भर्खरै :

मेरो सहर र सरकार

नुन दिन नसक्ने सरकार
सुनको कसौडीमा पाकेको
भात खुवाउने कुरो गर्छ,
भर्खर महँगीको पानीले झ्याप्प निभेको
मेरो चुल्होले विश्वास गर्छ कसरी ?
हिङ बाँधेको टालो देखाएर सरकार
हिङको हजार व्याख्या गर्छ ,
अभावले ओछ्यानमा थला परेकी
मेरी बुढी आमाले सन्तोष मान्छिन् कसरी ?
रगतको टाटा परेको कपडाको
टेबुल पोस्ट बनाएको मञ्चबाट
सरकार शान्तिको गुरुयोजना पढ्छ,
अलिबेर अघि बजारमा भएको विस्फोटमा
बल्लबल्ल नमारिएको
घाइते शान्तिले बाँच्ने आशा गर्छ कसरी ?
बाँच्न नसकेर मरिरहेको मेरो सहरलाई
मर्न नसकेर बाँचिरहेको सरकारले
सञ्जीवनी बुटी दिएर अमरत्व दिने डङ्का पिट्छ,
अराजकताको लक्ष्मणरेखा नाघिसकेको
मेरो सहरले सरकारको चीरहरण रोक्छ कसरी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *