भर्खरै :

पुटिनले भनेअनुसार रुसी सैनिक कारबाहीका कारण र उद्देश्यहरू

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (फेब्रुअरी २४) बिहान गरेको टेलिभिजन सम्बोधनका क्रममा स्पष्ट भनेका छन् कि युक्रेनमा रुसी सैनिक कारबाहीको उद्देश्य युक्रेनमाथि नियन्त्रण कायम राख्नु होइन बरु त्यस देशलाई असैनिकीकरण गर्नु र नवनाजीवादमुक्त गर्नु हो । उनको सम्बोधनको केही घण्टापछि नै कैयौँ युक्रेनी सहरमा विष्फोटनका आवाजहरू सुनिन थालियो ।
रुसी विदेश मन्त्रालयले ती सबै चुनिएको युक्रेनी सैनिक संस्थानहरूमाथि कारबाही भएको र नागरिकहरूमाथि कुनै निशाना नबनाइएको बतायो । त्यसले दाबी ग¥यो युक्रेनको वायु सेना जमिनमै रहेको छ र त्यसको हवाई रक्षा प्रणालीलाई ध्वस्त पारिएको छ ।
उता युक्रेनी सरकारले भने देशव्यापी सङ्कटकाल घोषणा ग¥यो र लगत्तै रुससितको कूटनैतिक सम्बन्ध विच्छेद ग¥यो । उसले रुसी आक्रमण जारी रहेको र रुसी सेना दक्षिणतिर युक्रेनको कृष्ण सागर तटको बन्दरगाह सहर ओडेसाका साथै उत्तरतिर बेलारुसबाट युक्रेनी भूमिमा प्रवेश गरेको बतायो । त्यतिबेला उसले ५० जना रुसी सेना मारेको र ६ वटा रुसी युद्धक विमान खसालेको दाबी ग¥यो, जसलाई रुसले खण्डन गरेको छ ।
पुटिनका अनुसार सैनिक कारबाहीको एक उद्देश्य युक्रेनमा नवनाजीको भूमिकामा रहेका केही मानिसलाई पक्राउ गर्नु हो । ती नवनाजीहरूले ओडेसामा सन् २०१४ मा रुसी मूलका निःशस्त्र नागरिकहरूलाई आफ्नो घरभित्रै थुनेर जिउँदै जलाएका थिए । आफ्नो सोमबारको सम्बोधनमा पुटिनले ती को को थिए भनी मस्कोलाई जानकारी रहेको समेत उल्लेख गरेका थिए । रुसले भनेको छ कि उसको उद्देश्य भनेको नजनाजीहरूका ब्रिगेड, दक्षिणपन्थी क्षेत्र तथा अजोभ बटालियनलाई ध्वस्त पार्नु रहेको छ ।
पुटिनले रुसको उद्देश्य युक्रेन कब्जा गर्ने नरहेको त स्पष्ट पारेका छन् तर रुसले कहिले छोड्ने हो त्यो भने स्पष्ट भनेका छैनन् । जति छिटो आफ्नो उद्देश्य पूरा हुन्छ रुसले त्यति नै छिटो युक्रेन छोड्नेछ । तर, युद्धको आफ्नै तर्क र मार्ग हुन्छ भने धेरैजसो सैनिक योजनाहरूको उद्देश्य पछि बदलिने हुन्छन् ।
रुसको अन्त्य ?
रुसको खेदो खन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको युक्रेनमाथिको आक्रमणले ल्याउने मृत्यु र विध्वंसका लागि रुस एक्लै जिम्मेवार हुनुपर्ने र आफ्नो गठबन्धन तथा साझेदारहरूले रुसविरुद्ध एकीकृत र निर्णायक जवाफ फर्काउने बताए । बाइडेनले बुधबार राति भने – “राष्ट्रपति पुटिन पूर्वानुमानित युद्धको बाटो रोजेर ठूलो जनधनको विनाश र मानव दुःखकष्ट ल्याउनतिर अघि बढेका छन् । सारा विश्वले रुसलाई जिम्मेवार बनाउनेछ ।
बाइडेनले यसो भनिरहँदा लाग्छ संरा अमेरिकाले कहिल्यै कुनै युद्ध गरेकै छैन र कतै पनि जनधनको कुनै विनाश गरेको छैन । बाइडेनको पाखण्डलाई संसारभरिका जनताले राम्ररी बुझेका छन् । त्यसलाई बुझ्नका लागि कोही संरा अमेरिकाको इतिहास र विदेश नीतिको जानकार हुन आवश्यक छैन ।
बाइडेनले रुसले युक्रेनमाथि गरेको सैनिक कारबाहीलाई लिएर जी ७ र नेटोको तर्फबाट जवाफ दिन बिहीबार फेब्रुअरी २४ कै दिन टेलिभिजन सम्बोधन गर्नु थियो । एक दिन ढिलो गरी बोल्दै उनले रुसविरुद्धको नयाँ आर्थिक प्रतिबन्धनहरूको प्याकेज घोषणा गरे । त्यस्तैखाले प्रतिबन्ध अघिल्लो सोमबार नै घोषणा भइसकेको थियो तर बाइडेनले संरा अमेरिका र नेटो फौज युद्धमा सामेल नहुने दोहो¥याए ।
रुसी समाचार संस्था टासले युरोपेली युनियनको विज्ञप्तिको हवाला दिँदै ईयूले रुसको आर्थिक आधार मात्र कमजोर पार्न र त्यस देशको आधुनिकीकरण गर्ने क्षमता कमजोर पार्न मात्र चाहेको जनाएको समाचार प्रशारण ग¥यो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि युक्रेनमा ब्रिटिस सेना संलग्न नहुने स्पष्ट सङ्केत गरे ।
बाइडेन र पुटिनबीच पछिल्लोपटक फोनमा भएको कुराकानीबारे ह्वाइटहाउसले प्रकाशित गरेको जानकारी पत्रअनुसार बाइडेनले यदि रुसले युक्रेनमाथि हमला गरे रुस आफै सिधिने बताएका थिए । रुसको अन्त्य संरा अमेरिकाको दीर्घकालीन लक्ष्य पनि रहेको छ ।
डनबासमा लडाइँ
स्वायत्तताको माग गरिराखेको डनबासमा गृहयुद्ध त सन् २०१४ देखि चलिरहेको थियो । जब स्वघोषित डोनत्स्क र र लुहान्सक जनगणतन्त्रहरूलाई रुसले स्वाधीन राज्यको मान्यता प्रदान ग¥यो युक्रेनी सेना र अर्धसैनिक बलले त्यहाँ आक्रमण तीव्र पारे । पुटिनले सोमबारको सम्बोधनमा त्यहाँ रुसी शान्ति सेना पठाउने घोषणा गरेका थिए । पश्चिमा देशहरूले त्यसलाई रुसको आक्रमण भनी निन्दा गरे भने पुटिनले त्यस कदमलाई त्यहाँ रहेका रुसी मूलका आदिवासीहरूको रक्षाका लागि जरुरी कदम भनेका थिए । घमासान युद्ध चर्केपछि त्यहाँका धेरै मानिस सिमाना नाघेर रुसतर्फ भागिसकेका छन् ।
युक्रेनमा २०१४ मा राष्ट्रपति भिक्टर यानुकोभिचको सरकार अपदस्थ भएपछि नै पूर्वी युक्रेनका ती दुवै प्रान्तले जनमत सङ्ग्रह गरेर आफूलाई युक्रेनबाट अलग्ग भएको घोषणा गरेका थिए । त्यसको विरुद्ध युक्रेनको नयाँ सरकारले उक्त विद्रोह दबाउन सैनिक कारबाही सञ्चालन ग¥यो र आठ वर्ष लगातार चलेको त्यस गृहयुद्धमा आधिकारिक तथ्याङ्कअनुसार १४ हजारभन्दा बढी मानिसको ज्यान गयो । वास्तविक सङ्ख्या त्यसको दुई वा तीन गुणा बढी भएको अनुमान गरिन्छ ।
दोस्रो विश्वयुद्धको क्रममा नाजी सेनाको पक्ष लिएर सोभियत सङ्घविरुद्ध लडेको युक्रेनी फासीवादी नेता स्टेपान बान्डेराबाट प्रभावित राइट सेक्टर र अजोभ बटालियनजस्ता नवनाजी समूहहरूले यानुकोभिचविरुद्धको सत्ता विप्लव र लुहान्स्क र डोनेत्स्कविरुद्धको सैनिक कारबाहीमा सक्रिय भूमिका निभाइरहेका छन् ।
जीवन र मृत्युको प्रश्न
रुसी सैनिक कारबाहीलाई बुझ्नका लागि पहिले गत डिसेम्बरमा संरा अमेरिका र नेटोसमक्ष दुई पक्षीय र बहुपक्षीय सम्झौताका लागि अगाडि सारेका प्रस्तावहरूलाई सम्झनुपर्ने हुन्छ । ती प्रस्तावमा युक्रेन र जर्जियालाई नेटोको सदस्य बनाउन नपाइने, पोल्यान्ड र रोमानियामा रहेका अमेरिकी मिसाइलहरू हटाउनुपर्ने र पूर्वी युरोपमा बढिरहेको नेटोको सैनिक तैनाथी फर्काउनुपर्नेलगायत रहेका छन् । संरा अमेरिका र नेटोले उक्त प्रस्ताव अस्वीकार गरिदियो र उल्टो बढीभन्दा बढी नेटो सेना पूर्वी युरोपेली देशहरूमा बढाइयो तथा युक्रेनलाई पनि अति धेरै अस्त्र शस्त्रले सुसज्जित पारियो ।

सन् १९४१ मा नाजी सेनाद्वारा रुसमाथि भएको हमलाको एक दृश्य


आफ्नो बिहीबारको सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले रुसको निम्ति जीवन वा मृत्युको प्रश्न खडा भएपछि सैनिक कारबाही सुरु गर्नुपरेको बताएका थिए । सन् १९९० को दशकदेखि पूर्वी युरोपमा नेटोको विस्तारलाई लिएर पुटिनले भने, “संरा अमेरिका र उसका गठबन्धनका मित्रहरूका लागि ठूलो भूराजनीतिक फाइदाका निम्ति रुसलाई नियन्त्रण गर्ने एउटा नीति मात्र होला तर हाम्रो देशको लागि यो जीवन वा मृत्युको प्रश्न भएको छ, हाम्रो राष्ट्रको ऐतिहासिक भविष्यको विषय बनिसकेको छ । यो कुनै बढाइचढाइँ होइन, यो सत्यतथ्य हो । यो हाम्रो हितहरूमाथिको वास्तविक खतरा मात्र होइन, हाम्रो राज्यको अस्तित्व र सार्वभौमिकता रहन्छ वा रहँदैन भन्ने कुरा पनि हो । यो एक रातो रेखा हो जसको बारेमा यसअघि नै कैयौँपटक भनिसकियो । तिनीहरूले यो रेखा नाघिसकेका छन् ।”
कारबाहीका कारण र लक्ष्यहरूको विस्तृत व्याख्या
आफ्नो ३ हजार ३५० शब्दको सम्बोधनमा पुटिनले युक्रेनविरुद्ध सैनिक कारबाहीको निर्णय लिनुपर्दाको कारणहरूबारे विस्तृतरूपमा चर्चा गरेका छन् र त्यस कारबाहीले आफ्नो लक्ष्य प्राप्त गर्ने आशा गरेका छन् । उक्त सम्बोधन संरा अमेरिकाको विगत ३० वर्षको रुस नीतिको चर्को आलोचना पनि हो, जसलाई वासिङ्टनले थोरै मात्र पनि सुन्न मानेको छैन ।
पश्चिमा सञ्चारमाध्यमहरूले आजसम्म पुटिनको उक्त सम्बोधनलाई बेवास्ता गरेका छन् वा घमण्डपूर्वक अस्वीकार गर्दै आएका छन् । यदि कसैले किन रुसले सैनिक कारबाही चलायो भनी बुझ्न चाहेको छ भने त्यसको गहनतापूर्वक अध्ययन गर्नैपर्छ । अमेरिकी सभामुख नान्सी पेलोसीले गत बुधबार भनेजस्तो पुटिनलाई ‘हिटलर’ भनेर गाली गर्दैमा चल्ने छैन ।
पुटिनको सम्बोधनमा हिटलरको तथ्य र लक्षणबारे उल्लेख छ । उदाहरणको लागि युक्रेनी सेनालाई सम्बोधन गर्दै पुटिनले भने ः तपाईँका बुबा, हजुरबुबा र जिजुहजुरबुबाहरूले नाजी हमलाकारीहरूसित यसकारण लडेका थिएनन् र हाम्रो साझा मतृभूमिको रक्षा गरेका थिएनन् कि अहिले नवनाजीहरूले युक्रेनको सत्ता कब्जा गरून् । तपाईँहरूले पनि युक्रेनी जनताप्रति बफादार हुने शपथ लिनुभएको छ नकि नवनाजीवादी जुन्ता (सैनिक सरकार) प्रति । जनताका शत्रुहरूले युक्रेनलाई बिगारेर युक्रेनी जनताको अपमान गरिरहेका छन् ।
पुटिनले नाजीहरूले सोभियत रुसमा हमला र कब्जा गरेको घटनालाई आजको नेटो खतरासित जोडेका छन् । यस पटक कुनै सम्झौता हुने छैन भन्दै उनले अगाडि भने, “निश्चय पनि यो परिस्थितिले त्यसपछि के भन्ने एउटा प्रश्न खडा गरेको छ । हामीले के आशा गर्न सक्छौँ ? यदि इतिहास कुनै शिक्षक हो भने हामीलाई थाहा छ कि सन् १९४० र सन् १९४१ को पूर्वाद्धसम्म सोभियत सङ्घले सम्भावित युद्ध टार्नका लागि वा युद्धको सुरुआत पछाडि सार्नका लागि कष्टसाध्य मेहनत गरेको थियो । त्यतिबेला सोभियत सङ्घले अन्तिम घडीसम्म सम्भावित आक्रमणकारीलाई उत्तेजित बन्न नदिन हरसम्भव कोसिस गरेको थियो र आफूलाई बचाउनका लागि गर्नैपर्ने अत्यन्त जरुरी तयारीसमेत स्थगित गर्दै गरेको थियो । जब सोभियत सङ्घले अन्तिम समयमा रक्षाको निम्ति कदम चाल्यो, त्यो धेरै ढिलो भइसकेको थियो ।
परिणामस्वरूप त्यतिखेर देश (सोभियत सङ्घ) नाजी हमलाको प्रतिकार गर्न तयार थिएन । नाजी जर्मनीले युद्धको घोषणा नै नगरी हाम्रो मातृभूमिमाथि आक्रमण थालेको थियो । हाम्रो देशले शत्रुलाई रोक्यो र अन्ततः पराजित पनि ग¥यो तर निकै ठूलो मूल्य चुकाएर । महान् देशभक्तिपूर्ण युद्ध अगाडि हमलाकारीहरूलाई सम्झाउने बुझाउने हाम्रो देशको कोसिस आफै ठूलो भूल साबित भयो जसको मूल्य हाम्रा करोडौँ जनताको ज्यानले चुकाउनुप¥यो । त्यतिबेला शत्रुतापूर्ण आक्रमणको पहिलो महिनामै हामीले रणनीतिक महत्वको ठूलो क्षेत्रफल जमिन गुमायौँ र दसौँ लाखको ज्यान पनि गयो । हामी त्यही भूल दोस्रो पटक गर्ने छैनौँ । हामीलाई त्यो भूल दोहो¥याउने अधिकार छैन ।”
नेटोको विस्तारबाट उत्पन्न विद्यमान खतरा नै सैनिक कारबाहीको प्रमुख कारण भएको स्पष्ट पार्दै अगाडि भने, “हाम्रो सबैभन्दा ठूलो चासो र चिन्ताहरू हामीविरुद्धका आधारभूत धम्कीहरू हुन् जसलाई पश्चिमा राजनीतिज्ञहरूले गैरजिम्मेवार तवरले रुसविरुद्ध निरन्तर उत्पन्न गरिरहे । उनीहरूले हाम्रो देशविरुद्ध क्रुरतापूर्वक र अघोषितरूपमा एकपछि अर्को वर्ष गरी उत्पन्न गरे । उदाहरणका रूपमा नेटोको पूर्वतर्फको विस्तारलाई नै लिऔंँ, नेटोले आफ्नो सैनिक पूर्वाधारहरू रुसी सिमाना नजिकसम्म ल्याइपु¥याएको छ ।
वास्तवमा विगत ३० वर्षसम्म हामीले धैर्यतापूर्वक नेटोका नेतृत्वदायी देशहरूसित समानता र युरोपको अविभाज्य सुरक्षाको सिद्धान्तको आधारमा सम्झौताहरूमा पुग्न कोसिस गर्दै रह्यौँ । हाम्रो प्रस्तावको जवाफमा हामीले अनेकखाले पापपूर्ण ठगी र झूटको सामना ग¥यौँ वा हामीमाथि दबाब दिने वा ब्ल्याकमेल गर्ने कोसिस भयो । जबकि, त्यसैबेला उत्तर एटलान्टिक सन्धि सङ्गठनले हाम्रो चासो र आपत्तिलाई बेवास्ता गर्दै पूर्वतिर आफ्नो विस्तार गर्दैरह्यो । त्यसको सैनिक यन्त्र गतिमान छ र मलाई लाग्छ त्यो हाम्रो सिमानासम्म आइपुगेको छ ।
यस्तो किन भइरहेको छ ? कहाँबाट यो अतिअपवादको उचाइबाट तल्ल बसेकासँग कुरा गर्नेजस्तो क्रुर तरिका, अस्वीकार्यता र सबैखाले असहिष्णुता आए ? हाम्रो चासोहरू र नितान्त जायज मागहरूप्रति क्रुर र अभद्र अवधारणाको व्याख्या के हो ?”
नेटोको विस्तारका बारेमा झूटका लागि अमेरिकीहरूलाई ‘चतुर ठग’ भन्दै पुटिनले अगाडि भने, नेटोलाई एक इन्च पनि पूर्वतिर विस्तार नगर्ने उनीहरूले वाचा गरेका थिए । त्यसैलाई दाहो¥याइ पनि रहे तर तिनीहरूले हामीलाई ठगे वा सामान्य भाषामा भनौं उनीहरूले हामीमाथि खेलबाड गरे । निश्चय पनि धेरै पटक राजनीतिक फोहोरी व्यापार हो भनी सुनेको थिएँ । पश्चिमाहरूको व्यवहार देख्दा त्यो सही हुनसक्छ भने लागेको छ । आज राजनीति जति फोहोर भएको छ, यस्तो र यति हदसम्म हुनुहुँदैन भन्ने लाग्छ । यसप्रकारको चतुर ठगको व्यवहार अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तको प्रतिकूलमात्र छैन बरु सबैभन्दा माथि त सामान्यतया मानव समाजमा स्वीकारिने मूल्य र मान्यताविपरीत पनि छ ।
पुटिनले रुसले पश्चिमाहरूसँग लामो समयसम्म सहकार्य गर्न चाहेको थियो भने । उनले अगाडि भने, “विश्व प्रभुत्व कायम गर्न चाहेका मानिसहरूले सार्वजनिकरूपमा रुसलाई तिनीहरूको शत्रु घोषणा गरे । तिनीहरूले बिना हिच्किचाहट त्यो घोषणा गरे । हामी गल्ती नगरौँ, तिनीहरूसित त्यस्तो घोषणा गर्नुपर्ने कुनै कारण नै थिएन ।”
शीतयुद्धको विजयवाद र र त्यसका परिणामहरू
पुटिनको विचारमा सोभियत सङ्घको विघटनले विश्वको पुनःविभाजनतिर र अन्तर्राष्ट्रिय कानुन एवम् मान्यता परिवर्तनतिर डो¥यायो । नयाँ नियमहरू आवश्यक भएको थियो तर त्यसलाई प्राप्त गर्नुको सट्टा व्यावसायिकरूपले, मिहिनरूपले र धैर्यतापूर्वक तथा उचित सम्मान र आदरविना धेरै राज्यहरूको रुचिहरूलाई बेवास्ता गर्दै लगियो । ….हामीले पूर्ण सर्वोच्चताको भावनाले उत्पन्न गरेको आत्मअभिमानको अवस्था देख्यौँ, एक किसिमको आधुनिक निरङ्कुशतावाद न्यून सांस्कृतिक तहसित मिलेको छ । घमण्डले फुलेका तिनीहरूले निर्माण गरेका र अगाडि बढाएका निर्णयहरू तिनीहरूलाई नै मात्र सुहाएको छ ।
पुटिनले अगाडि भने, “त्यस निरङ्कुशतावादले सोभियत सङ्घ तगारोको रूपमा नरहेपछि, कुनै रोकावटविनाको संरा अमेरिकी आक्रमण अगाडि बढायो, सन् १९९९ मा सर्वियामाथि नेटोको बमबारीबाट सुरुआत भयो, २००३ मा इराक आक्रमण तथा सिरिया र लिवियामा संरा अमेरिका र नेटोले संलग्नता देखायो । रुसले वासिङ्टनको त्यस विनाशकारी कदममा सधैँ ‘नोट अफ डिसेन्ट’ (विरोध) जनाउँदै आएको छ ।”
“सोभियत सङ्घको विघटनपछि संरा अमेरिकाले पहिलो रक्तपातपूर्ण कारबाही बेल्ग्रेडविरुद्ध बढायो, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को सहमतिविना नै उसले युरोपको मुटुमा लडाकू विमान र क्षेप्यास्त्रहरूमार्फत आक्रमण ग¥यो । शान्तिपूर्ण सहरहरूमा बमबारी गरेर महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पार्ने कारबाही कैयौंँ सातासम्म चल्यो । मैले यी तथ्यहरू स्मरण गर्नुपरेको छ किनभने केही पश्चिमा समकक्षीहरूले त्यसलाई बिर्सन लागेका छन् । जब हामी ती घटनाबारे उल्लेख गर्छौँ, तिनीहरू अन्तर्राष्ट्रिय कानुनबारे बोल्नुलाई प्राथमिकतामा राख्दैनन् ।”
त्यसपछि पालो आउँछ इराक, लिविया र सिरियाको । लिवियाविरुद्ध गैरकानुनीरूपमा सेनाको प्रयोग र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का लिवियासम्बधी सबै निर्णयहरू तोडेर लिबियालाई ध्वस्त पारिएको थियो, त्यहाँ अन्तर्राष्ट्रिय आतङ्कवादका लागि ठूलो खाली ठाउँ बनाइएको थियो र त्यस देशलाई मानवीय विपत्तिको चरणतर्फ घचेटिएको थियो । त्यस कदमले लिबियाका जनतालाई मात्र होइन, त्यस समग्र क्षेत्रका करोडौँ जनताका लागि वियोगान्त निम्त्याइदिएको थियो र मध्यपूर्व तथा उत्तर अफ्रिकाबाट ठूलो सङ्ख्यामा आप्रवासीहरूको चाप युरोपतिर बढाइदिएको थियो ।
त्यही भाग्य सिरियाको लागि पनि तयार गरिसकिएको थियो । सिरियाको वैधानिक सरकारलाई प्राप्त रुसी सहायताले मात्र त्यसलाई रोक्न सकिएको थियो । पछि आतङ्कवादविरुद्ध या कुनै पनि नाममा पश्चिमा गठबन्धनद्वारा सिरियाली सरकारको सहमतिविना र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सहमतिविना चालिएका सैनिक कदमलाई आक्रमण र हस्तक्षेप नै मात्र भन्न सकिन्छ ।
निश्चय पनि इराकमाथिको आक्रमणको कुनै कानुनी आधार छैन । तिनीहरूले इराकमा आम विनाशकारी अस्त्र रहेको भनी अमेरिकी गुप्तचरहरूले दिएको ‘विश्वसनीय सूचना’ लाई नै त्यस देशमाथि आक्रमणको बहाना बनाएका थिए । उक्त आरोपलाई सही सिद्ध गर्न तत्कालीन अमेरिकी विदेशमन्त्रीले सेतो पाउडरसहितको एक भायल उठाएर सार्वजनिकरूपमा देखाएका थिए र अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पारेका थिए । पछि त्यो पाउडर लुगा धुने वासिङ पाउडरमात्र भएको खुलासा भएको थियो । त्यो इराकमाथि युद्धका लागि संरा अमेरिकाले सिर्जना गरेको रासायनिक युद्धकलाको नमुनामात्र थियो ।
पछि अमेरिकी अधिकारीहरूका ती सबै क्रियाकलाप नक्कली र लज्जास्पद भनी खुलासा भयो र इराकसित कुनै रासायनिक हतियार नभएको पुष्टि भयो । उक्त खुलासा अविश्वसनीय र स्तब्धकारी थियो तर सत्य थियो । हामीले सबभन्दा माथिल्लो राज्य तहमा पनि झूट सिर्जना गर्ने गरेको र त्यही झूटका लागि संयुक्त राष्ट्रसङ्घको उच्च मञ्च दुरुपयोग गरेको देख्यौंँ । परिणामस्वरूप ठूलो सङ्ख्यामा मानवीय जीवनको क्षति र पूर्वाधारहरूको ठूलो विध्वंस एवम् क्षति तथा आतङ्कवाद विस्तारका लागि मलिलो भूमि तयार भए ।
समग्रमा प्रायः सबैतिर यस्तो देखिन्छ कि विश्वका विभिन्न भागमा जहाँ जहाँ संरा अमेरिकाले कानुन र व्यवस्था ल्यायो, त्यहाँ त्यहाँ रक्तपातपूर्ण उपचारै हुननसक्ने घाउ तथा अन्तर्राष्ट्रिय आतङ्कवाद र अतिवादको सराप उत्पन्न गरियो ।
पुटिनले विगतका दिनमा नेटोको ज्यादतीको चर्चा गर्दै भने, “नेटोको नेतृत्वले सीधा सीधा आफ्ना भनाइहरूमा त्यस गठबन्धनलाई गति दिनुपर्ने र गठबन्धनका युद्ध पूर्वाधारहरू रुसको सिमानामा पु¥याउनुपर्नेमा जोड दिएका छन् । अर्को शब्दमा तिनीहरू आफ्नो स्थानलाई झन् झन् जटिल बनाइरहेका छन् । हामी पनि अल्छी मानेर बस्न सक्दैनौं र यी विकासक्रमलाई निस्कृयतापूर्वक हेरेर मात्र बस्न सक्दैनौँ । त्यसो नगर्नु हाम्रो नितान्त गैरजिम्मेवार कदम हुन जानेछ ।”
पुटिनले युक्रेन नेटोको अघोषित सदस्य बनिसकेको र त्यो रुसको लागि खतरा भएको बताए । नेटोको यसभन्दा बढी विस्तार र त्यसका पूर्वाधारहरूको विस्तार तथा युक्रेनी भूमिमा तिनीहरूको उपस्थिति हाम्रो लागि अस्वीकार्य छ । निश्चय पनि प्रश्न नेटोको मात्र होइन । नेटोले संरा अमेरिकाको विदेश नीतिको सेवामा ज्यावलको काममात्र गर्छ । रुससित अभिन्न रूपले गाँसिएका भूभागमा जुन भुभाग हाम्रो ऐतिहासिक भूमि पनि रहेका छन् त्यहाँ कुनै रुसविरोधी शत्रुले आकार लिइरहेको हाम्रो लागि समस्या हो । पूर्णतया बाहिरबाट नियन्त्रित भई नेटोको सेनालाई आकर्षित गर्नका लागि जेसुकै पनि गरेर युक्रेनले आफ्नैविरुद्ध आफ्नो हतियारको काम गरिरहेको छ ।
अन्तमा, युरोपेली पिछलग्गूहरूमाथि प्रहार
पुटिनले वासिङ्टनको निर्णयविपरीत एउटा सिद्धान्त र नैतिकतामा अडिन नसकेकोमा अमेरिकाका युरोपेली मित्रहरूमाथि पनि रोश प्रकट गरे । उनले अगाडि भने ः संरा अमेरिका अझै एक शक्तिशाली देश हो र प्रणाली सिर्जना गर्ने शक्ति हो । यसका सबै भूउपग्रहहरूले विनम्रतापूर्वक त्यसले भनेकोमा हवस् हजुर गरेर त्यसको वाक्यको सुगा रटाइ मात्र गर्दैनन् बरु त्यसका व्यवहारहरूको नक्कल गर्छन् र उत्साहपूर्वक त्यसले बनाइदिएका नियमहरूलाई स्वीकार गर्छन् । त्यसकारण, जो कसैले पनि सही कारण र आत्मविश्वासका साथ भन्न सक्छ कि संरा अमेरिकाले निर्माण गरेको तथाकथित पश्चिमा खेमा त्यो आफैले बनाएको छवि र इच्छाका आधारमा पूर्णतया झूटको साम्राज्य (संरा अमेरिका) कै प्रतिरूप हो ।
(जो लाउरिया ‘कन्सोर्टियम न्यूज’ का प्रधान सम्पादक हुन् । उनी द वाल स्ट्रिट जर्नल, बोस्टन ग्लोब तथा अन्य कैयौँ समाचारपत्रका समाचारदाता रहिसकेका छन् ।)
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *