भर्खरै :

आइतबार प्रतिनिधि सभामा सांसद प्रेम सुवालले के बोल्नुभयो ?

(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे राख्नुभएको मन्तव्यको सारसङ्क्षेप – सं.) देशघाती एमसीसी सम्झौताबारे छलफल गर्न नेमकिपालाई ५ मिनेट समय पुग्दैन, गम्भीर महत्वको विषयमा छलफल गर्न समयको सीमा तोक्नु उचित नहुने व्यहोरा आग्रह गर्दछु । एमसीसी ऐन, सन् २००३ मा यसको बजेट अमेरिकी स्वार्थको लगानी भएको र एमसीसीको दस्तावेजमा एमसीसी सैन्य मोर्चा भएको स्पष्ट उल्लेख छ । यसकारण, आर्थिक वृद्धि र गरिबी अन्त्य गर्ने झूटो हो । व्याख्यात्मक घोषणाको औचित्य हुने छैन । यसलाई अमेरिकाले अस्वीकार गरिसक्यो । हामी भ्रममा नपरौँ ¤ प्रम देउवाजीले सित्तैमा आउने किन नलिने र देशघात कहाँ छ भन्नुभयो । सित्तैमा आएको विष पिए के होला ? मृत्यु हुन्छ अर्थात् देश रहँदैन ।
अमेरिकाको वर्तमान र भविष्यको कानुन उल्लङ्घन गर्न नपाउने, सम्झौताको अवधि ५ वर्षपछि पनि अनन्त कालसम्म यस्तो व्यवस्था कायम रहने प्रावधान सम्झौतामा उल्लेख छ । यो प्रावधान नेपालको हितमा छैन । नेपालको घरायसी, कृषि, उद्योग, यातायात, शिक्षा आदिको लागि बिजुली पर्याप्त भइसकेको छैन । संसद्मै भर्खर बत्ती निभ्यो । यस्तो धेरै अगाडिदेखि भइरहेको छ । यो सम्झौताको योजनामा भारतको सहमति हुनुपर्ने र गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गरेर भारत हुँदै सिङ्गापुरसम्म बिजुली लैजाने प्रावधान नेपाललाई अँध्यारोमै राख्ने हो, नेपालीलाई खाना पकाउने ग्यास सिलिन्डर बोक्न दिइराख्ने, इन्धन, खाद्यान्नलगायत आयात बढाएर व्यापार घाटा बढाउने हो । यो सम्झौताले नेपाललाई अमेरिकी साम्राज्यवादको नवउपनिवेश र भारतीय विस्तारवादको प्रदेश बनाउनेछ । यस्तो देशघाती सम्झौतामा हस्ताक्षर हुनुअगाडि नै संसद् र नेपाली जनतासँग छलफल गर्नुपथ्र्यो । यो भारतको निम्ति अमेरिकाले नेपालसँग गरेको सम्झौता हो । नेपालको निम्ति होइन ।
अमेरिकी जनता र नेपाली जनताबीच तथा भारतीय जनता र नेपाली जनताबीचको मित्रता राम्रो छ तर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हामीले विरोध गर्नु जरुरी छ । हिजो बेलायती साम्राज्यवादले नेपालका माथिल्ला कर्मचारी, काजी, बाबुसाहेब र खानदानी वर्गबीच घर–झगडा गराई सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य पारेको थियो । आज तिनका छोरा–नाति क–कसले एमसीसी सम्झौताको वकालत गर्दै छन्† नेपालको गुप्तचर विभागले छानबिन गर्नु जरुरी छ । उनीहरू नेपालको नराम्रो कसैले चिताएमा बेलायत र अमेरिकाले जोगाउने ठान्छन् । कङ्गोका देशभक्त प्याट्रिस लुमुम्बाले आफैले लेखेको इतिहासजस्तो लन्डन, वासिङटन र अन्य साम्राज्यवादी एवम् उपनिवेशवादीहरूले लेखेका इतिहास हुँदैनन् भन्नुभएको यहाँ सम्झनु जरुरी छ ।
नेपालले अमेरिकाजस्तो ‘महाशक्ति’ को कुरा सुन्नुपर्छ नत्र प्रम देउवाजीलाई पनि लिबियाका गद्दाफी र इराकका सद्दाम हुसेनलाई जस्तै हत्या गरिने ठान्नु र एमसीसी सम्झौताको अगाडि नतमस्तक भएर घुँडा टेक्नु अर्थात् ‘यमराज’ सँग डराउनेहरू न ‘प्रजातन्त्रवादी’ हुन्छन् न त कम्युनिस्ट नै ¤ प्रजातन्त्रवादी र कम्युनिस्ट दाबी गरेकाहरू हिटलर, मुसोलिनी, ट्रम्प–बाइडेन र मोदीका आदेशपालक बन्नु जरुरी छैन । ‘महाशक्ति’ अमेरिकाको मन्त्रीले टेलिफोन गर्नु वा राजदूत घर–घर पुगेर शासक दलका नेताहरूलाई जुधाउने र मिलाउने, नेपाललाई धुजाधुजा पार्ने कुटिल चाल चालेको देखी देशको नेता दाबी गर्नेहरू त्राहिमाम किन ? एमसीसी सम्झौतालाई बुझ्न वा चिन्न अमेरिकी नेतृत्वको सैन्य मोर्चा, नेटो, क्वाड, अउकस, पाँच आँखा, अन्जुस, आईपीएसलाई अलग्याउन मिल्दैन । अमेरिकी अधिकारीहरूले नै एमसीसी सैन्य मोर्चा भएको स्वीकार गरेका छन् ।
ग्रिसेली दन्त्य कथा ‘प्यान्डोराको बाकस’ खोलिँदा हिंसा, युद्ध, रोग, भोक, मृत्युजस्ता खराबी बाहिरिएजस्तै एमसीसी सम्झौता संसद्बाट पारित गरिए त्यस्तै परिणाम आउनेछ । यसबारे कोही भ्रममा हुनु हुन्न । सन् १७८२ मा बेलायत स्वतन्त्र भएको बेला अमेरिकाले अमेरिकी स्वतन्त्रताविरोधी खानदानी वर्ग, उच्च कर्मचारी र बेलायती एजेन्टहरू १ लाखलाई देश निकाला गरेको थियो । नेपालको सुगौली सन्धिमा गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले अङ्ग्रेजहरूसँग अनाधिकार हस्ताक्षर गरेको हुँदा उनीहरूलाई कहिल्यै देश भित्रिन दिइएन । एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने र समर्थन गर्नेहरूको हालत त्यस्तै हुनेछ ।
अमेरिकाले सन् १८३९ मा फोट रोस कब्जा ग¥यो भने रुसको अलास्का अमेरिकालाई बेच्न बाध्य पा¥यो । सन् १८४५ मा मेक्सिकोको उत्तरतिरको मेक्सिकोभन्दा पनि ठूलो भूभाग कब्जा गरियो । त्यस अवधिको २०–२१ वर्षमा अमेरिकी सेनाले मध्य अमेरिका र दक्षिण अमेरिकामा ५० औँ पटकभन्दा बढी आक्रमण ग¥यो भने २१० वर्षयता एक सत्र्न्दा बढी देशमा सेना तैनाथी, हस्तक्षेप, सत्ता उल्टाउने, युद्ध नाकाबन्दी गरेको छ । सन् १८४६ मा अमेरिकाले ९९९ वर्षको निम्ति पानामा कब्जा ग¥यो र एटलान्टिक एवम् प्रशान्त महासागर आवतजावत गर्ने पानामा नहर बनायो । पानामाका राष्ट्रपतिलाई बन्दी बनाइयो । हालसम्म उनी बाँचे या मरे सार्वजनिक भएको छैन । अमेरिकाले प्रशान्त महासागरको हवाई टापु पनि कब्जा ग¥यो । यही टापुमा अहिले हिन्द–प्रशान्त क्षेत्रको अमेरिकी सैन्य मुख्यालय राखिएको छ । जापानको संविधान अमेरिकाले बनायो । यसको कमान्डर सन् २०१८ मा नेपाल आएर हिन्द–प्रशान्त सैन्य मोर्चाबारे छलफल गरे । कोरिया युद्ध र भियतनाम युद्धमा ‘सभ्य’ अमेरिकीहरूले किटाणु र रसायनिक लडाइँ गरे । अफगानिस्तान, इराक, लिवियालाई ध्वस्त पारे । सिरियामा अमेरिकी नरसंहार चालु छ । केही लेखक, पत्रकार र राजनीतिज्ञहरू अमेरिकी साम्राज्यवादको नीतिलाई बुद्ध वचन ठानी प्रचार गर्छन् । एमसीसीको १० लाख डलर प्रचारको निम्ति छुट्याइएको कुरा सार्वजनिक भएको छ । कोही पनि गुलियो पोतिएको एमसीसीको विषमा पर्नु हुँदैन । (सांसद सुवालको वक्तव्य चालु रहँदा माइक काटियो । उहाँले आफ्ना सबै विचार राख्न पाउनुभएन सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *