भर्खरै :

“विद्यालयहरूले असल र २१ औँ शताब्दीको निम्ति योग्य बौद्धिक जनशक्ति तयार गर्नुपर्छ”

भक्तपुर, ४ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी माविको ६३ औँ र वागीश्वरी कलेजको १४ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा अध्यक्ष बिजुक्छेँले वागीश्वरी माविका तीन जना शिक्षकहरू कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा सम्मान गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले वागीश्वरीले गरेको सामूहिक कामकै कारण यसप्रति सबैको अपनत्व कायम रहेको र सबैले गौरवान्वित महसुस गरेको बताउनुभयो । विद्यालयहरूले असल र २१ औँ शताब्दीको निम्ति योग्य बौद्धिक जनशक्ति तयार पार्न जोड दिनुपर्ने भन्दै उहाँले देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको छ भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले रुसको विरोधमा गरिरहेको लडाइँ विचार र सिद्धान्तको नभई आर्थिक प्रभावको युद्ध भएको बताउँदै उहाँले युक्रेन युद्ध हुनुमा संयुक्त राज्य अमेरिका नै दोषी भएको बताउनुभयो ।
नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नाटो सङ्गठनको सदस्य बनाउन खोजिएको बताउँदै नेता बिजुक्छेँले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौँ अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयहरूबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताउँदै शिक्षालाई स्तरीय र बलियो बनाउनुपर्छ भन्ने उद्देश्यले भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा सुधारका प्रयासहरू भइरहेको बताउनुभयो ।
भक्तपुरको शैक्षिक स्थिति आजको अवस्थासम्म ल्याइ पु¥याउनुहुने भक्तपुरका अगुवाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले अध्ययन अनुसन्धानमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यालयहरूको भौतिक सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनको लागि स्थानीय पाठ्यक्रमको समेत व्यवस्था गरिएको र इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले वागीश्वरीले हासिल गरेको सफलता र उपलब्धिहरू आगामी दिनहरूमा पनि सशक्त ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
महामारी वा कुनै प्रतिकूल अवस्थामा शिक्षा क्षेत्र प्रभावित हुन नहुने बताउँदै सांसद गोसाईले शिक्षा क्षेत्रमा सरकारको उदासिनता देखिएकै कारण शिक्षा क्षेत्रले अपेक्षित ढङ्गले प्रगति गर्न नसकेको बताउनुभयो । उहाँले एमसीसीको ५५ अर्ब नेपालको लागि उपलब्धिमूलक नहुने ठोकुवा गर्नुभयो । बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले वागीश्वरीले असल र देशभक्त नागरिक जन्माउने अभिभारा बोकेको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा वागेश्वरीले खेलेको भूमिका चर्चायोग्य भएको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा गरेको युद्ध र हस्तक्षेप आज संसारसामु नांगिँदै गएको बताउँदै उहाँले रुसले नेटो सेनाविरुद्ध प्रतिकार गरेकै कारण आज यो अवस्था आएको बताउनुभयो ।
साथै वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मावि तथा कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी प्लस टुका संयोजक ज्ञानसागर प्रजापति, वागेश्वरी कलेजका तर्फबाट त्रिविका उत्कृष्ट विद्यार्थी बबिता ग्वाछा, विद्यार्थीहरू सुनिता दाहाल, सुजी ह्योङ्ग्वजु, शिक्षक राजन लाखा र मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रोहितले कलेजको स्मारिक र जर्नल समेत विमोचन गर्नुभएको थियो । साथै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले उत्कृष्ट विद्यार्थी, कर्मचारी र भ्वाइस अफ वागीश्वरीका विजेताहरूलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *