भर्खरै :

समाजवादी देश क्युवामाथि नाकाबन्दीको ६० वर्ष क्युवामा नरसंहार गरेको छ संरा अमेरिकाले

हवाना, ४ फेब्रुअरी । समाजवादी देश क्युवाको क्रान्तिकारी सरकारले सन् १९६२ को फेब्रुअरी ३ यता औपचारिकरूपमा क्युवामाथि थोपरेको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको भत्र्सना गरेको छ । क्युवाविरुद्ध नाकाबन्दी थोपरेको ६० वर्ष पुगेको सन्दर्भमा क्युवाली सरकारले बिहीबार वक्तव्य जारी गरी नाकाबन्दीले कुनै पनि देशविरुद्ध अहिलेसम्म गरिएको आर्थिक लडाइँमध्ये सबभन्दा जटिल, लामो र अमानवीय परिणाम निम्त्याएको बताइएको छ ।
“नाकाबन्दीले आर्थिक विकासको सम्भावनालाई सीमित बनाएको छ, तेस्रो विश्वका देशहरूसँगको व्यापार सम्बन्धमा अवरोध सिर्जना भएको छ, बैङ्किङ क्षेत्रलगायत अन्य वित्तीय क्षेत्रा अधिकतम क्षति पुगेको छ, वैदेशिक लगानी रोकिएको छ र राजस्वका सबै स्रोत बन्द भएको छ”, वक्तव्यमा भनिएको छ ।
“संरा अमेरिकी नाकाबन्दी एक्काइसौँ शताब्दीमा मोनरो सिद्धान्तको व्यवहारिक अभिव्यक्ति हो । जसले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रलाई अमेरिकाको ‘आँगन’ वा ‘करेसाबारी’ मान्ने गरेको छ”, क्युवा सरकारले भनेको छ ।
नाकाबन्दीले न्यूनतम वैधानिकता वा नैतिक पुष्टि, कुनै पनि पाउन नसकेको भन्दै क्युवा सरकारले अमेरिकी नाकाबन्दीले सबै क्युवालीको मानवअधिकारको व्यापक, निर्लज्ज र प्रणालीबद्ध हनन गरेको बताएको छ ।
“सन् १९४८ मा जारी भएको आम नरसंहारको अपराध नियन्त्रण र सजायसम्बन्धी महासन्धिअनुसार संरा अमेरिकाको यो नाकाबन्दी आमनरसंहार हो”, त्यसमा अगाडि भनिएको छ ।
अमेरिकी नाकाबन्दीको कारण हालसम्म अहिलेको मूल्यमा क्युवालाई १ खर्ब ४४ अर्ब ४१ करोड ३४ लाख अमेरिकी डलर बारबरको आर्थिक क्षति भएको बताइएको छ ।
वक्तव्यमा क्युवा सरकारले सन् २०१९ देखि आर्थिक निषेधका गतिविधि अझ आक्रामक भएको र क्युवामा इन्धन रोक्न संरा अमेरिकाले युद्धकालीन निर्ममता समेत प्रदर्शन गरेको बताएको छ ।
कोभिड–१९ महामारीको समयमा संरा अमेरिकाले अहिलेसम्म कहिल्यै नसुनिए तहको क्रुरता प्रदर्शन गरेको भन्दै वक्तव्यमा क्युवाले कोभिडको खोप विकास गर्न खोज्दा अत्यावश्यक सामानको आपूर्तिमा संरा अमेरिकाले रोक लगाएको वक्तव्यमा भनिएको छ ।
“बितेका ६० वर्ष र महामारीमा नाकाबन्दीको कारण बेहिसाब मानवीय क्षति भएको र क्युवाका धेरै पुस्ता त्यसको मारमा परे”, क्रान्तिकारी सरकारको वक्तव्यमा भनिएको छ ।
नाकाबन्दीको प्रतिकूलताबीच क्युवाली समाजवादी व्यवस्था र क्युवाली जनताको एकताको कारण आर्थिक रूपबाट ध्वस्त हुनबाट क्युवा जोगिएको र संयुक्त राष्ट्र सङ्घको मानवीय विकास सूचकाङ्कले क्युवाको मानवीय विकासको कदर गरेको छ । सामाजिक न्यायको क्षेत्रमा क्युवाले सन्देहरहित उपलब्धि हासिल गरेको छ । दिगो वृद्धिलाई लक्ष्य बनाएर आर्थिक र उत्पादन क्षेत्रमा क्युवाले क्रमिक रूपान्तरण गर्न खोजिरहेको छ ।
“यस्तो चर्को दमनबीच संसारमा कति वटा साना र अल्पविकसित अर्थतन्त्रले आफूलाई धान्न सकेको छ ?”, क्युवा सरकारले वक्तव्यमा भनेको छ ।
“सन् १९५९ यता संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा १३ जना राष्ट्रपति बनिसके । थोरै तलमाथि हुन सक्छ, तर क्युवाको क्रान्तिकारी योजनालाई आर्थिक रूपमा ध्वस्त बनाउने र अस्थिरता निम्त्याउने प्रयास सबैबाट भएको छ । सबैले क्युवामाथि कडा आर्थिक नाकाबन्दी थोपरेकै छन् । यस्तो लाग्दैछ, मानौँ नाकाबन्दीबाट के उपलब्धि भयो र के उपलब्धि हुन बाँकी छ भन्ने कुरा बोध गर्न ६० वर्षको समय अझै अपुग छ”, क्रान्तिकारी सरकारको वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *