भर्खरै :

एमसीसीविरुद्ध विरोधसभा चालु

भक्तपुर, २५ फागुन । नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरूले देशहितविपरीतको एमसीसी सम्झौताको विरोधमा जनतालाई जानकारी दिने गतिविधिलाई निरन्तरता दिएका छन् । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरू विभिन्न स्थानमा पुगेर एमसीसी सम्झौताले देशको कसरी अहित गर्नेछ र संरा अमेरिकी साम्राज्यवादले संसारको मच्चाएको आतङ्क र अशान्तिबारे सर्वसाधारण जनतालाई जानकारी दिएका थिए ।
एमसीसी सम्झौताविरुद्ध जनतालाई सचेत बनाउने अभियानको क्रममा बिहीबार चाँगुनारायण नपाको सुडाल थाकलमठमा कोणसभा भयो ।
सभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले शासक दलहरूले एमसीसी सम्झौता पारित गरेर संरा अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेको र नेपाली जनतालाई धोखा दिएको बताउनुभयो ।
उहाँले भारतीय बिस्तारवादले नेपालको ७० भन्दा बढी स्थानमा ६१ हजार हेक्टर जमिनभन्दा बढी भूमि अतिक्रमण गरिसक्दा पनि एक शब्द नबोल्ने राजनीतिक दल नेपाली जनताको भलो चिताउने राजनीतिक दल हुनसक्ने बताउनुभयो ।
केन्द्रीय संयोजक गुरुङले एमसीसी सम्झौतामार्फत नेपालमा उत्पादन हुने विद्युत् भारतको नियन्त्रणमा जाने र नेपाली जनता भने अझै अँध्यारो भोग्न बाध्य हुनेको बताउनुभयो ।
नेक्रायुसङ्घका जगतराम धुख्वाले नेकां सत्तामा हुँदा देशका ठूलठूला नदी नाला भारतलाई बेचिएको, उद्योग कलकारखाना निजीकरणको नाममा भारतीय एकाधिकार पुँजीको हातमा सुम्पिएको भन्दै एमसीसी सम्झौताको पक्षमा बोल्ने र मौन बस्ने दलहरूले नेपाली जनताको हितलाई भन्दा विदेशी शक्तिको दलाली गर्न एमसीसी सम्झौता पारित गरेको बताउनुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका विवेक कोजू, नेक्रायुसङ्घका गणेश तिमिल्सिना र अर्जुन काफ्लेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *