भर्खरै :

अमेरिकाको पृष्ठभूमि थाहा नपाई एमसीसीमा हस्ताक्षर गर्नु नै गलत

भक्तपुर, ५ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संरा अमेरिकाको पृष्ठभूमि थाहा नपाई एमसीसीमा हस्ताक्षर गर्नु नै गलत भएको बताउनुभएको छ ।
‘मजदुर’ दैनिकलगायत विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूसित कुराकानी गर्दै अध्यक्ष बिजुक्छेँले संरा अमेरिकी सरकारहरूको पृष्ठभूमि नै असमान सम्झौता, धोका, धम्की र आक्रमण गर्नु रहेको प्रस्ट पार्नुभयो ।
कतिपय तथाकथित बुद्धिजीवीहरूले एमसीसी सम्झौता जे–जस्तो भए पनि स्वीकार गर्नुपर्छ भनिरहेको बारे सोधिएको प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “एमसीसीको समर्थन गर्नेले कि त बुझेकै छैन होइन भने बुझ पचाइरहेका छन् । सम्झौता जे जस्तो भए पनि स्वीकार गर्नुपर्छ र लागु गर्नुपर्छ भन्नु नेपालले आत्मसमर्पण गर्नुपर्छ र प्यास लागेपछि विष भए पनि पिउनुपर्छ भन्नुजस्तै हो । सच्चा बुद्धिजीवीहरूले त्यस्तो कहिल्यै भन्ने छैनन् ।”
एमसीसीबारे सत्ता गठबन्धनमै रहेको असमझदारी वा मतभेदबारे के भन्नुहुन्छ भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “अमेरिकी स्वार्थबारे प्रधानमन्त्री देउवा कति पनि गम्भीर छैनन् । प्रधानमन्त्रीले एमसीसी सम्झौता पढेकै छैनन् । विदेशी शक्तिहरूले एमसीसी र त्यस्तै देश हितविपरीतका सम्झौता पारित गर्नलाई नै देउवालाई सत्तामा पु¥याएका हुन् । नेपाली काङ्ग्रेस वा शेरबहादुर देउवाको प्रवृत्ति नै विदेशी पुँजीको अगाडि झुक्ने भारतपरस्त वा पश्चिमापरस्त रहँदै आएको छ । देउवाको प्रवृत्ति बुझेर पनि उसैलाई बोक्नु गलत नै थियो । माओवादी केन्द्रका प्रचण्डले भर्खर भर्खरै बुझ्न थालेका छन् । अब अरू शासक पार्टीका नेताहरू पनि परिणामबारे समयमै बिउँझनुपर्छ । देशको सार्वभौमिकताविरूद्धको सम्झौता पारित गर्ने दल र नेताहरू भोलि कलङ्कित हुनेछन् र जनताले दूधमा परेको झिँगालाई झैँ फालिदिनेछन् ।”
एमसीसी सम्झौता देशको हितविपरीत भएकोले नेमकिपाले एमसीसी सम्झौताको विरोध गरिरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हाम्रो देशलाई अहित हुने कुरा जसले जहिले गरे पनि ठीक होइन, ठीक हँुदैन । हामी विश्वासका साथ भन्छौँ, एमसीसी यो देशको सम्प्रभुत्ताविरुद्घ छ ।”
बुधबार काठमाडौँको बानेश्वरमा एमसीसीको विरोध गर्ने प्रदर्शनकारीहरूमाथि गरिएको दमनलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “यो दमनले नेताहरूलाई सचेत रहनुपर्ने पाठ सिकाएको छ । भोलि(शुक्रबार) पनि संसद् चल्ने छैन । एमसीसी प्रस्तुत भए थप जटिलतातर्फ जानेछ ।”
नेपाली काङ्ग्रेसजस्तै प्रमुख प्रतिपक्ष दल एमाले पनि एमसीसीको पक्षमा छ, संसद्बाट पारित हुने सम्भावना बढेको छ नि भन्ने प्रश्नमा अध्यक्ष रोहितले भन्नुभयो, “एमालेको पार्टीगत निर्णय सार्वजनिक भएको छैन । एमालेका सांसदहरूमध्ये नब्बे प्रतिशत एमसीसीविरुद्घ छन् भन्ने जानकारी पाएको छु । त्यस हिसाबले संसद्मा भोटिङ भएमा एमसीसी फेल हुन्छ ।”
सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएको र अरू न्यायाधीशहरूमाथि पनि महाभियोगको माग भइरहेको छ, यसमा नेमकिपाको धारणा के हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सर्वोच्च अदालतका न्यायाधीशहरूले संविधानको ‘अ’–‘आ’ मात्र पढ्ने होइन, फैसलाले देशमा के कस्तो असर पर्छ राम्ररी विचार गर्नुपर्छ, बुझ्नुपर्छ । न्यायाधीशहरू दलगत स्वार्थ र आग्रहबाट टाढा हुनुपर्छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउँदा उसको निर्णय पनि सबै बदर हुन्छ । प्रचलन र व्यवहारले यही भन्छ । प्रधानन्यायाधीशसहितको बेञ्चको आदेशको आधारमा नियुक्त भएका प्रधानमन्त्री देउवाको नैतिक र कानुनी आधार समाप्त भइसकेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *