भर्खरै :

संरा अमेरिकाको ५५ अर्बले सुखी बन्ने छैनन् नेपाली जनता

काठमाडौँ, ४ फागुन । शासक दलहरूले षड्यन्त्रपूर्वक एमसीसी सम्झौता संसद्मा पेश गर्न खोजेपछि नेपाल मजदुर किसान पार्टीले सम्झौताविरुद्ध देशैभरि सङ्घर्षका गतिविधिलाई थप सघन बनाएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता ‘टेबुल गर्ने’ चर्चा चलेसँगै नेमकिपाले काठमाडौँमा विरोध जुुलुस र संसद् भवन अगाडि धर्ना दियो । कोटेश्वरबाट सुरु भएको विरोध जुलुसमा हजारौँ जनताले एमसीसी सम्झौता संसद् बैठकमा पेश नगर्न सरकार र सांसदहरूलाई चेतावनी दिएका थिए । उनीहरूले गगनभेदी नारा लगाउँदै सांसदहरूलाई देश हितविपरीतको सम्झौता खारेज गर्न आग्रह गरेका थिए ।
विरोध जुुलुस बानेश्वर पुगेर धर्नामा परिणत भएको थियो ।
संसद् भवनभित्र संसद् बैठक चल्दै गर्दा बाहिर नेमकिपाले आयोजना गरेको धर्नामा सहभागी जनताले लगातार एमसीसी सम्झौता संसद्मा पेश नगर्न भन्दै ‘ठूला’ शासक दललाई चेतावनी दिइरहेका थिए ।
तर, बुधबार संसद् बैठकमा एमसीसी सम्झौता ‘टेबुल’ गरिएन । नेकालगायत दलका नेताहरूले बुधबार एमसीसी सम्झौता पेश गरिने र त्यसको निम्ति प्रधानमन्त्रीले सभामुखसँग कुराकानी गरेको बताएका थिए ।

संसद् बैठक समापनपछि धर्नामा बसेका एमसीसीविरोधी जनसमुदायसमक्ष बोल्दै नेमकिपाका सचिव तथा सांसद प्रेम सुवालले संरा अमेरिकी साम्राज्यवादसामु संसारका जनता नझुकेको र नेपाली जनता पनि नझुक्ने बताउनुभयो ।
संरा अमेरिकी सहायक विदेश मन्त्रीले नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई फोनबाट एमसीसी सम्झौता पारित गर्न दबाब दिनु धम्की भएको र त्यस्ता धम्कीसामु झुक्नु आत्मसमर्पण हुने उहाँले बताउनुभयो ।
एमसीसी संरा अमेरिकी हिन्द–प्रशान्त सैन्य रणनीति आईपीएसको हिस्सा भएको एमसीसीकै दस्तावेजमा उल्लेख भएको प्रस्ट पार्दै सांसद सुवालले एमसीसी सम्झौताअन्तर्गत नेपालले पाउने ५५ अर्ब रुपैयाँले नेपाली जनता सुखी हुने कुरा सत्य होइन भन्नुभयो ।
“अहिले देशका ८० लाख नेपाली विदेशमा काम गर्छन् र १० अर्ब रेमिट्यान्स आउँछ । तर, नेपाली जनता सुखी छैनन् । किन ? किनभने अरूको देशमा काम गरेर नेपालको विकास हुँदैन । अमेरिकाको ५५ अर्ब रुपैयाँ पाउँदैमा नेपाली जनता सुखी हुनसक्दैनन् । बरु, हामी संरा अमेरिकी साम्राज्यवादका दास बन्ने छौँ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले शासक दलका सांसदहरूले अझै पनि सबै संसद् सदस्यलाई वितरण गरिएको सम्झौता अध्ययन नगरी त्यसको समर्थन गरेको बताउनुभयो ।
संरा अमेरिकी सेना नेपालमा आए उनीहरूको एक जना सैनिक कमान्डरले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आफ्नो नियन्त्रणमा राख्ने सांसद सुवालको भनाइ थियो ।
उहाँले एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीतिको विरोध गर्न नपाउने उल्लेख रहेको चर्चा गर्दै कुनै देशमाथि अमेरिकाले हमला गर्दा नेपालले विरोध गरे नेपालका प्रधानमन्त्रीलाई पानामाका राष्ट्रपतिलाई जस्तै बेपत्ता बनाउन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाली जनताको व्यापक विरोधको कारण आज एमसीसी सम्झौता संसद्मा पेश हुन सकेन ।”
एमसीसी सम्झौताको पक्षधर राजनीतिक दललाई श्रीलङ्काली जनताले चुनावमा पराजित गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले नेपालमा पनि एमसीसी सम्झौताको पक्षमा उभिने दललाई जनताले चुनावमा सजाय दिने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिका सेना तैनाथ देशका जनता अमेरिकाविरोधी भएको चर्चा गर्दै सांसद सुवालले अमेरिकाको ५५ अर्ब रुपैयाँ नआउँदैमा नेपाली जनता भोकै मनुपर्ने अवस्था आउँदैन भन्नुभयो ।
“प्रधानमन्त्री देउवा सित्तैमा आएको पैसा लिने कुरा गर्दै छन् । के सित्तैमा आएको भन्दैमा विष खानु हुन्छ ? एमसीसी सम्झौता नेपाली जनताको लागि विष हो”, सांसद सुवालले भन्नुभयो ।
एमसीसी सम्झौता अनुदान नभई लगानी भएको संरा अमेरिकी राजदूत आफैले बताएको चर्चा गर्दै उहाँले एमसीसी सम्झौता पारित गर्नेहरू राणा र पञ्चायतजस्तै ढल्ने बताउनुभयो ।
संरा अमेरिकाको दुई सय वर्षको इतिहासमा संरा अमेरिकाले एक सत्र्न्दा बढी देशलाई दुःख दिएको भन्दै सांसद सुवालले संसारबाट संरा अमेरिका एक्लो बन्दै गएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले प्रस्ट भन्नुभयो, “एमसीसी सम्झौता गर्नेहरूलाई नेपालमा बस्ने अधिकार छैन । अमेरिकी स्वतन्त्रता आन्दोलनमा समर्थन नगर्ने बेलायतीहरूलाई अमेरिकाले बेलायत फर्काएजस्तै एमसीसी पक्षधरहरूले पनि नेपाल छोड्नुपर्नेछ ।”
विरोधमा सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले एमसीसी सम्झौतामार्फत नेपालमा उत्पादन हुने बिजुली भारतमा लान खोजिरहेको र त्यसले नेपाललाई भारतको नवउपनिवेश बनाउने बताउनुभयो ।

“एमसीसी सम्झौतामार्फत अमेरिकी सेना अघि राखेर नेपालका नदीनालामा ठूला जलविद्युत् परियोजना बनाई भारतमा बिजुली लगिनेछ”, केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो ।
उहाँले एमसीसी सम्झौतामार्फत एसियालाई नयाँ नयाँ द्वन्द्व र लडाइँमा फसाउने चालबाजी भइरहेको भन्दै देश हितविपरीतको सम्झौताको विरोधमा देशभक्त नेपाली जनता एक हुनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सृजना सैंजूले संरा अमेरिकी साम्राज्यवादसामु झुके देशको सार्वभौमिकतामा आँच आउने बताउनुभयो ।

उहाँले संरा अमेरिकाले संसारभर मानवअधिकार, प्रजातन्त्रको नाममा युद्ध र अशान्ति मच्चाउने गरेको भन्दै संसारभर अमेरिकी साम्राज्यवादले विभिन्न देशमाथि गरेको हमला र लडाइँको चर्चा गर्नुभयो ।
“हामीलाई भीक्षाटनमा युद्ध, आतङ्क र अशान्ति चाहिएको छैन । एमसीसीले नेपाली जनतालाई अशान्तिमात्र दिनेछ”, सांसद संैजूले भन्नुभयो ।
संसारभर आफ्नो प्रभुत्व गुम्ने डरले संरा अमेरिकाले यतिबेला छिमेकी देश चीनलाई घेराबन्दी गर्न अनेक जालझेल गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाले आफ्नो सैनिक आधार बनाउने र त्यसो गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो ।

उहाँले नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी दिन सके देश विकास गर्न विदेशी सहयोग र अनुदानको मुख ताकेर बस्ने अवस्था नआउने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, सह–संयोजक सुरेश परियार र नेपाल क्रान्तिकारी युवा सङ्घका मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
कालीकोट
नेमकिपा कालीकोट जिल्ला समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताविरूद्ध बुधबार कोणसभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले देशघाती एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नो पुँजीमार्फत देशको सार्वभौमिकता हत्याउन खोजेको बताउनुभयो ।
एमसीसी परियोजना २१ औँ शताब्दीको इस्ट इन्डिया कम्पनीजस्तै भएको चर्चा गर्दै उहाँले सम्पूर्ण कामदार जनता एक हुनुपर्ने बताउनुभयो ।

शासक दलहरूले जनतालाई भ्रममा राख्न नाटक गरिराखेको हुँदा जनता सचेत हुनैपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपा कालीकोटका अध्यक्ष खड्गराज शाहीले एमसीसी सम्झौता राष्ट्रघाती भएको थाहा पाउँदा पाउँदै जबरजस्ती पारित गराउन खोज्ने शासक दलहरू देशद्रोही भएको बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला समितिका सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।
दैलेख
एमसीसी सम्झौताको विरोध एवम् खारेजीको माग गर्दै बुधबार दैलेखका विभिन्न स्थानमा कालोझन्डासहित जुलुस एवम् सभा सम्पन्न भयो । बुधबार चामुण्डा विन्द्रासैनी नगरपालिकाका जम्बुकाँध र देउरालीमा छुट्टाछुट्टै जुलुस तथा सभा भयो । त्यस्तै नेमकिपाले आठबीस नगरपालिकाका राकम कर्णाली, साताला, तिलेपाटा, छेपाडी र बेरूपाटा र डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वरमा जुलुस तथा सभा गरेको छ ।

डुङ्गेश्वरमा आयोजित जुलुसपछिको सभामा नेमकिपा १४ औँ दैलेख जिल्ला सम्मेलन तयारी समितिका सहसंयोजक जगत वली र नेमकिपा दैलेखका सदस्य सौर्य कामीले एमसीसी सम्झौता देशको सार्वभौमसत्ताविपरीत भएको धारणा राख्दै सार्वभौमसत्ताभन्दा माथि एमसीसी सम्झौता नहुने बताउनुभयो । सभामा नेमकिपा डुङ्गेश्वर सम्पर्क समितिका अध्यक्ष शिवराज दाहालले पनि बोल्नुभएको थियो ।
आठबीस नगरपालिकाको सातालामा सम्पन्न कोणसभामा एमसीसी पारित भए नेपाल संरा अमेरिकी साम्राज्यवादको खेलमैदान हुने भएकोले जनता सचेत हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा गम्भीरसिंह विक, लक्ष्मण ढकाल र मोती कामीले पनि बोल्नुभएको थियो ।
त्यस्तै, राकमकर्णाली बजारमा आयोजित जुलुसपछिको सभामा नेमकिपा, आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, सदस्य मानबहादुर सिजापति, तपेन्द्रबहादुर कठायत, नवीनकुमार सिजापतिलगायतले एमसीसी सम्झौता खारेजीको माग गर्नुभयो ।
तिलेपाटामा आयोजित कार्यक्रममा नेमकिपा आठबीस नपा वडा नं ८ एकाइ समितिका अध्यक्ष रामबहादुर बडुवाल, आनन्द सिजापतिले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
चाविनपाको जम्बुकाँधमा आयोजित जुलुसपछिको सभामा नेमकिपा, चाविनपा नगर समितिका अध्यक्ष निरकबहादुर शाहीले एमसीसी सम्झौताको विरोधमा गाउँगाउँ तथा बस्तीबस्तीबाट आन्दोलन उठ्ने धारणा राख्नुभयो । कार्यक्रममा नेक्राकिसङ्घका डिल्ली खनाल, नेक्रायुसङ्घका लवराज ढकालले पनि बोल्नुभएको थियो ।
चाविनपा वडा नं ३ मा पनि विरोध कार्यक्रम सम्पन्न भयो । देउरालीमा आयोजित कार्यक्रममा नेमकिपा चाविनपा नगर समितिका सदस्य दीपक शाही, वडा समिति अध्यक्ष रवीन्द्र चुदारा, बासुदेव कँडेललगायतले बोल्नुभएको थियो ।
यसैगरी चाविनपा वडा नं ८ छेपाडीमा पनि विरोध जुलुस तथा सभाको आयोजना भएको छ ।
कैलाली
एमसीसी सम्झौताको विरोधमा बुधबार कैलालीको लम्की चौराहामा जुलुससहितको विरोध सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले खारेज हुनुपर्ने बताउनुभयो ।
एमसीसीको नाममा केही अर्ब रूपियाँ दिएर नेपाललाई फसाउन खोजेकोमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद नेपालमा चीनविरूद्ध गतिविधि गर्नमा केन्द्रित रहेको बताउनुभयो ।

सभामा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले एमसीसी सम्झौता पारित भए नेपालमा नेपालको कानुन नभई अमेरिकी कानुन लागु हुनेछ भन्नुभयो ।
कार्यक्रममा ज्योति बडुवाल, लक्ष्मी पुन, गुप्तबहादुर शाही, रवीन्द्र सञ्ज्याल, गगनबहादुर थापा, सविन पण्डितलगायतले एमसीसी सम्झौताको विरोधमा बोल्नुभएको थियो । .
सुर्खेत
नेमकिपा सुर्खेतको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै वीरेन्द्रनगरको मङ्गलगढीचोकबाट सुरू भएको जुलुस बजार परिक्रमा गरी पिपल चौतारामा कोणसभा भयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले देशको सार्वभौमिकता र स्वतन्त्रता खतरामा पार्ने गरी आएको एमसीसी सम्झौता संसद्बाट पारित भए नेपालमा अमेरिकाले सैन्य अखडा बनाउने र देश रणभूमि हुने भएकोले देशभक्त नेपालीले सम्झौता खारेज गराउन आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो ।

उक्त कोणसभामा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्य निरकबहादुर शाही र विद्यार्थी रवीन्द्र भण्डारीलगायतले देशघाती एमसीसी सम्झौताको विरोधमा बोल्नुभएको थियोे ।
बाँके
एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेमकिपा बाँकेले कोहलपुर न्युरोडचोकमा कोणसभाको आयोजना ग¥यो । कार्यक्रममा नेमकिपा, दोस्रो बाँके जिल्ला सम्मेलन तयारी समितिका अध्यक्ष बखत थापाले एमसीसीको विरोधमा समग्र देश नै उठेको भन्दै जिल्लाजिल्लाबाट उठ्ने आन्दोलनले सम्झौतामा हस्ताक्षर गर्ने पार्टी तथा नेताहरूलाई सजाय गर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला सम्मेलन तयारी समितिका सदस्य नवीन शाहीले पनि बोल्नुभएको थियो ।

‍‍‍‍‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *