भर्खरै :

देशघाती सम्झौताको विरोध अनन्तसम्म भइरहने

सत्तारुढ दलका नेताहरू दूरदर्शी, देश र जनताप्रति समर्पित र इमानदार नहुँदा देशमा राजनीतिक सङ्कट उत्पन्न भएको हो । एमसीसी सम्झौतामा रहेका सर्तहरू नेताहरूले एक–एक केलाई हेरेका भए, देशलाई दूरगामी असर पु¥याउने सर्तको लेखाजोखा गहिरिएर अध्ययन गरेका भए कुनै पनि देशभक्त नेता र मन्त्रीले यति सजिलै एमसीसी सम्झौतालाई स्वीकार्दैनथे । यस अर्थमा सत्तासीन दलका नेता र मन्त्रीहरू एमसीसी सम्झौतामा फसेकै हुन् । सम्झौताका सर्तहरूको ख्यालै नगरी नेता र मन्त्रीहरूले सही गरे । त्यही कारण सत्तारुढ दलका नेता र मन्त्रीहरू एमसीसी सम्झौताका सर्तहरूको कुरा गर्न चाहँदैनन् । उनीहरूले एमसीसी सम्झौता विशुद्ध आर्थिक सहयोग हो, विकास हुन्छ, रोजगारी पाउँछ भनी एकसुरले सम्झौता राष्ट्रको हितमा छ भनी बखान गरिरहेका छन् ।
एमसीसी सम्झौता पारित भएकोमा अमेरिका, भारत तथा देशका शासकहरू खुसी भए पनि नेपाली जनता खुसी हुने छैनन् । नेपालको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने देशघाती सम्झौताले शासक दलका नेता तथा मन्त्रीहरूमा लागेको दाग कालान्तरसम्म रहिरहनेछ । नेपालको राजनीतिक इतिहासमा लागेको त्यो दाग अब कसैले चाहेर पनि मेटिने छैन । सत्तारुढ दल नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेता र मन्त्रीहरूको इज्जत, प्रतिष्ठा र आस्थामा कालो दाग लागेको छ । गलत कार्यको मूल्य जो कोहीले चुकाउनैपर्ने हुन्छ ।
एमसीसीविरोधी अभियान एमसीसी योजना चालु रहुञ्जेलमात्र होइन योजना सकिसकेपछि पनि यथावत रहनेछ । यसबाट आक्रोशित देशभक्त जनताले कुन दिन कहाँ के गर्छन् भन्न सकिँदैन । अमेरिकाको यो परियोजनाबाट पाउने रकमबिना देशै नचल्नेजस्तो कुरा गरेर, विकासै नहुने जस्तो बखान गरेर अमेरिकाको पछि कुद्ने, लाग्ने आत्मसमर्पणवादीहरू कसरी जनताबाट सुरक्षित हुन्छन् ? सत्तारुढ दलका नेता र मन्त्रीहरू देश जोगाउन होइन, नेपाललाई भारत र अमेरिकाको उपनिवेश र कठपुतली बनाउन मरिमेटिरहेका हुन् । यो गल्ती औँल्याउने काम सम्झौतामा सही गरेका नेता र मन्त्रीहरू बिते पनि नेपाली जनताले छोड्ने छैनन् । अहिले विकासै नभए पनि पछि विकास गर्न सकिन्छ । तर, देशलाई दूरगामी आँच पु¥याउने सही या काम कसरी सह्य हुन्छ ? एमसीसी सम्झौता देशघाती कदम नै हो । यो कदमको विरोध नगर्नेहरू देशभक्त हुनैसक्दैनन् । प्रत्येक देशभक्त नागरिकले यस कदमको विरोध गर्नैपर्छ । नेपाललाई कुनै पनि शक्तिराष्ट्रले उपनिवेश बनाउने षड्यन्त्र रच्छ भने त्यसको विरोध नगरी हुँदैन । नेपाललाई सदा स्वाधीन र सार्वभौम मुलुक बनाइराख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *