भर्खरै :

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्ण बनाउन तयारी सुरु

भक्तपुर, ९ चैत । नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार बिस्का जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग बैठक सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले विगतको तुलनामा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्णरूपमा सम्पन्न हुँदै आएको बताउँदै जात्रासित सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरेर निर्धारित समयभित्र जात्रा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने बताउनुभयो ।
उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत उल्लेख्य उपस्थित हुने बिस्का जात्रा सञ्चालन मर्यादित बनाउने हेतुले भक्तपुर नपाले सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य अगाडि बढाएको बताउनुभयो ।
बैठकबाट बिस्का जात्रा २०७८÷७९ मनाउने क्रममा नगरवासीहरूलाई आवश्यक सुरक्षा मापदण्ड अपनाई सुरक्षित रहन प्रचारप्रसार गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान कार्यालय भक्तपुरलाई जिम्मा दिने र जात्रासँग सम्बन्धित पूजा र आवश्यक तयारीको लागि भैल नाय, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी दिनेलगायतका निर्णयहरू भयो ।
त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरूमा तार, केबल र फाइबर नेटका केबुलहरू व्यवस्था गर्न र अन्य आवश्यक कार्यको लागि यथाशीघ्र स्थलगत अवलोकन गरी आवश्यक व्यवस्था गर्ने र यथाशीघ्र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक बस्ने निर्णय उक्त बैठकबाट भयो ।
भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले विगतका कमीकमजोरीबाट शिक्षा लिई शान्तिपूर्णरूपमा जात्रा सम्पन्न गर्न गुठी संस्थानले ध्यान दिनुपर्ने र तोकिएको समयअघि सबैले आ–आफ्नो जिम्मेवारीअनुसारको काम सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, वडाध्यक्ष कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जात्रासँग सम्बन्धित सरोकारवालाहरूले बिस्का भव्य, शान्तिपूर्ण र सभ्य तरिकाले सम्पन्न गर्न आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *