको नमान्ने सरकारलाई अपदस्थ गर्न संरा अमेरिकाले त्यहाँका जनतालाई हातहतियार र आर्थिक सहयोग दिएर विद्रोह गराउने गरेको उल्लेख गर्दै उहाँले पनामा नहर कब्जाबारे जानकारी गराउनुभयो ।
सन् १८४०–१८४२ को अफिम युद्धमा फसाएर संरा अमेरिकाले चीनमाथि कब्जा गरेको इतिहासको जानकारी दिँदै अध्यक्ष रोहितले संरा अमेरिका भारत भएर नेपाल पस्न खोजेको तर्फ नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
एमसीसी नेपालसँग सम्बन्धित भएकोले एमसीसीबारे अरू देशलाई मुछ्न नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “एमसीसीबारे अमेरिकामा सही गरेर आउनेहरू भाडाका टट्टु हुन् । अमेरिकी स्वतन्त्रता आन्दोलनमा बेलायती साम्राज्यवादको पक्ष लिनेहरू अमेरिकाबाट लखेटिएजस्तै एमसीसीको पक्षमा बोल्नेहरूलाई नेपाली जनताले एक दिन लखेट्नेछन् ।”
थोरै पैसाको लागि एमसीसी पारित गर्नु भनेको प्यास लाग्यो भन्दै विष पिउनु सरह हुने भएकोले एमसीसी पारित भएपछि पछुताएर फाइदा नहुने उहाँले बताउनुभयो ।
“नेपालका उद्योगधन्दाहरू निजीकरण गरेर भारतबाट सामान आयात गर्ने स्थितिमा पु¥याउनु भारतीयहरूको तावेदारी गरेको स्पष्ट हुन्छ”, अध्यक्ष रोहितले भन्नुभयो ।
एमसीसीको विरोधमा नेमकिपाले गरेको देशव्यापी प्रचारको कारण जनता सचेत भएको हुँदा एमसीसीको पक्षमा लाग्न शासक पार्टीहरू थर्कमान भएको उहाँले बताउनुभयो ।
कुनै पनि सन्धि–सम्झौतामा हस्ताक्षर गर्नुपूर्व संसद्मा छलफल हुनुपर्ने तर त्यसो नगरी विदेश गएर सम्झौतामा हस्ताक्षर गर्नु गलत भएकोले त्यस्तो सन्धि सम्झौता मान्न नहुने उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले देशघाती महाकाली सन्धि पारित गरेजस्तै नेका, एमाले, माओवादी, एकीकृत समाजवादी र राप्रपा मिलेर देशघाती एमसीसी पारित गर्ने सम्भावना बढ्दो भएकोले सम्पूर्ण नेपाली जनता सचेत भएर एमसीसी सम्झौता खारेज गराउन उठ्न जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहिलेको माले र अहिलेको एमालेले झापा विद्रोेहलाई सही दाबी गरेको थियो । पछि गल्ती भयो भनी आत्मालोचना ग¥यो । जनमतसङ्ग्रह र आम निर्वाचनलाई बहिष्कार गरेको माले (एमाले) ले पछि गल्ती भएको स्वीकार गरी निर्वाचनमा भाग लियो । निर्वाचनमा पैसा, सामान बाँडेर, भोज खुवाएर, झूटा आश्वासन दिएर, सिद्धान्तहीन निर्वाचनमा एकता गरेर धेरै स्थानमा जित्ने पुँजीवादी चिन्तन निन्दनीय छ ।”
माओवादी पनि सशस्त्र द्वन्द्वको नाममा हत्या–हिंसामा लाग्यो, निर्वाचनमा भाग लिएको एमालेलाई संसद्वादी भनी विरोध गर्ने माओवादी अहिले शान्ति प्रक्रियाको नाममा नेकाको नेतृत्वमा गयो । पुँजीवादको भागबन्डा खानेमा माओवादी लाग्यो । माओवादी भारतीय एकाधिकार पुँजीको ‘ट्रोजन हर्स’ सावित भयो, उहाँले स्पष्ट पार्नुभयो ।
मोहनविक्रम सिंहको मसाल (राजमो) पनि सिद्धान्तहीन गठबन्धन गरेर सरकारको मन्त्री हुने र निर्वाचन जित्ने गलत बाटोमा लागेको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “लेनिन नेतृत्वको बोल्शेविक पार्टीले क्रान्तिकारी संसद्वादको सफल अभ्यास गरेर जनतालाई समाजवादी अक्टोबर क्रान्तिसम्म सङ्गठित गरेको पाठबाट सिक्ने काम सरकारमा गएका कम्युनिस्टहरूले गरेनन् । बरु, नेमकिपाले यो कष्टसाध्य बाटोलाई अगाडि बढाइरहेको छ ।”
पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले नेपालको राजनीतिक आन्दोलन बुझन् अध्यक्ष रोहितले लेख्नुभएको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तक अत्यन्तै उपयोगी भएको र यो किताब एउटा राजनीतिक दस्तावेज भएको बताउनुभयो ।
नेमकिपाले लिएको विचार र अडानबारे बुझ्न उक्त किताब अत्यन्तै महत्वपूर्ण रहेको धारणा राख्दै उहाँले भन्नुभयो, “पद, पैसा र सत्तालिप्साको राजनीतिले जनताको हित गर्दैन भन्ने आज प्रमाणित भएको छ । पार्टी स्थापनाबारे नेमकिपाको दृष्टिकोणप्रति कार्यकर्ताले गौरव महसुस गर्छ ।”
विशृङ्खलित अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट आन्दोलनको धारलाई भुत्ते बनाउने विरुद्ध नेमकिपाले दिशानिर्देश गर्दै पार्टीले ‘प्रकाशस्तम्भ’ को भूमिका निर्वाह गरिरहेकोे उहाँले बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिलाई उपेक्षा गर्ने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध नगर्नेहरू कम्युनिस्ट हुनैसक्दैनन् । संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै नेमकिपाले समाजवाद स्थापना गर्न माक्र्सवाद–लेनिनवादलाई आत्मसात गर्दै वर्गसङ्घर्षको बाटोलाई अगाडि बढाइरहेको छ”, केन्द्रीय सदस्य सैंजूले भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य सुनिल दुवालले नेमकिपाले लिएको बाटो सही भएको चर्चा गर्दै जनतासँग छुटिएर पार्टी विकास नहुने बताउनुभयो । समय र परिस्थितिअनुसार आफूलाई ढालेर उचो मनोबलका साथ जनताको सेवामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्यहरू दिव्यश्वरी बज्राचार्य, काजिबहादुर पञ्च र दिलकृष्ण माकले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *