भर्खरै :

भक्तपुर नगरपालिकाको एघारौँ नगरसभामा देशघाती एमसीसी खारेजीको माग

भक्तपुर, २७ माघ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौँ नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरूले देशघाती एमसीसी खारेजीको माग गरेका छन् ।
सभाध्यक्ष प्रजापतिले नगरसभा वैचारिक छलफल र सङ्घर्ष गर्ने थलो भएको बताउँदै आजको बैठकमा देशघाती एमसीसीको विरोधमा विचार व्यक्त गर्नुहुने सभासद्हरूलाई आफ्नो सांस्कृतिक र बौद्धिक विकासको लागि अझ थप अध्ययन अनुसन्धान गर्न प्रेरित गर्नुभयो ।
राजनैतिक दल आस्था र विचारको आधारमा स्थापित हुने र नेमकिपाको विचार सुरुदेखि अहिलेसम्म सही सावित भइरहेको हुँदा अहिले राजनीतिक प्रतिनिधित्वको आधारमा सानो दलको रुपमा रहे पनि कालान्तरमा यसको विचारले विजय प्राप्त गर्ने निश्चित छ, उहाँले भन्नुभयो ।
एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहालले चार महिना अगाडि व्यक्त गर्नुभएको भिन्न विचारहरूमध्ये अहिले प्रम देउवाले भनेजस्तै सहमतिमा एमसीसीलाई पत्राचार गरेको प्रमाणित भएको हुँदा नेता दाहालले एमसीसीबारे जनतालाई ढाँटेको प्रमाणित भएको छ भन्नुभयो ।
सभाको विशेष समयमा सभासद् राजेन्द्र माकले राष्ट्रघाती एमसीसीको विरोध गर्नुपर्नाका कारणहरूबारे प्रस्ट पार्दै एमसीसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा आँैल्याउनुभयो ।
सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको थिचोमिचोविरुद्ध जनतालाई सचेत र सङ्गठित पार्दै आइरहेको बताउनुभयो ।
सभासद् तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको बताउनुभयो ।
सभासद् पूर्णगोपाल राजचलले एमसीसीको विरोधमा नेमकिपाले सुरुदेखि आवाज उठाउँदै आइरहेको अवगत गर्दै एमसीसीको नाममा अमेरिकी अनुदान पाएका कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको प्रस्ट पार्नुभयो ।
सभामा सभासद् रञ्जना त्वातीले नगरका अव्यवस्थित तारहरूको व्यवस्थापन र खानेपानीको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोही क्रममा सभासद्हरू शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवालले एमसीसी संरा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अङ्ग भएको हुँदा तत्काल खारेज गर्नुपर्ने, नेपाल सरकारले श्रीलङ्काबाट शिक्षा लिई छिटो एमसीसी सम्झौता खारेज गर्नुपर्ने, शासक दलका नेताहरूको दलाली प्रवृत्तिकै कारण नेपाललाई अवाञ्चित किसिमको दबाब दिइरहेको धारणा राख्नुभयो ।
बैठकले आ.व. २०७८।७९ को साउन १ गतेदेखि २०७८ माघ मसान्तसम्मको कार्यपालिका बैठक निर्णय, विभिन्न समिति–उपसमितिको निर्णय, प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तहबाट भएका सम्पूर्ण निर्णयहरू, आदेश र काम कारबाही सभाबाट अनुमोदन गर्ने निर्णय सर्वसम्मतिले पारित गर्यो ।
नगरसभाको अर्को बैठक २०७८ फागुन ३ गते मङ्गलबार बस्ने गरी स्थगित भयोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *