भर्खरै :

माक्र्सवाद पुरानो भयो भन्नेहरूलाई एक उत्तर– २

युरोपमा केही कम्युनिस्ट पार्टीहरूले मताधिकारबाटै मजदुर वर्ग सत्तामा जाने सम्भावना देख्नु र सर्वहारा हुकुमबारे तिनीहरूको लचकदार नीतिले माक्र्सवादको मुख्य–मुख्य आधारहरूलाई नै छोडेको देखिन्छ । युरोपमा अत्यधिकरूपले बढ्दै गएको पुँजीवादी प्रभावको कारणबाट तिनीहरूले लिएका कूटनैतिक र राजनैतिक नाराहरूले माक्र्सवादका सारहरू पुरानो भएको साबित गर्दैन । वर्गीय शोषणको रूप र राजसत्ताको थिच्ने प्रवृत्तिमा पूर्ण परिवर्तन नआएसम्म माक्र्सवाद पुरानो हुने छैन ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको मतभेद र सङ्घर्षले पुँजीवादी लेखकहरू अन्तर्राष्ट्रिय भ्रातृत्व कायम रहेन र माक्र्सवाद व्यवहारिक रहेन भनेर भन्छन् । तर, कुरो यसको ठीक उल्टो छ । माक्र्सवादको विकास नै समाजवाद र साम्यवादका अनेक ढाँचा र अव्यावहारिक दृष्टिकोणहरूसँग सङ्घर्ष गर्दै विकास भएको वैज्ञानिक समाजवादको सिद्धान्त हो । यसकारण समाज विकास सँगसँगै सैद्धान्तिक र राजनैतिक सङ्घर्षमा पनि अनेक जटिलता र समस्याहरू आउँदै जानु स्वाभाविक हो । चेनपाउ टापूबारे रुस र चीन माझको सीमा सङ्घर्ष, चीन–भियतनाम माझको सीमा सङ्घर्ष र भियतनामद्वारा समाजवादी कम्बोडिया माथिको आक्रमणले नै अन्तर्राष्ट्रिय भ्रातृत्व समाप्त हुँदैन । संसारमा मजदुर वर्ग रुस, चीन र भियतनाममा मात्रै सीमित छैनन् । सर्वहारा अन्तर्राष्ट्रियवादको अर्थ सत्तामा रहेका पार्टीहरूको बीचको भ्रातृत्व मात्रै होइन, त्यो त अन्तर्राष्ट्रिय प्रतिकृयावादको आक्रमण र थिचोमिचोको विरोधमा सङ्घर्ष गर्न संसारका मजदुर वर्ग एकगठ गर्ने एक आह्वान हो ।
माक्र्सवादलाई कोरा सिद्धान्तको रूपमा हेर्नेहरू पूर्वी यूरोपमा बनेका कम्युनिस्ट राज्यहरू क्रान्तिबाट भएको थिएन भन्छन् । सर्वहारा अन्तर्राष्ट्रवाद माक्र्सवादका आधारहरूमध्ये एक हो । जर्मनी र इटालीयाली हिंस्रक पुँजीवादको आक्रमणको विरोधमा यूरोपेली देशमा मजदुर वर्गले सशस्त्र सङ्घर्ष गरेको थियो । त्यो सङ्घर्ष एउटा देशको क्रान्ति नभई नयाँ परिस्थितिले तयार गरेको मजदुर वर्गको महादेशीय रूपको क्रान्ति बन्यो । एउटा देशको क्रान्ति होस् वा केही देशको शोषण र आक्रमणको विरोधमा मजदुर वर्गले गर्ने उथल–पुथल होस् सबै क्रान्ति हो । त्यो देश र ठाउँ हेरी फरक फरक हुन सक्छ । माक्र्सवादलाई आ–आफ्नो परिस्थितिमा लागू गर्नु भनेको त्यही केही आलोचकहरू भन्छन्– कार्ल माक्र्सले सर्वहारा क्रान्तिको कल्पना गरेका थिए । तर, १९१७ को रुसी अक्टोबर क्रान्ति सर्वहारा वर्गले गरेको नभई सिपाही र किसानहरूले गरेका थिए । तिनीहरूको भनाइको आशय हो माक्र्सवाद अव्यावहारिक सिद्धान्त हो ।
तर, रुसी क्रान्तिको अध्ययनले के थाहा हुन्छ भने रुसी अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति नै थियो । त्यस क्रान्तिको नेतृत्व सर्वहारा वर्गको पार्टीले गरेको थियो । सचेत सर्वहाराहरू क्रान्तिको निम्ति वर्षौंदेखि सक्रिय थिए । तिनीहरू नै क्रान्तिको मोहडामा थिए । तिनीहरूले नै सिपाहीहरू र किसानहरूलाई क्रान्तिको निम्ति तयार गरेका थिए र एक गरेका थिए । त्यो समझदारी रुसी सर्वहारा वर्गलाई सन् १९०५ को क्रान्तिमै भइसकेको थियो । तिनीहरू समाजवादका निम्ति लडेका थिए । माक्र्सवादलाई नै तिनीहरूले क्रान्तिको दिशानिर्देशक मानेका थिए । यसकारण रुसी अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति थियो । तर, आलोचकहरूले सर्वहारा वर्ग र सर्वहारा क्रान्तिलाई शाब्दिकरूपमा मात्रै लिएर त्यसको भावना, ऐतिहासिक तथ्य र भविष्यको व्यापकतालाई लिएनन् । त्यसो त सबैजसो पुँजीवादी क्रान्तिमा भाग लिनेहरूमध्ये सङ्ख्याको हिसाबले पुँजीपति वर्ग अति अल्पमतमा थिए । बेलायत, फ्रान्स, अमेरिका र जर्मनीका पुँजीवादी क्रान्तिमा लड्ने र मर्नेहरूको अत्यन्त ठूलो भाग मजदुर किसान र स–साना साहु महाजनहरू नै थिए । नेतृत्व र उद्देश्यको दृष्टिले भने ती क्रान्तिहरू पुँजीवादी क्रान्ति नै थिए ।
चिनियाँ क्रान्तिको बेला चीनमा औद्योगिक मजदुरहरूको सङ्ख्या सा¥है थोरै थियो । पार्टी नेतृत्वमा समेत मध्यम वर्ग, स–साना पुँजीपति र किसान वर्गबाट आएका नेताहरू अत्यधिक थिए । यसकारण आलोचकहरू भन्छन्– चिनियाँ क्रान्ति औद्योगिकरूपले पिछडिएको देशमा भएको किसान क्रान्ति हो । त्यो क्रान्ति माक्र्सवादअनुरूप सर्वहारा वर्गबाट नभई मध्यम वर्गबाट आएका व्यक्तिहरूको इच्छाशक्तिबाट भएको हो । अन्य तेस्रो विश्वका क्रान्तिहरू पनि यस्तै हुन् ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा पहिले नै चीनमा सर्वहारा क्रान्ति र समाजवादको प्रचार भइसकेको थियो । पेरिस कम्यून, समाजवादी विचारहरू र माक्र्सवाद चिनियाँ बुद्धिजीवी समुदायमा प्रचार कार्य सुरु भइसकेको थियो । सन् १९१७ को रुसको सर्वहारा क्रान्तिको बन्दुकको आवाजले चिनियाँ कामदार जनतालाई ब्युँझाइदिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापछि व्यवस्थितरूपले खानी र यातायातका मजदुरहरूको ठूल–ठूला आन्दोलनहरू सुरु भए । शाङ्घाई र अन्य औद्योगिक क्षेत्रहरूका पनि मजदुर वर्ग सङ्गठित थिए । चिनियाँ किसानहरूको जीवनस्तर यूरोपेली मजदुरहरूको जीवनस्तर भन्दा सा¥है तल र शोषित थियो । त्यस्तै यूरोपका मजदुर वर्गजस्तै चिनियाँ किसानहरूको पनि लडाकू परम्परा थियो । मध्यम वर्गबाट आएका कम्युनिस्ट नेताहरूको इच्छाशक्ति माक्र्सवाद र लेनिनवाद थियो । तिनीहरूका प्रेरणाका स्रोतहरू यूरोपका मजदुर आन्दोलनहरू, सर्वहारा क्रान्ति र संसारका क्रान्तिहरू थिए । चीनको क्रान्तिलाई किसान क्रान्ति भनिए पनि त्यसको प्रेरणा स्रोत र उद्देश्य माक्र्सवाद र समाजवाद नै थियो । यसकारण चिनियाँ क्रान्तिलाई रुसी सर्वहारा अक्टोबर क्रान्तिकै सिलसिला भनिएको हो । माक्र्स, एङ्गेल्स र लेनिनको वर्ग श्रोत समेत सर्वहारा वर्ग नभई मध्यम र पुँजीपति वर्ग हो । तर, उहाँहरूको उद्देश्य र सम्पूर्ण गतिविधि सर्वहारा वर्गको मुक्तिको निम्ति समर्पित थियो । त्यस्तै चिनियाँ कम्युनिस्ट नेताहरू मध्यम वर्गका भएपनि तिनीहरू देश र जनताको मुक्ति र समाजवादप्रति समर्पित थिए । चिनियाँ नेताहरूले माक्र्सवादलाई कोरा सिद्धान्तको रूपमा नलिई त्यसलाई आफ्नो देशको परिस्थितिमा लागू गर्ने दिशा निर्देशनको रूपमा लिए । कोरिया, भियतनाम र क्युवाजस्तो तेस्रो विश्वको देशहरूको क्रान्तिवारे पनि यही कुरा लागू हुन्छ ।
सालाखाला १० वर्षको एकचोटि आउने आर्थिक सड्ढटहरूले पुँजीवादलाई समाप्त पार्छ भन्ने माक्र्सको ठम्याइबारे आलोचकहरू सन् १९२९–१९३९ को आर्थिक सड्ढटले पुँजीवाद समाप्त नभएको हुँदा माक्र्सवाद असफल भयो भन्ने तर्क अगाडि सार्छन् । पुँजीवादको १० वर्षे आर्थिक सड्ढट माक्र्सको आफ्नै आविष्कार नभई पुँजीवादका अनेक आर्थिक जटिलताबाट आउने परिणामलाई माक्र्सले पुँजीवादको कमजोरीको रूपमा देखाइ दिनुभएको थियो । माक्र्सकै समयमा पनि बरोबर आर्थिक सड्ढटले पुँजीवादलाई हल्लाउने गथ्र्यो । तर, पुँजीवाद आफै पतन भएन । यदि माक्र्सको भनाइ त्यस्तो हुँदो हो त माक्र्सले सर्वहारा क्रान्तिबारे लेख्नैपर्ने थिएन । तर, पुँजीवादका आफ्नै कमजोरीहरू छन् । त्यसमध्ये आर्थिक सड्ढट र युद्ध पनि हो । पहिलो विश्व युद्ध पुँजीवादको एक कमजोर पक्ष रह्यो । युद्धले आर्थिक सड्ढट ल्याउँछ वा आर्थिक सड्ढटबाट पार पाउन युद्धलाई निम्त्याउँछ । यातायातको व्यापकताले पुँजीवाद विश्व बजारसँग गाँसिएको हुँदा एक ठाउँको हारजित विश्व पुँजीवादकै हारजितमा लिइन्छ । पहिलो विश्वयुद्धले उसको कमजोरी देखायो र उसको कमजोर ठाउँ रुसमा सर्वहारा क्रान्ति भयो ।
त्यस्तै आर्थिक सड्ढटलाई जोगाउन पुँजीवादले विश्व बजारलाई भागबन्डा गर्नु आवश्यक देख्यो । बजार कब्जा गर्ने त्यस हान–थापले दोश्रो विश्व युद्ध भड्कायो । विश्व पुँजीवादको कमजोर ठाउँ पूर्वी यूरोपेली देशहरू, चीन, कोरिया र भियतनाम पुँजीवादी दाम्लोबाट मुक्त भए । क्युवाको क्रान्तिले पुँजीवाद अब सानो आर्थिक सड्ढट र ‘स्थानीय युद्ध’ बाट पनि तर्सन थाल्यो । त्यसको परिणाम ऊ भियतनाममा फस्यो, डलरको अवमूल्यन भयो । पुँजीवादी देशहरू मुद्राको मूल्यबारे एक आपसमा लुछाचुँडी गर्न थाले । कारखानाहरू बन्द हुन थाले । मजदुरहरू बेकार भए । व्यापार र बजेटमा घाटा हुन थाल्यो । पुँजीवादी संसारमा त्यो पनि एक सानो आर्थिकमन्दी थियो । त्यसबाट जोगिन सं.रा. अमेरिका अर्थात् पुँजीवाद भियतनाम छोडेर भाग्नु प¥यो अथवा पुँजीवादको एक कमजोर ठाउँमा ऊ पतन भयो ।
सैद्धान्तिक रूपले हेर्ने हो भने हरेक राजनैतिक सङ्घर्ष आर्थिक कारणबाटै हुन्छ । साथै विकसित अर्थतन्त्रले पिछडिएको अर्थतन्त्रलाई पछार्छ । पुरानो अर्थतन्त्रको खस्दै गएको दास समाजलाई तुलनात्मक रूपले विकास गर्दै गएको सामन्तवादले पराजित गर्यो । बन्दव्यापार र उद्योगधन्धा विकास गर्दै गएको पुँजीवादी अर्थतन्त्रले ¥हासोन्मुख सामन्ती अर्थतन्त्रलाई जित्यो । बलियो अर्थतन्त्रले बलियो राजसत्ता र सैन्य शक्तिको निर्माण गर्छ । ¥हासोन्मुख अर्थतन्त्रले सैन्य शक्तिलाई पनि कमजोर पार्छ । तेस्रो विश्वमा बढ्दै जाने उद्योग र प्राविधिक ज्ञानको विकासले मुक्तियुद्ध र विभिन्न देशका समाजवादी क्रान्तिहरूले अन्ततः पुँजीवादमा विविध ढङ्गका आर्थिक सड्ढट ल्याउने छन् । जसले राजनैतिक र युद्धका सड्ढटहरू ल्याउने छ । यसप्रकार घुमाइ फिराइ पुँजीवाद नष्ट हुनेछ । त्यसको मुख्यकारण आर्थिक सड्ढटको दृष्टिले पनि माक्र्सवाद पुरानो भइसकेको छैन । हुन त पुँजीवादले आफ्नो आर्थिक स्थितिलाई यथावत् राख्न ऋण, ‘सहायता’, दान वा हतियारको बेचविखनजस्ता अनेक जटिल आर्थिक उपायहरू प्रयोगमा ल्याई आफ्नो आयु लम्ब्याउने छ । तर, हरेक वस्तुको सीमा हुन्छ र हरेक वस्तुको विपरीत सम्भावना पनि हुने भएकोले अन्ततः माक्र्सले भन्नुभएजस्तै पुँजीवाद आफैले खनेको चिहानमा गाडिने छ ।
समाजवादी समाजमा उत्पादनका सबै साधनहरूमा व्यक्तिगत स्वामित्व समाप्त भई समाजवादी स्वामित्व स्थापना हुन्छ । उत्पादनका साधनहरूमा सामूहिक वा सबै जनताको स्वामित्व कायम भएपछि समाजमा वर्ग भेद रहने छैन । समाज वर्गविहीन हुँदा अथवा दबाउन पर्ने वर्ग नै नरहने हुँदा साम्यवादी समाजमा राजसत्ता ओइलाउँछ । तर, माक्र्सवादका आलोचकहरू ‘चीन र अन्य समाजवादी देशहरूमा राजसत्ता ओइलाउनुभन्दा झन् निरङ्कुश र अधिनायकवादी भयो’ भनी माक्र्सको भविष्यवाणी गलत भएको सिद्ध गर्न खोज्दै छन् ।
पुँजीवादले एकपछि अर्को हार खाँदै गएपनि त्यसले पूर्णतः आत्मसमर्पण नगरिसकेको, पुँजीवादका पुनःस्थापनाका सम्भावनाहरू पनि निर्मूल भइनसकेको, साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप, थिचोमिचो र सैन्यशक्तिको विकासले समाजवादी देशहरूलाई आफ्नो सैन्यशक्ति घटाउने तथा आफ्नो रक्षात्मक स्थिति र चनाखोपनालाई खुकुलो पार्दै लाने कुरो छैन । शत्रुको सम्भावित हस्तक्षेप, थिचोमिचो र आक्रमणसँग जुझ्ने शक्तिलाई सुकाउने वा ओइलिन दिने होइन बरु त्यसलाई हरियो र केन्द्रीकृत गर्नुपर्ने हुन्छ । यसकारण माक्र्सले भन्नुभएजस्तै विजयी सर्वहारा वर्गले समाजवादको रक्षा गर्न आफ्नो हुकुमलाई बलियो बनाउँछ । लेनिन, स्तालिन र माओ त्सेतुङ्गले यसबारे धेरै कुरा बताइसक्नुभएको छ ।
पोल्यान्डको सोलिड्यारिटी र मजदुर आन्दोलनबारे आलोचकहरू भन्छन् – सर्वहारा वर्गको हुकुम होइन, सर्वहारा वर्गमाथि हुकुम चलाउँछ । त्यसकारण पोल्यान्डका युवकहरू कम्युनिस्ट पार्टीमा लाग्दैनन् । एकचोटि माओ त्सेतुङ्गले समाजवाद र पुँजीवादको माझको सङ्घर्षमा कुनचाहिँले विजय पाउने छ । त्यसको अन्तिम टुङ्गो लागी नसकेको कुरा बताउनुभएको थियो । यो कुरो चीनको लागि मात्र होइन अन्य देशको निम्ति पनि लागू हुन्छ । पुँजीवादी राजसत्ताको अन्त र समाजवादको स्थापनाको अर्थ भित्री बेमेल र समस्याहरूको पूर्ण उन्मूलन होइन । कुनै पनि देशको युवा वर्गमा परिस्थितिको छाप पर्नु स्वाभाविक हो । सामन्तवाद र पुँजीवादी शोषणले थिचिएका युवा वर्ग र अर्कै परिस्थितिमा हुर्केका युवा वर्गको चरित्रमा फरक हुनु अस्वाभाविक होइन । उपनिवेशवादविरोधी सङ्घर्षमा लागेको देशका युवा वर्ग र पुँजीवादी शोषणको विरोधमा सङ्घर्ष गरिरहेका युवा वर्गको उद्देश्य र सोचाइमा भेद हुन्छ । त्यस्तै चीन र अन्य समाजवादी देशका युवावर्ग र नेपालीयुवा वर्गको इच्छा र आकाङ्क्षामा भेद हुनु स्वाभाविक छ । युवा वर्ग पनि आर्थिक, राजनैतिक र सांस्कृतिक परिवेशबाट मुक्त हुँदैन ।
सर्वहारा हुकुमबारे माक्र्सले ठाउँ ठाउँमा भन्नुभएको छ– सर्वहारा वर्गको हुकुमको अर्थ हो– ‘शोषक वर्गमाथि थिचो मिचो ।’ माक्र्सले स्वतन्त्रता शब्दलाई कहिले पनि गौणरूपमा प्रयोग गर्नुभएको देखिँदैन । स्वतन्त्रता शब्द सधैँ वर्ग र समयसापेक्ष हुन्छ । कुनै पनि पुँजीवादी देशमा अस्तित्वमा रहेको व्यवस्थालाई सशस्त्र ढङ्गले उल्टाउने स्वतन्त्रता दिएको हुँदैन । बेलायतका मजदुर वर्गको मागपत्रको आन्दोलन, फ्रान्समा पेरिस कम्यून र सं.रा. अमेरिकामा १ मेको मजदुर आन्दोलनलाई विकास गर्न पुँजीपति वर्गले ‘स्वतन्त्रता’ दिएको थिएन । त्यस्तै विजयी सर्वहारा वर्गले पनि ‘स्वतन्त्रता’ को नाममा समाजवादलाई उल्टाउने गतिविधि गर्न दिने छैन । यसकारण आलोचकहरू ‘माक्र्स स्वतन्त्रताका पक्षापाति थिए तर समाजवादी देशमा स्वतन्त्रता छैन’ भनेर माक्र्सलाई ‘निरपेक्ष स्वतन्त्रता’ का पक्षपातीको रूपमा अगाडि सार्छन् । त्यो गलत प्रस्तुतीकरण हो ।
केही आलोचकहरू भन्छन्– ‘पुँजीवादी देशमा मजदुरहरूले जीउन लायकको मात्रै ज्याला पाउँछन् । आर्थिक सड्ढटबाट पार पाउन साम्राज्यवादी बाटो लिने छ र अन्त्य हुनेछ ।’ ज्याला बढाउन सक्ने छैन भनेर कम्युनिस्टहरू भन्छन् । तर, त्यसको उल्टो पुँजीवादी देशहरूमा ‘ज्याला बढेको छ ।’
मजदुरहरूलाई जीउनको लागि मात्रै ज्याला दिने एक पुँजीवादी सिद्धान्त नै हो । पुँजीपति वर्गका विभिन्न किसिमका ज्यालाको सिद्धान्तले मजदुरहरू नै चुसिने हुन्छन् । आर्थिक सड्ढट र साम्राज्यवादी बाटो र त्यसको अन्त एक दीर्घकालीन र रणनीतिक सच्चाइ हो । आर्थिक स्रोतहरूको पूर्ण सञ्चालन, प्राविधिक उपलब्धि र विकासशील देशहरूको शोषणबाटै पुँजीवादी देशका मजदुरहरूको ज्यालामा वृद्धि भएको हो । तर, ती देशहरूमा सेवा र उपभोगको सामानको चर्को मूल्य र मजदुरहरूमा बरोबर भइरहने बेरोजगारीको खतराले पुँजीवादी देशका मजदुरहरू पनि त्यस स्थितिबाट सन्तुष्ट छैनन् र तिनीहरूको ज्याला पुँजीपति वर्गको नाफा र सम्पत्तिको तुलनामा कुनै पनि रूपले बढी होइन ।
केही आलोचकहरू भन्छन्– ‘नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा मात्रै बन्ने र शोषणलाई अनैतिक सम्झनेहरू सत्ताको निम्ति सिद्धान्तहीन सङ्घर्ष गर्न थाले ।’
कुनै पनि समाजको नैतिकता र संस्कृति निश्चय पनि आर्थिक आधारमै विकास हुने गर्छ । तर, एकचोटि स्वीकारिसकेको नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा हेरफेर आइसकेर पनि समाजले त्यसलाई चटक्क छोड्दैन । श्रमको शोषण ‘मानवीय’ दृष्टिले नै अनैतिक छ । राजनीतिमा सत्ताको सङ्घर्ष नौलो होइन । राज्य सत्ता समाजलाई बदल्ने एक माध्यम हो । समाजवादलाई कार्यान्वयन गर्ने भिन्नभिन्न दृष्टिकोणहरू छन् । मजदुर र किसान, गाउँ र सहरको भेद हटाउनु समाजवादको आजु हो । तर, त्यसलाई पूरा गर्ने उपायहरूमा कम्युनिस्टहरूको बीचमा मतभेद रहनु स्वाभाविक हो । समाजवादलाई लागू गर्ने उपायहरूमा कम्युनिस्टहरूको सदा भिन्नभिन्न मत रहेको छ । अराजकतावाद, काल्पनिक समाजवाद र निम्न पुँजीवादी समाजवाद यसका उदाहरणहरू हुन् । त्यस्तै अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समाजवादलाई अगाडि बढाउनेबारे विभिन्न पक्षमा विभिन्न मतहरू देखापर्नु स्वाभाविक हो । सत्तामा पुगेको पार्टीमा पनि विभिन्न पक्षहरू हुन्छन् । तिनीहरूले पनि आ–आफ्नो समझदारी अनुसारको नीतिमार्फत समाजवादलाई बलियो पार्ने र अगाडि बढाउन राज्यसत्ता र अन्य सबै साधनहरूलाई उपयोग गर्न खोज्नु आश्चर्यको कुरा होइन । समाजवादी देशमा मात्र राज्यसत्ता फूलदानको गुलाफ हुने कुरा होइन ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *