म भैल खः हुँ
- बैशाख ४, २०८३
विदेशी शक्ति राष्ट्रका मन्त्री र अधिकारीहरूले नेपाल सरकार र नेपाली राजनीतिक दललाई जे गाली गरे पनि, धम्की दिए पनि, दबाब दिए पनि चुप लागेर बसे या सहेर बसे के नेपाल सरकारको इज्जत रहन्छ ? एमसीसी सम्झौता पारित नभए चीनको दबाबले रोकेको हुने भनी अमेरिकी सहायक विदेश मन्त्रीले नेपाल सरकारमाथि आरोप लगाए पनि मौन बस्ने देउवा नेतृत्वको सरकार कस्तो लाचारी सरकार ¤ नेपाल सरकारले कति धाक र धम्की सहेर बस्ने ¤ एमसीसी सम्झौता पारित नभए चीनलाई दोष दिने भनाइ अमेरिकाको दृष्टिदोष हो । के यसमा नेपाल सरकार मौन बस्न मिल्छ ? देशको स्वाधीनता र सार्वभौमिकतामा कुल्ची धम्की दिए पनि जवाफ नदिने सरकार के अमेरिकाको दास सरकार हो ? यसको कूटनीतिक जवाफ परराष्ट्र मन्त्री या मन्त्रालयले तत्काल दिनुपर्छ ।
नेपाली सीमा मिचे पनि मौन ! नेपाली भूमिमा अरू देशले सडक बनाए पनि मौन ! अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाए पनि मौन ! हुँदा हुँदा नेपाल सरकारलाई गलत आरोप लगाए पनि मौन ¤ देशघातका निर्णय, सन्धि, सम्झौता भए पनि मौन रह्नुको अर्थ आत्म स्वीकृतिको सङ्केत हो । नेपाल सरकारको यस्तै कमजोरीको फाइदा विदेशी शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र भारतले लिइरहेका छन् । जसले जे भने पनि, गरे पनि नेपाल सरकार कहिलेसम्म हेरेको हेरै भएर बस्ने ¤ ठूलाको अगाडि केही लाग्दैन भनेर चुप भएपछि कतै भोलि नेपालमाथि आक्रमण गरेर देश नै नखाला र ? के त्यसबेला पनि सरकार मौन बस्ने ¤ भारतले नेपाली भूमि मिच्दामिच्दै नेपाल साँगुरिँदै छ, अरूको दबाब, धम्की र प्रभावमा बस्दा बस्दै कठपुतलीको सरकार बनेको छ ।
विदेशी शक्ति राष्ट्रको उठबसमा रहेर नेपाल कहिलेसम्म परनिर्भर भइरहने ? कालापानीबाट भारतीय सेना फर्केर लान नेपाल सरकारले भारत सरकारलाई पत्राचार गर्नुपर्छ । एकतर्फीरूपमा भारतीय पक्षले बनाएका बाँध तथा तटबन्ध भत्काउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्छ । नेपाल र भारतबीच भएका हालसम्मका असमान सन्धि सम्झौता खारेज गराउन नेपाल सरकार अघि बढ्नुपर्छ । राष्ट्रको निम्ति कसैसँग सम्झौता नगर्ने भनी ध्वाङ फुक्ने सत्तासीन नेताहरूको खोइ दृढता ! खोइ अडान ! खोइ देशभक्ति भावना ! सरकारले हेर्ने अहिलेको केही फाइदा होइन पछिको हेर्ने हो । विकासको निम्ति सहयोग भनेर देश र नेपालीलाई नपच्ने सर्त कसरी सहय हुन्छ ? भोलि देशै भएन भने त्यो विकासको के अर्थ ? हिजो भारतीय सरकारको दबाबमा रहेको देउवा सरकार अब अमेरिकी सरकारको पनि दबाबमा परेको छ । अरूको इसारा या दबाबमा मात्र काम गर्ने सरकार र सत्तासीन दलका नेताहरूको बुद्धि र विवेक खोइ ? आफ्नो बुद्धि र विवेक बन्धक राखेर नेपाल सरकारले कसरी देश र विश्वमा नाक ठाडो पार्न सक्छ ? नेपालको गौरव उच्च पार्न सक्छ ?
Leave a Reply