नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हिजोआज हाम्रो नेपाली साहित्यमा अस्तित्ववादबारे निक्कै चर्चा सुनिन्छ । यो कुरा राम्रो हो । विश्व साहित्यमा चलेका आजका विभिन्न वादविवादहरूबारे विचारविमर्श, छलफल, लेखापढी हुनैपर्छ । यसले कुनै पनि भाषा वा साहित्यको जागरूकपना, जिज्ञासा र आधुनिक विचारधाराहरूप्रति आफ्नो प्रतिक्रिया देखाउने र त्यसको उपयोगिता र अनुपयोगिताको जाँच गरेर त्यसका वाञ्छनीय तत्वलाई लिने औ अवाञ्छनीय तत्वहरूलाई अस्वीकार गर्ने क्षमता पनि प्रकट गर्दछ । विश्वका विभिन्न मतमतान्तरसँग परिचित नहुनाले के देखाउँछ भने कुनै व्यक्ति, जाति आफ्नो युगबाट बेग्लिएर बसेको छ वा पिछडिएको छ तर यसका साथै यस कुराको पनि ध्यान राख्नु अत्यावश्यक छ । हामीले आफ्नो मगजको सन्तुलन कायम राखेर नै यस्ता वादविवादमा लाग्नुपर्छ । नत्रभने सतर्कताको अभावमा आफ्नो खुट्टा चिप्लेर हामी नै तल खस्ने डर रहन्छ । आफ्नो मानसिक विश्लेषणात्मक नजरले केलाएर मात्र कुनै विचारलाई स्वीकार–अस्वीकार गर्ने प्रवृत्ति बौद्धिक परिपक्वताको परिचायक हो । जीवनका बाह्य उपकरणहरूको फेसनझैँ विचार, भावुकता आदिका क्षेत्रमा पनि एक किसिमको फेसन चल्दो रहेछ । कमजोर मस्तिष्कहरू सजिलै गरी त्यसका शिकार हुँदा रहेछन् र त्यस्तो प्रभावमा परेर त्यसकै रङमा रङ्गिएर जीवन र समाजका घटना र वस्तुहरूको व्याख्या गर्दा रहेछन् । ‘आधुनिकताको आकर्षण’ साँच्चिकै प्रभावकारी हुँदो रहेछ र कस्ता कस्ताहरू पनि यसको कटाक्षबाट आफूलाई बचाउन असमर्थ पाएर आखिरमा यसकै पछाडि पछाडि हिँड्नुलाई नै स्वाभाविकता, सत्यता, आजको उपयोगिता र वास्तविकता ठान्न थाल्दा रहेछन् । तर, परिपक्व व्यक्तित्व वा प्रतिभाशाली पुरुष इतिहासमा त्यही ठानिँदो रहेछ, जो ‘आधुनिक’ लाई नै कालको अन्तिम सीमा मान्दैन, जो प्रचलित विचारधाराको प्रभावमा हातखुट्टा छाडेर बग्दैन । जो अर्काको लहैलहैमा लागेर, आफ्नो युगका अन्धविश्वास र प्रचलित धारणाहरूलाई पनि बौद्धिक दुर्बलता वा नैतिक कायरतावश ठीक ठानेर वर्तमानसँग सम्झौता गर्दछ । त्यो मानव इतिहासलाई कहिल्यै अगाडि बढाउन समर्थ हुँदैन ।
सङ्क्षेपमा, जसले वर्तमानको क्षितिजलाई नाघेर भविष्यलाई हेर्न सक्दैन, जसले मानव जीवनलाई उसका सबै परिप्रेक्ष्य र दृष्टिकोणबाट हेरेर त्यसको सम्पूर्णतालाई टिप्न सक्दैन, जसले प्रचलित सिद्धान्तहरूमा नयाँ सुझाव संशोधनहरू कहिल्यै गर्न सक्दैन । त्यसैले कुनै ‘वाद’ लाई स्वीकार गर्दा हामीले त्यसका विभिन्न पक्षहरूलाई केलाउनुपर्छ । तसर्थ ‘अस्तित्ववाद’ को उपयोगिता वा सत्यतालाई आफ्नो युगसापेक्ष दृष्टिले हेरेर मात्र ठम्याउन सकिनेछ । अहिलेको समयमा झन् अहिलेको नेपालमा यसलाई पछ्याउनेहरू पनि दुई चार जना पाइन्छन् । त्यति मात्र भए पनि हुन्थ्यो, यसको प्रचारमा लागेकाहरू पनि केही देखिएका छन् । हुन त तीमध्ये केही आफै पनि स्पष्ट छैनन् र फेसनका निम्ति र अत्याधुनिक कहलाइन पनि सात्र्र र किर्केगार्डका नाउँ कुरा कुरामा लिन्छन् । त्यसैले अझै ‘अस्तित्ववाद’ को छाप हाम्रो साहित्यमा धमिलो र कमजोर नै छ । यसका पक्षभन्दा विपक्षकै धारा बलियो छ र यसको भविष्य पनि उज्ज्वल देखिन्न, तैपनि यसको चर्चा आवश्यक ठान्दछु । ‘अस्तित्ववाद’ को तत्वमीमांसा वा ज्ञानमीमांसाको जटिलतातिर नगएर नीतिशास्त्र, समाजशास्त्र र जीवनप्रतिको दृष्टिकोणमाथि परेका यसका प्रभावहरूको विश्लेषण मात्र यहाँ गर्नेछु, किनभने आजको साहित्यमा यिनै कुराहरूसँग यो सम्बन्धित छ ।
सापेक्षमा, अस्तित्ववादका अनुसार मनुष्यलाई सत्तावान् हैन, अस्तित्ववानका रूपमा लिनुपर्छ । ‘सत्ता’ बुद्धिगम्य छ र वर्णनीय छ तर, अस्तित्व वर्णनातीत छ । त्यसैले रहस्यमय, अलौकिक र अज्ञेय छ । जीवन या जगत्को अस्तित्वलाई व्याख्या गर्न कोही समर्थ छैन । हाम्रो वास्तविक जीवनलाई बौद्धिक विवेचनाबाट होइन, क्रियात्मक, भावात्मक र अनुभवात्मक स्वरूपबाट चिन्न सकिन्छ । त्यसैले समाज, राज्य, धर्म, नीति, कानुन, विज्ञानका नियम औ पद्धतिहरू, अनि कुनै विषयमा पनि बौद्धिक ‘योजना’ अनुसार चल्ने कुरा त मनुष्य र उसको जीवनलाई परतन्त्र पार्ने हुन् । त्यसैले, स्वतन्त्रताको अर्थ, अस्तित्ववादी परिभाषामा, ‘योजना’ को विरोध हो । समाज वा राष्ट्रका निम्ति व्यक्तिको बलिदान गर्नु अनुचित हो, समष्टिभन्दा व्यष्टि ठूलो छ । ब्रह्माण्डको कुनै योजना छैन, जीवनको कुनै ‘प्रयोजन’ छैन । त्यसैले यसको कुनै आफूभन्दा बाहिर ‘लक्ष्य’ छ भन्नु मूर्खता हो । जीवन स्वयं नै मूर्खतापूर्ण, निष्प्रयोजन र अर्थहीन वस्तु हो । योजनाहीन जीवन नै स्वतन्त्र जीवन हो । अस्तित्वको कुनै आदर्श छैन, मान्छेले नैतिकता वा मूल्यहरू (खबगिभक) को स्थापना आ–आफ्नो स्वविवेकको चयनद्वारा गर्दछ, मनुष्यमाथि कोही ठूलो छैन, आदि इत्यादि यसका सर्वमान्य सिद्धान्त हुन् । मान्छेलाई स्वतन्त्र र नियन्त्रणहीन छाडिदिनुपर्छ भन्ने यसको माग हो । हुन त यसबारे पनि स्वयं अस्तित्ववादीमा मतान्तर छ, आज प्रचलित नैतिक र सामाजिक कर्तव्य र दायित्वबारे उनका मूल भनाइहरू मोटामोटी यिनै हुन् । विशेष गरेर हामीकहाँ ‘जाँ पल सात्र्र’ ज्यादा लोकप्रिय छन्, त्यसैले उनकै विचारलाई हेरौँ ।
सात्र्रका विचारहरू ठाउँ ठाउँमा बाझिएका छन् । उनका उपन्यासका चरित्रहरूले बोलेका भावनात्मक कुराहरूको मनोवैज्ञानिक विश्लेषण गर्न सकिन्छ, तिनलाई ‘सत्ता’ मान्न सकिन्न । विश्वयुद्धपछि मान्छेमा आएका विभिन्न नैराश्य, पीडा, अनास्था आत्महीनताका प्रवृत्तिहरूलाई विश्वको निरन्तर र शाश्वत् ‘सत्ता’ मान्नु विकृति हो । यसले युरोपको सांस्कृतिक विकृतिको चित्रण गर्छ र युद्धको संहार र मनुष्यको अस्तित्वलाई खतम पार्न गरिएका विनाशका क्रियाहरूको प्रतिक्रियामा अभिव्यक्त गरिएको भावनात्मक दृष्टिकोणको परिचय मात्र दिन्छ ।
उनको सुप्रसिद्ध पुस्तक ‘बिइङ एन्ड नथिङनेस’ मा अनेकौँ विरोधाभासहरू छन्–‘म केही हैन’ (ल्यतजष्लन) ‘अन्तर’ भन्ने कुरा नै छैन (त्जभचभ ष्क लय धष्तजष्ल) आदि । यी सबै वाक्यहरू युद्धपीडित मनुष्यको भावनात्मक हीनता र खोक्रोपनाका अनुभूतिसूचक हुन् । एउटा उपन्यासमा उनी संसारको ‘बोरडम’ (रसहीनता) हाम्रो अस्तित्वलाई निल्ने, कुल्चने र नष्ट गर्ने, हामी अगाडि राक्षस उभिएको यो ‘कर’ तथ्यहरूको समूह, यो ठोस नरमाइलो ‘विश्व’ को चित्रण गर्छन् । जो हाम्रो छातीमाथि उभिएको छ र हामीलाई चल्मलाउन दिँदैन । यै हाम्रो असहायपना र ‘बोरडम’ को परतन्त्रता पनि तर पछि उनी फेरि भन्छन्– “यदि मैले हिम्मत गरेँ, आफूभित्र साहस र शक्ति बटलेँ भने म के देख्ने छु भने म यस्तो ठोस र राक्षसी संसारमा पनि आफ्नो अस्तित्वका निम्ति केही ‘स्थान’ प्राप्त गर्ने क्षमता र स्वतन्त्रताको उपभोग गर्न पाउने छु ।” यो व्यक्तिवादी सत्ता एउटा व्यक्तिको एक्लोपनको असहायपना र दैत्यदुनियाँसँग लडेर पाइने स्वतन्त्रता’ को मेटाफिजिक्सले मनुष्यको चित्रण समाजबाट पृथकरूपमा गर्न खोजेको छ । उनको ‘बोरडम’ को व्याख्या पनि यसै ‘अलगपना’, वा आफूलाई ‘निर्वासित’ सम्झने भावुकताबाट गर्न सकिन्छ । त्यसबेलाको निराश मनुष्यले समाजबाट आफूलाई विश्रृङ्खलित पार्नु स्वाभाविक हो । यो सनकीपना र मनोवैज्ञानिक विकृति हिटलरवादको देन थियो । यसैले गर्दा युरोपमा पनि फ्रान्स र जर्मनीमा विशेष गरेर यो प्रचलित भयो । अमेरिका, इङ्ल्यान्ड, रुस र चीनमा यो एकदमै अपरिचित छ । बर्टेन्ड रसेलले त आफ्नो दर्शनको इतिहासमा यसलाई कुनै स्थान नै दिएका छैनन् । पछि सात्र्रले यी सबै अस्पष्ट र व्यक्तिवादी सङ्कीर्णताबाट उब्जेका मनोवैज्ञानिक भ्रमहरू, मानसिक अस्थिरता र सामाजिकताको ठोस धरातलबाट पृथक् हुनाले उत्पन्न भएको सामाजिक अनास्था र कुनै पनि प्रयोजन र पद्धतिप्रति उपहास्यास्पद दृष्टिकोणलाई स्वयं अस्वीकार गरेका छन् । अस्तित्ववाद र मानवतावाद (१९४६) भन्ने आफ्नो पुस्तकमा उनले उदाहरण दिँदै स्पष्ट भनिदिएका छन् – ‘मनुष्यले केवल आफ्नो व्यक्तिगत स्थिति वा ‘अस्तित्वलाई’ मात्र ख्याल गरेर नैतिकता वा कुनै व्यावहारिक कुराको ‘चयन’ वा निर्णय गर्न सक्दैन ।’
हामीहरूमध्ये हरेकले बेग्लाबेग्लै व्यक्तिगत रूपमा स्वतन्त्र देखिएर कुनै कुराको निर्णय गछौँ भनौँ, कुनै युद्धमा मर्ने निर्णय गर्छौँ, आत्मसमर्पण गर्नुभन्दा, त्यसबेला हामी समस्त मानवता वा ‘समाज’ का निम्ति पनि निर्णय गरिरहेका हुन्छौँ । यसरी हरेक व्यक्ति आ–आफ्नो वा सम्पूर्ण मनुष्य जातिसँगै सापेक्ष छ सम्बन्धित छ । उसका अधिकार, कर्तव्य, निर्णय सबै सापेक्ष र सीमित छन् । यसै अनुभूतिका साथ चल्नुमा नै आफ्नो ‘व्यक्तिगत अस्तित्व’ पनि सुरक्षित छ, सुखी रहन्छ । यो चेतना सात्र्रले नाजीहरूको खिलाफ फ्रान्समा ‘रेजिस्टयन्स मुभमेन्ट’ को सङ्गठन र सञ्चालन गर्ने सिलसिलामा पाए । यस कुरालाई सात्र्रका अघिल्ला उपन्यासहरू मात्र पढ्ने उनका प्रशंसकहरू बुझ्दैनन् । समाजको सुख–दुःखसँग आफूलाई तादात्म्य गरेर जीवनका कार्यहरूको निर्णय लिने, आफ्नो निर्णयले समाजको जीवनलाई पनि के कति प्रभावित पार्न सक्ला भनेर सचेत र उत्तरदायित्वपूर्ण ढङ्गबाट सोच्ने व्यक्ति नै आफ्नो ‘अस्तित्व’ प्रति ज्यादा आस्थावान् ठहर्नेछ । आफ्नो मात्र ख्याल गर्ने, वा आफ्नो सुखसुविधा र स्वार्थमा केन्द्रित भएर मात्र हरेक कुरा गर्न खोज्नेहरू अन्त्यमा समाजबाट पृथक हुँदाहुँदै, निस्सहाय भएर आफ्नै अस्तित्वको निषेध गर्छन् भन्ने कुरा दुवै विश्वयुद्धमा फासिस्ट र हिटलरवादीहरूको पराजय र विनाश, अनि प्रजातान्त्रिक शक्तिहरूको संयुक्त मोर्चाको सामाजिक भावना र शक्तिबाट प्राप्त भएको विजय र अस्तित्वबाट प्रमाणित भएको छ । अस्तित्ववादको व्याख्या व्यक्तिवादी र अनास्थावादी ढङ्गबाट गर्नेहरूले यस सकारात्मक पक्षलाई हेर्न जरूरी छ । अस्तित्ववादले, आफ्नो नाउँ सार्थक पार्न, जीवन, प्रगति, आशा, विश्वास, जीवनसङ्घर्षमा सकारात्मक र उत्साहपूर्ण दृष्टिकोण आदिको प्रचार गर्न आवश्यक छ । जसले मानवको अस्तित्व कायम रहन्छ । झन् निराशा, अनास्था, अराजकता र निष्क्रियता (जो अस्तित्वलाई मेटाउन खोज्ने विषालु शत्रु हुन्) लाई बढावा दिएर जीवनलाई ‘बाँच्न अयोग्य’ बनाइदिनु एउटा हास्यास्पद विरोधाभास हो । मनुष्यको क्षमता र सृजनशक्तिलाई दुर्बल तुल्याउने, सङ्घर्षको औचित्य, आवश्यकता र भविष्यप्रति अनास्था उत्पन्न गर्दै मनुष्य जातिकै अस्तित्वलाई कलुषित र मरणशील पार्न खोज्नेहरूले पनि आफूलाई अस्तित्ववादी भन्नु कहाँसम्मको हाँसोउठ्दो कुरा हो । गत दुई विश्वयुद्ध हतियार र बमहरूले भन्दा, जर्मन र फासिस्ट साम्राज्यवादलाई पराजित गर्ने आशा, विश्वास र आस्थाहरूबाट जितिए । विश्वयुद्धबाट ध्वस्त मुलुकहरूले आज फेरि आफ्नो नवनिर्माण पनि त्यसै आशा, विश्वास र योजनाहरूबाटै गरिरहेका छन् ।
आजको सङ्कटग्रस्त अन्तर्राष्ट्रिय परिस्थितिमा जब फेरि नयाँ नयाँ साम्राज्यवादी र नव उपनिवेशवादीहरू पिछडिएका र नव स्वतन्त्रता प्राप्त राष्ट्रहरूको अस्तित्वलाई मेट्न तम्सिरहेका छन् । जब फेरि अर्को भयङ्कर आणविक युद्ध हुने सम्भावनाबाट हामी रातदिन तर्सिरहेका छौँ । जब विश्वका दुईतिहाइ जनता अर्धनग्न, भोका, रोगी र आफै परतन्त्र भएर नर्कतुल्य जीवन गुजारा गरिरहेका छन् भने हाम्रो साहित्यले राष्ट्रिय जीवनमा कस्तो भूमिका खेल्नुपरेको छ ? यस प्रश्नको उत्तरमा निर्भर छ हाम्रो राष्ट्रको भविष्य ।
कला कलाका निम्ति, जीवन प्रयोजनहीन छ, समष्टि र व्यष्टिमा ‘महत्ता र स्वतन्त्रता’ ज्यादा महत्त्वपूर्ण र वाञ्छनीय छ भन्ने खतरनाक सिद्धान्तले यस्तो सङ्कटकालीन परिस्थितिमा ठूलो सङ्कट उत्पन्न गरिदिएको छ । मनुष्यको भविष्य अन्धकारमय छ, यो यथार्थ देखिए पनि यसबाट पराजित वा निश्रित हुन आवश्यक छैन । मान्छे एउटा घीनलाग्दो महत्वहीन कीराफट्याङ्ग्रा हो, उसको भविष्य अनिश्चित छ, ऊ बाँचे पनि के, मरे पनि के, भन्ने खालका कुराहरूको प्रचार गर्नेहरू ‘मानवद्रोही‘ नै हुन् साम्राज्यवादीहरूको युद्धबाट आक्रान्त सङ्कटग्रस्त मानवतालाई त हामीले उनको जीवनसङ्घर्षमा काम लाग्ने उत्साह, प्रेरणा, सकारात्मक र स्वस्थ दृष्टिकोणको हतियार पो दिनुपरेको छ । पीडित जनतालाई अश्लील, अन्धकारमय र आफूभित्रको विद्वानलाई डगमगाईदिने खालका चित्रहरू देखाइदिनुको अर्थ हो । उनको मनोबललाई झन् कमजोर पारिदिएर उनीहरूबाट आत्मसमर्पण गर्न लगाउनु, स्वतन्त्रताका विरोधीहरूलाई अरूलाई सधैँ परतन्त्र पारिराख्ने षड्यन्त्रमा सहयोग गर्नु । अँध्यारो भयङ्कर जङ्गलको चित्र अघि सारिदिएर अल्मल्याइ दिनु, तर त्यस जङ्गलबाट बाहिर उज्यालामा निस्कने बाटो नदेखाउनु एउटा भयङ्कर भूल र अपराध हुन जानेछ ।
आज ‘साहित्य जीवनका निम्ति’ भन्ने कुरालाई खुल्लमखुल्ला नमान्ने हाम्रा बीचमा धेरै साथीहरू हुनुहुन्छ । उहाँहरू सबैलाई मैले साम्राज्यवादीहरूका समर्थक वा सामन्तवादीहरूका पुच्छर भनेको होइन । धेरै जसो असल, सोझा र मानवतावादको भलो चिताउने साथीहरू पनि ‘कला कलाका निम्ति’ भन्ने सिद्धान्तमा अल्मलिनु भएको देखिन्छ । उहाँहरूले जानिजानी यसरी साम्राज्यवादको समर्थन गरेको नभए पनि, उहाँहरूमाथि अझै रूढिगत संस्कृतिको प्रभाव बलियो छ भन्ने कुरा त अवश्य प्रमाणित हुन्छ । जीवनका पराजित, निर्विरोध आफ्नो स्वतन्त्रताको उपयोग गर्न खोज्ने निरपेक्ष व्यक्तिवादीहरू र केही बेकार र निष्क्रिय, अनि सामाजिक उत्तरदायित्व र सङ्घर्षबाट पलायन गर्न चाहने तन्नेरी साथीहरू नै आफूलाई अत्याधुनिक अस्तित्ववादका समर्थक भन्दै आफ्ना सारा विकृतिहरूको बौद्धिक र विद्वतापूर्ण व्याख्या गर्न खोज्दै छन् र आफ्नो धारणालाई उचित ठहयाउने प्रयत्न गर्दछन् तर जीवनलाई नकारात्मक विकृत र व्यक्तिवादी दृष्टिकोणले हेर्ने साहित्यकारहरूले पाउने सबभन्दा ठूलो दण्ड हो बाँचुञ्जेल जनताबाट तिरस्कृत हुनु र मरेपछि केही वर्षमै बिलाएर जानु ।
आखिरमा उही एक महत्वपूर्ण अस्तित्वको प्रश्न छ हामी किन बाँचेका छौँ ? हाम्रो बाँच्नुमा के सार्थकता र उद्देश्य छ ? यसको जवाफ हाम्रो भित्री मनले दिन्छ –हामी बाँचेका छौँ केवल बाँच्नका निम्ति मात्र हैन, आफ्ना अधिकार र प्रतिष्ठाहरूका साथ झन् राम्ररी बाँच्नका निम्ति । त्यस इज्जतपूर्ण र सुखी जीवन नपाउन्जेल हामी सङ्घर्ष गरिरहने छौँ, सारा दुःख, अभाव, पीडा, पराजय र मृत्युलाई पनि आलिङ्गन गर्दै हामी त्यस जीवनका निम्ति निरन्तर आफ्नो युद्ध चालू राखिरहने छौँ । यसै सङ्घर्षमा जीवनको सार्थकता र आनन्द छ । यसैको आशामा हाम्रो वर्तमान छ । यसैको भविष्यमा हाम्रो विश्वास छ मानवजातिको इतिहासले पनि मनुष्यको यसै निरन्तर सङ्घर्ष, पराजय र विजयको आनन्दपूर्ण कथा सुनाउँदै आएको छ ।
हामी किन बाँचेका हौँ ? हामी बाँचेका हौँ, अझ यो भन्दा पनि राम्ररी बाँच्न पाऔँ भन्ने आशा, विश्वास र प्रेरणामा । हामी यो राम्रो जीवनको प्राप्तिमा कहिलेकाँही हाँसेर मर्न पनि बेर लगाउन्नौँ । यसभन्दा ठूलो अस्तित्ववाद अरू के हुन सक्ला ?
स्रोतः गोविन्द भट्टका दार्शनिक रचनाहरू
Leave a Reply