भर्खरै :

महाकाली नदीमाथि भारतीय अतिक्रमण अविलम्ब रोक्नु जरुरी छ

नेकाका प्रम शेरबहादुर देउवाले काम गर्न नसकेको सन्दर्भमा पत्रपत्रिकामा धेरै समाचार प्रकाशित भइरहेको छ ।
भारतले दार्चुलामा महाकालीको बहाव नेपालतर्फ फर्काएको छ । तर, सरकार मौन रहेको समाचार पनि प्रकाशित भएको छ । देशको भूमिमाथि भारतीय हस्तक्षेप भइरहँदा पनि देउवा सरकार किन बोल्दैन ? भारतले नेपालको भूमि गाभेर नक्सा बनाएपछि नेपालले त्यो नक्सा च्यातेर आफ्नो भूमि समेटेर नयाँ नक्सा तयार ग¥यो । तर, नेपाली भूमि कालापानीमा भारतीय सेना यथावत छन् । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दै छ । सिमानामा भारतबाट नेपाली भूमि अतिक्रमण चालु छ । दार्चुलामा भारतले महाकाली नदी ५ मिटर अतिक्रमण गरेर ९ मिटर उचाइको ५ किमि लामो तटबन्ध बनाउँदै छ । यसले अबको वर्षामा नेपालको जनधन क्षति हुनेछ । दार्चुलाका जनता नेपाली भूमि सुरक्षा गर्न सङ्घर्ष गर्दै छन् । स्थानीय प्रशासन, गृह प्रशासन र परराष्ट्र मन्त्रालय के गर्दै छन् ?
अन्तर्राष्ट्रिय कानुनविपरीत भारतबाट नेपालको सिमानामा भइरहेको थिचोमिचो, अतिक्रमण तत्काल रोक्नु जरुरी छ । दार्चुलामा के भइरहेको छ, नेपालको सिमानामा अतिक्रमण किन भइरहेको छ ? यसबारे प्रम देउवामार्फत सदनमा जानकारी दिन लगाउनु आवश्यक छ ।”
देशघाती एमसीसी सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित भएपछि देउवा सरकार निरीह भएको जनताले अनुभूत गर्दै छन् ।
“सम्झौताको दफा २.७ र ५.१ मा अमेरिकाको वर्तमान र भविष्यको कानुन पालना गर्नुपर्ने, दफा ५.५ मा यस्तो पालना सम्झौता अवधि ५ वर्षपछि पनि अनन्त कालसम्म कायम हुने उल्लेख छ । यस्ता प्रावधान भएको सम्झौता संसद्बाट पारित हुँदा सरकारमा बसेका नेताहरू खुशी लागेको भनी बोल्दै छन् । तर, देश सुरक्षित भएको सत्य होइन ।
फागुन १६ गतेको पत्रकार सम्मेलनमा माओवादीका देव गुरुङ र नारायणकाजी श्रेष्ठबाटै असन्तुष्टि भएकोमा पत्रकार मित्रहरूको प्रश्नको जवाफमा प्रचण्डजीले भन्नुभयो, नारायणकाजीलाई लाग्यो सम्झौताको विरोध गरेपछि भएभरको कार्यकर्ता उतैतिर लाग्छन् । हाम्रो नाम उच्चारण गरी प्रचण्डजीले पे्रम सुवालजी लगातार मूर्दावाद गर्नुभा’छ, नेपाली पूरै त्यतै जानुपर्ने हो । अरू छन् नि मूर्दावादका मूर्दावाद भन्ने । महाकाली सन्धिमा विचरा वामदेवजीले राष्ट्रघात भयो भनी माले पार्टी खोले, चुनावमा जिरो भयो आदि उल्लेख गर्नुभयो । यसको अर्थ महाकाली सन्धि प्रचण्डजीले गराएको देखियो । ग्रीक कथाकार इसपले लेखेको एउटा कथामा मूर्ति बोकेको गधाले सहरका सबै मानिसले आफूलाई ढोगेको ठानेजस्तै प्रचण्डजीको दाबी हो ।
एमालेका ओलीले सशस्त्र द्वन्द्वको १० वर्ष जेलवाला तेलले जुल्फी कोरेर दिल्लीको पाँचतारे होटलमा प्रचण्ड बसेको सार्वजनिक गर्नुभएकै हो । यसबारे तत्कालीन भारतीय विदेशमन्त्री प्रणम मुखर्जीले सशस्त्र द्वन्द्वमा लागेका माओवादीका प्रचण्डलाई हतियार छाड्न लगाई शान्ति प्रक्रियामा पठाएको खुलासा गरेका थिए । प्रचण्ड र बाबुरामले भारतीय प्रम बाजपेयीलाई पत्र लेखेर सहयोग माग्नुभएको व्यहोरा भारतीय प्राध्यापक एसडी मुनीले सार्वजनिक गरेकै हुन् । संसद्ले नै पारित गरेर सिक्किमलाई भारतमा विलय गराइएको के प्रचण्डजीलाई थाहा छैन ? नेपालमा पनि यस्तै हुन लागेको हो । शासक नेताहरूप्रति जनताको आशङ्का बढेको छ । २०७४ सालको स्थानीय चुनावमा नेकाको साथ नपाएको भए माओवादीको भोट जिरो हुने प्रचण्डजीको स्वीकारोक्ति हो र ?
के प्रचण्ड र माधव देशघाती एमसीसी सम्झौता पारित गराउन नै देउवालाई प्रम बनाएर नेकाकै मतमा स्थानीय र संसद्को चुनावमा केही स्थान सुरक्षित गर्न लाग्नुभएको हो ? उहाँहरू दुवैले कार्यकर्तालाई सडकमा र सांसदलाई संसद्मा विरोध गर्न लगाउनुभयो । तर, एमसीसी सम्झौता बहुमतबाट पारित पनि गराउनुभयो । यो जनतालाई गरेको ठगी किन होइन ?
यसरकाण, दार्चुलामा महाकाली नदीमा भइरहेको भारतीय अतिक्रमण रोकेर साबिक अवस्था नै कायम गर्नु जरुरी छ । देशघाती एमसीसी सम्झौता खारेज हुनुपर्छ ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०७८ फागुन २९ गते प्रतिनिधिसभाको विशेष समयमा राख्नुभएको मन्तव्यको सार – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *