जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
प्रजातान्त्रिक र समाजवादी आन्दोलनलाई अगाडि बढाउन सहयोग गर्ने सबै मानवीय गुणहरूलाई आत्मसात गर्ने र त्यसलाई अगाडि बढ्न नदिन तेर्सिने अनेक चारित्रिक बाधा र कमजोरीहरूको विरोधमा दृढ रहनु नै आजको नेपाली समाजवादी आचारसंहिता हो ।
आचरण वा नैतिकता समाजवादी भए पनि, पुँजीवादी भए पनि व्यक्ति विशेषको बोली– चाली र बानी व्यहोरा नभई तत्कालीन समाज व्यवस्थाको भौतिक परिस्थिति कै अभिव्यक्ति र सांस्कृतिक रूप हुने गर्छ । सांस्कृतिक जीवन र समाजको विधिविधान समाज व्यवस्थाको आर्थिक जगमा अडेको माथिल्लो बनोट हो । तर, त्यो बनोट समय (युग), स्थान (देश) र वर्ग सापेक्ष हुन्छ ।
सृष्टिको मुकुट सम्झिएको आजको मानिसलाई जङ्गली युगमा आफू बाँच्न र सुरक्षित रहन सामूहिक जीवनको बाध्यता नभएको हुँदो हो त विकासका पछिल्ला भागहरूमा देखापरेका अनेक किसिमका व्यक्तिवादी प्रवृत्तिहरू त्यसैबेला पनि देखापर्ने थिए होलान् । खस्रो ढुङ्गा र दाउरा–मुढा नै आहारको ज्यावल र हतियार हुनु, प्रकृतिप्रदत्त वस्तु नै दानापानी र उत्पादनको क्षेत्र रहनु अर्थात् सा¥है सरल वा अविकसित उत्पादनका साधन र उत्पादन सम्बन्धले नै तिनीहरूको चेतनालाई मातृसत्तासम्म अवरुद्ध पारेको थियो । यसकारण, पूरा पाषण युगको मानिसको आचरण र नैतिकता स्वभावतः प्राकृतिक स्वभावको र समूहप्रतिको प्रतिबद्धतामा आधारित साम्यवादी ढङ्गको थियो ।
शिकारी र घुमन्ते अवस्थामा जग्गा–जमिनमाथि व्यक्तिगत स्वामित्व न आवश्यक थियो र न त्यो भावनाको विकास नै हुनसक्थ्यो । सा¥है अभाव र चर्को सङ्कट नै त्यहाँको भौतिक परिवेश थियो । अनि समानतावादमा मात्रै त्यो समाज टिक्न सकेको थियो । सबैजसो वन्य जातिमा त्यो आचरण विद्यमान रहेकै हुन्छ । व्यक्तिगत स्वार्थ र व्यक्तिवाद कुन चरोको नाम हो, थाहा थिएन । आफ्नो समाज, समूह वा जातिको भलाइ नै प्रमुख कुरो हुन्थ्यो ।
आवश्यकता नै आविष्कारको जननी भएको हुँदा कठिनाइ र अनुभवले मानिसलाई आफ्नो कार्य क्षेत्र विस्तार गर्न घच्घच्यायो । धनुष बाणको आविष्कार, सञ्चयको ज्ञान र पशुपालनको कलाले मानिसलाई भविष्य द्रष्टा बनायो । कृषि र शिल्पको विकासले सम्पन्नता र सम्पत्तिको नौलो क्षितिजलाई उघारिदियो । शिकारको साधनसँग मात्रै टाँसिएको लोग्ने मानिसले पशुपालन र कृषिमा समेत आफ्नो नेतृत्व फैलाउन लाग्यो । उत्पादनको साधनमा रहेको नेतृत्वले सम्पत्तिको समझदारीलाई विकास ग¥यो र सम्पत्तिले समाजमा पुरुषको मालिकत्वलाई स्थापना ग¥यो । मातृसत्ताको ठाउँमा पितृसत्ताले प्रतिस्थापना ग¥यो । उत्पादनको कार्यमा देखापरेको विविधताले श्रमको मूल्य र आवश्यकतालाई अनुभव गरायो, जितिएका जातिका मानिसलाई हत्या गर्न छोडी बन्दी बनाइन थालियो र बन्दीलाई पशु र ज्यावलजस्तै आफ्नो सम्पत्ति बनायो । मानव समाज दास युगको वर्गीय समाजमा पदार्पण ग¥यो ।

श्रमको खाँचो हुने परिस्थितिले बन्दीहरू मार्न र तिनीहरूको मासु नखान प्रेरित ग¥यो । कमारा मानिसहरू उत्पादनको साधन बन्यो । मानिसमा एक प्रकारको नैतिकता देखापर्न थाल्यो र मातृ–सत्ताका आचरणहरू त्यहाँ मेल खान छोड्यो र स्वास्नीमानिस पनि लोग्ने मानिसको सम्पत्ति बन्न गयो । अचल सम्पत्ति, पशु र कमाराहरूमाथि उत्तराधिकारीको बन्दोबस्त भएजस्तै स्वास्नीमानिसमा पनि उत्तराधिकारीको चलन बस्न गयो । केटाकेटी जन्माउने, हुर्काउने, घरको हेरचाह गर्ने, जङ्गल र खेतबाट खानेकुरा बटुल्ने, भाँडा–कुंडा बनाउने, सिलाइ बुनाइ गर्ने, यात्रामा सामान बोक्ने, खानेकुरा बनाउने र जाडोमा गर्मी दिनेजस्ता कामको नेतृत्वले मातृसत्तालाई निरन्तरता प्रदान गरेको थियो । पशुपालन र कृषिको विकासले स्वास्नीमानिसलाई घरपालुवा बनायो र लोग्ने मानिसलाई बलियो बनायो । अब उसले स्वास्नीमानिसको स्वतन्त्रतालाई कुण्ठित गर्दै आफ्नो आचरणमा व्यक्तिवादलाई हुर्काउन थाल्यो । नगर र उद्योगधन्धाको विकासले व्यक्ति उत्पादनको एक नयाँ आर्थिक एकाइ बन्यो । त्यसले परिवार र सामूहिक जीवनको महत्व घट्यो र व्यक्तिवादलाई बढायो ।
दास युगले उत्पादनमा वृद्धि र विविधतालाई मात्रै थपेन बरु उद्योगधन्दा, शिल्प, अनुशासन र सभ्यतालाई पनि विकास गर्यो । मालिक वर्गको स्वार्थको लुछाचुँडी एवं कमाराहरू र मालिकहरूको माझको वर्गभेद त्यसको अर्को पक्ष थियो । मालिक वर्गकै माझको हानथाप, असमानताले आपसमा हुने लुट–मार, हत्या र बदलाका भावना र घटनाहरूले आचारसंहिता र ऐन कानुनको आवश्यकताको वातावरण तयार पार्यो । त्यसबेलासम्म लुटको बदला लुट, हत्याको बदला हत्या, आँखाको बदला आँखै फोर्नेजस्ता स्वाभाविक प्राकृतिक प्रवृत्तिले रीति–रिवाज र प्रथाको रूप लियो । हत्या, हिंसा, लुटपाट र बदलाको प्रथाले समाजमा आतङ्क, अनिश्चितता र ¥हासको स्थिति अगाडि ल्यायो । त्यो स्थिति धेरै रहन सक्दैनथ्यो । आचारसंहिता, हत्या र अन्य लुटपाटलाई दास वा स्वर्ण मुद्रा क्षतिपूर्ति वा हर्जाना तिर्न लगाउने नियम बनाउन लागियो । स्वच्छन्द र आतङ्कमा बस्ने बानी परिसकेका समाजलाई नियम, अनुशासन र आचार संहितामा बाँध्न सजिलो थिएन त्यसलाई लागू गराउन र त्यसमा देखापर्ने अनेक जटिलताहरूलाई फुकाउन नयाँ नयाँ नियमहरू बनाउन मालिक वा शासक वर्गमै शासन चलाउने र त्यसको सैद्धान्तिक आधार तयार पार्ने कार्य विभाजन भयो । यसरी शासक वर्ग दुई भागमा विभाजित भए र शोषण र लुटपाटको धनमा पनि बाँडफाँड सुरु भयो ।
दास व्यवस्था अगाडि बढ्दै गयो । ऋण तिर्न नसक्नेहरूसमेत दास हुने र भागेका दासहरूलाई शरण दिनेहरू सजायका भागी बन्ने नियम बन्यो । अत्याचार र सम्पत्तिको असमान वितरणले असन्तोष र विद्रोहका लप्काहरू देखिए । मिश्रमा एकचोटि दासहरूले शासन यन्त्र नै कब्जा गरेका थिए । त्यस्ता असन्तोष र विद्रोहहरूले दास युगसँगै हुर्केको सभ्यतासमेत क्षतिग्रस्त र अवरुद्ध हुने कुरा मालिक वर्गका विचारकहरूले देख्न थाले । त्यस व्यवस्थालाई कायम गर्न ऋषिमुनी, ब्राह्मण, गुरु–पुरोहित, सन्त, महन्त, पादरी, पोप, पण्डित र दार्शनिकहरूले शासक वर्गकै ज्यावलको रूपमा काम गर्न थाले । वेदमार्फत ब्राह्मणलाई मुख, राजामहाराजाहरूलाई गर्ने सुकरातलाई व्यापारीलाई तिघ्रा र शुद्रलाई खुट्टाको रूपमा व्याख्या गर्नु, गीतामार्फत ‘स्वधर्ममा मर्न’ सिकाउनु, मिश्रका दास विद्रोहलाई धर्मविरोधी र ईश्वरको आज्ञाविरोधी नीच काम भनी निन्दा गराइनु, साँचो कुरा गर्ने सुकरातलाई विष ख्वाएर मार्नु, पुरानै रीति–रिवाजलाई पूजा गर्ने र कायम गर्ने कन्फ्युसियसको शिक्षा आदि कमारा व्यवस्थालाई अस्तित्व प्रदान गर्ने र संस्थागत गर्ने सांस्कृतिक गतिविधि थिए । मालिक वर्गका यस्ता वैचारिक नायकहरूलाई यज्ञ यज्ञादिको नाममा शासकहरूबाट राम्रा–राम्रा स्वास्नी मानिस र दासीहरू, घोडाका रथ, धेरै कोठा भएको घर, असर्फी, दूध दिने गाईजस्ता वस्तु दान–दक्षिणा, भेटी र उपहारहरू शोषण र लुटकै भागबन्डा थियो । विशाल र भव्य गिर्जाघर, ठूल्ठूला मठ मन्दिर, मस्जिद र गुठीहरू यसका उदाहरणहरू हुन् । मिश्रमा होस् वा बेबिलोनमा, रोममा होस् वा तिब्बतमा, धर्म गुरु वा पुरोहितको शासन र शक्ति सर्वविदित छ । मालिक वर्गका हातहतियारका पल्टन राजा, महाराजा, सेनापति र शासकहरू दमन गर्ने कार्य विभाजनमा परेका थिए । शोषण, थिचोमिचो र लुटपाटबाट उठेका मालिकहरूको आचरण पनि त्यस्तै हुनु स्वाभाविक थियो । कृष्णको १६००० गोपिनी हुनु, गुरुकी जहान तारासँग चन्द्रमाको सम्बन्ध, रति भिक्षाका कथाहरू, माझीकी छोरीसँग पराशरको खुला सम्बन्ध र कुन्तीको कथाले तिनीहरूको दासीहरूप्रतिको व्यवहार र यौन आचरणलाई प्रष्ट्याउँछ । तर, तिनीहरू त्यस वर्गका ‘आदर्श पुरुष’ थिए । मिश्रदेखि तिब्बतसम्मका दास मालिकहरूको आचरण त्यस्तै थियो ।
कमाराहरू मालिकहरूकै चल सम्पत्ति भएको हुँदा दासका छोरा छोरी, स्वास्नी वा परिवारलाई एक्लाएक्लै वा समूहमै बेच्नु वा मार्नु मालिकको इच्छाको कुरा थियो । यस्ता कामले दासहरूको सङ्घर्ष र विद्रोहहरूलाई भड्काइरहन्थ्यो त्यस्तो असन्तोष र विद्रोहलाई दबाउन अनेक ऐन नियम बनाइए । मालिक वर्गको विरोधमा बोल्ने दासको जीब्रो काटिनु, सुन्ने कानमा उम्लेको तेल हाली वा तातेको झीरले कान छेडी बहिरो बनाउनु, मालिकलाई रीसले हेर्ने आँखालाई फोर्नेजस्ता अनेक दण्ड सजायको सूची मनुस्मृतिले नै उल्लेख गरेको छ । दासको हत्यामा खसी बोका काटेसरह मालिकलाई कुनै प्रकारको वात लाग्ने वा बन्देज थिएन । दमन र अत्याचारले चेतना र विकास रोकिदैनथ्यो । स्पार्टाकस विद्रोहले युरोपको दास व्यवस्थालाई हल्लाएजस्तो राजा वेन दासहरूबाटै मारिए । चीनमा अनेक राज्यहरूको इतिहास दास विद्रोहबाट रगताम्य भयो । यदि दास व्यवस्थामा सुधार ल्याइएन भने वा मालिकहरूको आचरण र व्यवहारमा हेरफेर ल्याइएन भने सभ्य भनिएको मालिक वर्गको त्यो ‘स्वर्ग’ भत्किने सम्भावना देखाप¥यो ।
४५००–४६०० वर्षअगाडि स्नेफ्रू भन्ने राजाले भोकाहरूलाई रोटी बाँड्ने, नाङ्गाहरूलाई लुगा दिने, तल्लो वर्गका मानिसहरूलाई पनि कर्मचारी र हाकिम बनाउने, निर्बलियाहरूलाई तर्साउन नदिने बन्दोबस्त गरे, ऋण तिर्न नसक्ने ऋणीहरूलाई दास बनाउने प्रथा रोक्ने र जग्गामा हदबन्दी लागू गरे ।
नवौँ शताब्दी ई.पू. अर्थात् २८००–२९०० वर्षअगाडि सामाजिक असमानताबाट उठ्ने खराबीलाई रोक्न साईकर्गसले सार्वजनिक शिक्षा लागू गर्ने सल्लाह दिए । हिंसा र अनेक सामाजिक खराबीको कारण व्यक्तिगत सम्पत्ति र आर्थिक असमानता भएको हुँदा २५०० वर्षअगाडि बुद्धले व्यक्तिगत सम्पत्तिको विरोध र सामूहिक वा सङ्घको सम्पत्तिको पक्षमा बोले । मालिकहरूको आचरण र व्यवस्थामा सुधार गर्ने हेतुले हिंसा नगर्नु, अरूको स्वास्नीमाथि आँखा नगाड्नु, लोभ नगर्नु, व्यभिचार नगर्नुजस्ता शिक्षाहरू दिए । बिस्तारै कमाराहरूको हत्या गर्ने र पाल्ने सङ्ख्याको सीमा निर्धारित गरियो । ‘पञ्च खत माफ’ अर्थात् ५ जनासम्म दास मार्न सकिने नियम र सीमा बाधियो । मनुस्मृतिअनुसार नै दासीलाई सम्भोग गरेमा वा दासीको टाउकोमा पिटेमा दासमोचन हुने भए, रोममै कमाराहरूको सङख्यामा सीमा बाँधियो । यसकारण, हेराल्कितु (५३५–४२५ इ.पू.) ले भनेका थिए, सङ्घर्ष नै सबै घटनाहरूका आमा हुन् । सिसेरो (१०६–४३ ई.पू.) ले कमाराहरू मालिक वर्गकै चल सम्पत्ति भएको हुँदा तिनीहरूमाथि हुने हत्या र दमनलाई विरोध गर्दै भनेका थिए, “सबै मानिस दाजु–भाइ हुन् ।” उनी दास व्यवस्थाका विरोधी थिएनन् बरु दासहरूको हत्याले मालिकको सम्पत्ति घट्ने र समाज नचल्ने कुरा उनले देखेका थिए । मिश्रमा एक उपदेशात्मक गीत नै प्रचलित भएको थियो– खेत नभएकोलाई रोटी देऊ, सधैँको निम्ति नाम कमाऊ, एक बित्ता जग्गाको निम्ति लोभ नगर, विधवाको जग्गा दखल नगर, आफूलाई चाहिने जतिमात्र जोत र खाऊ, जबरजस्ती लिएको एक मुरीभन्दा ईश्वरले दिएको एक माना अन्न असल छ ।
दार्शनिक र सुधारकहरूकै भनाइबाट प्रस्ट छ– दास मालिकहरू सा¥है ऐयासी, भ्रष्ट, निर्दयी, व्यभिचारी, लुटाहा र हत्यारा वा हिंस्रक थिए । अर्काको सम्पत्ति र स्वास्नीमाथि आँखा गाड्ने, झूट बोल्ने, चोरी गर्ने र हिंसामा विश्वास गर्नेहरूको आचरणलाई दास मालिककै आचरण भनेमा फरक पर्नेछैन ।
दास युगले शासन व्यवस्थामा अनेक प्रगति र सुधारहरू ग¥यो । दमनकारी शक्तिको विकास र नयाँ नयाँ ऐन कानुनको व्यवस्थाले राज्ययन्त्र झन् झन् व्यवस्थित हुँदै गयो । सुव्यवस्थित राज्य यन्त्रहरूले शासकहरूमा सुरक्षाको नयाँ नयाँ प्रबन्ध, भूमि र सम्पत्तिमाथि आधिपत्य जमाउने लालच र सुन्दरीहरूको निम्ति समेत राज्यहरूको माझमा सङ्घर्षहरूलाई बढावा दियो । जितिएका भू–भाग नयाँ राज्य जित्ने पक्षको वा राजाको हुन्थ्यो । हारेका शासक र मालिक वर्गको सम्पत्ति र सुन्दरीहरू विजयी राजाको हुन्थ्यो । जितेका राजाको सम्पत्ति, शक्ति र संस्कृतिको विविधताले उसको शक्तिमा झन् वृद्धि हुँदै जान्थ्यो । जितिएका मुलुकका दासहरू भू–दासमा परिणत हुँदै गए । किनभने, पतनशील दास व्यवस्थाले उत्पादनमा पनि हास ल्याउँदै थियो । भू–दास प्रथाले उत्पादनशीलतालाई बढाइदियो । बढ्दो उत्पादन भएको धनी राज्यले पतनशील दास व्यवस्था भएको राज्यहरूमाथि आक्रमण गर्दै विजयपताका फहराउँदै गयो । एक युद्धले अर्को युद्धलाई जन्मायो, एक राज्यमाथिको हमलाले अर्को राज्यमाथिको विजयको सम्भावना बढ्यो अथवा आफूभन्दा शक्तिशाली राज्यको आक्रमणको सामना गर्नुपर्दथ्यो । यसरी मध्ययुगीन सामन्तवाद युद्धै युद्धको इतिहास बन्यो ।
शक्तिशाली राज्यहरूको माझमा भइरहने युद्ध र आक्रमणबाट आक्रान्त देश र राज्यका जनताको जीवनलाई कष्टमय बनाउँथ्यो । भेदभाव, हेला, हत्या र लुटले जनतामा असन्तोष र निराशाजस्ता दुर्भाग्य ल्याउँथ्यो । त्यस्तो दुःखद र दारुण परिस्थितिमा जीजस क्राइस्ट र महम्मदजस्ता संवेदनशील व्यक्तिहरूको उदय भयो । तिनीहरूले सबै मानिस बराबर छन् र सबै ईश्वरकै सन्तान हुन् भन्ने उपदेशहरू दिएर अत्याचारी शासकहरूलाई विवेकशील बनाउने र असन्तोष र निराशामा डुबेका जनतालाई आशाका नयाँ द्वार खोलिदिएका थिए । तर मानिस र शासक वर्ग परिस्थितिकै दास हुने गर्छ, वर्ग सापेक्ष राज्य व्यवस्थाका शासकहरूलाई कसाहीको चुपीलाई छोडाउन सकेनन् बरु राजाहरूले नै धर्मलाई राज्य विस्तार र आक्रमणको साधन बनाए ।
युद्धले लोग्ने मानिसहरूको ठूलो सङ्ख्यामा मृत्यु हुन्थ्यो त्यसले समाजमा स्वास्नी मानिसको अनुपात बढाउँथ्यो । विजयी पक्षले हारेका स्वास्नी मानिसहरूलाई समेत आफ्नो स्वास्नी बनाउँदा र स्वास्नी मानिसको अनुपात बढ्दा बहुपत्नी प्रथालाई बल दियो । विजयी पक्षलाई उत्साहित पार्न साहसको प्रशंसा गर्न र कायरतालाई हतोत्साहित पार्न ‘वीर पूजा’ लाई अगाडि बढायो । विजयीको जय जयकार र हारेकालाई निन्दा गरी वीरहरूप्रति सुन्दरीहरूलाई आकर्षित पार्न प्रेम र श्रृङ्गारका अनेक साहित्यहरू रचना गरिए । यसरी सामन्ती आचरणको नयाँ अध्याय थपियो ।
उत्पादनको साधन र शक्तिहरूको माझको सम्बन्धले निर्धारित गरेको रीति–रिवाज र विधि–विधान वा जीवन पद्धति लामो समयसम्म समाजमा सांस्कृतिक अपुतालीको रूपमा विद्यमान रहने गर्छ । उत्पादनका साधन, शक्ति र सम्बन्धहरूमा हेरफेर भए पनि समाजको सांस्कृतिक परम्परा वा प्रथामा छिट्टै हेरफेर आउने गर्दैन आदिम साम्यवादी युगको सामूहिक भावनाका अवशेषहरू पुँजीवादले नकुल्चेका इलाकाहरूमा आज पनि पाइन्छन् । मातृसत्ता कालका मातृ–प्रधान सामाजिक रूपहरू धार्मिक र सांस्कृतिक जीवनमा जताततै देख्न सकिन्छ । त्यस्तै दासयुग भू–दास प्रथामा बदलिए पनि खेतीका ज्यावलहरू, पटनी र कुलोको राम्रो बन्दोवस्त भएपनि राज्यको आकार र सङ्गठनको विकास भए पनि लुटपाट र शोषणको धनजनको भागबन्डा गुरु पुरोहितलाई दिने दास युगका सांस्कृतिक परम्परा सामन्ती समाजसम्म चालू रह्यो ।
विकसित कुटो, कोदालो, हल गोरु, पोखरी र नहर, कुटीर व्यवसाय र बन्द–व्यापार, यातायात आदि उत्पादन र जीवनका अनेक क्षेत्रहरूको विकासले सामन्ती युगमा तुलनात्मक किसिमबाट गाँस–बास र सुरक्षाको निम्ति प्राचीन समाजको जस्तो सामूहिकताको अनिवार्यता रहेन । स–साना परिवार र व्यक्तिसमेत स्वतन्त्र पेशामा लाग्न सक्ने भए । यस परिस्थितिले समाजका सदस्यहरूमा एक प्रकारको व्यक्तिवादले प्रश्रय पायो । अर्कोतिर राजा, महाराजा र सम्राटहरूले हारेका राज्यका महारानीहरूसँग विवाह गर्दै बहुपत्नी प्रथामा कानुनको लालमोहर लगाए । राजकीय लुट, डकैती, चोरी र विध्वस विजयको पताका बन्यो विभिन्न विजित राज्यका सांस्कृतिक विलासी सामग्रीहरूको उपभोगले सामन्ती आचरण झन्झन् ऐयासी हँुदै गयो । चौरासी व्यजनको भोजन, लक्ष्मी–सरस्वती र परीहरूको प्रचुरता सोमरस पान र अनेक रस रङ्गका कथाहरू त्यसका प्रमाणहरू प्रस्तुत गर्छन् । राजा–महाराजा ‘विष्णु’ र ‘ईश्वर’ को अवतारको रूपमा पुजिनु नै व्यक्तिवाद चरम अवस्थामा पुग्नु हो । तिनीहरू आफै ‘राज्य’ घोषित गरिए । तिनीहरूकै हुकुम देशको ‘ऐन कानून’ बन्यो । व्यक्तिवादको अर्को उदाहरण मिश्रको एक फरारो राजाको भनाइबाट पनि प्रस्ट हुन्छ । उनले भनेका थिए संसारलाई थिचेर सकेसम्म धन कमाउनु, सबैलाई आतङ्कित गरेर आफूभन्दा तल्ला मानिसलाई कठोर व्यवहार गर्नु, कुनै पनि दाज्यू वा भाइलाई प्रेम नगर्नु, कसैलाई विश्वासी र मित्र नठान्नु, सुत्न जाँदा पनि ज्यानको सुरक्षा आफैले गर्नुपर्दछ आदि । चाणक्य भनिने आचार्य विष्णुगुप्तले पनि अनेक जालझेल, मन्त्र युद्ध, विष कन्याको प्रयोग, हत्या र कुटिलताबाट शत्रुलाई मास्ने र शक्ति हस्तगत गर्ने उपाय बताएका थिए । त्यही कुरो पछि मैकियावली (सन् १४६९–१५२७) ले राजालाई बालुवाको घरजस्तो प्रजामाथि विश्वास नगर्न सल्लाह दिए ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु
Leave a Reply