भर्खरै :

ज्ञानबहादुर न्याइच्याई पदको लोभ नगर्ने जनताका इमानदार कार्यकर्ता

भक्तपुर, १२ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले नेमकिपाका पूर्व केन्द्रीय सल्लाहकार तथा नेक्राकिसङ्घका पूर्व केन्द्रीय सदस्य ज्ञानबहादुर न्याइच्याईको शनिबार एघारौँ स्मृतिसभाको आयोजना ग¥यो ।
उक्त सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ज्ञानबहादुर न्याइच्याई घमण्ड नगर्ने, कसैलाई हेलाहोचो, अपमान नगर्ने, शिष्ट भाषा, बोली वचन राम्रो, मेहनती, सरल जीवन उच्च विचारका इमानदार कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
एउटा साधारण गरिब किसान परिवारमा जन्मे–हुर्केका उहाँ पार्टीले दिएको काम शिरोपर गर्ने असल कार्यकर्ता भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “उहाँले पदको कहिल्यै लोभ गर्नुभएन, उहाँ आफ्नो कुनै स्वार्थ नराखी निःस्वार्थपूर्वक जनताको सेवा गर्नुहुन्थ्यो ।”
हरेक कार्यकर्ताले आफ्नो स्वार्थभन्दा देश र जनताको स्वार्थ हेर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले व्यक्तिगत स्वार्थमा काम गर्नु पुँजीवादी विचार हो भन्नुभयो । गल्ती हुन नदिन र गल्ती सच्याउन आलोचना, आत्मालोचना गरिरहनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले राजनीतिक कार्यकर्ताले पदअनुसारको आचरण गर्नुपर्छ, आ–आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नुपर्छ, आफ्नो स्वार्थ पूरा गर्न जनतालाई दुःख दिनुहुँदैन, यसबारे किसान सङ्गठनमा सिकाउनुपर्छ भन्नुभयो ।
आफ्नो सानो गल्ती या कमजोरीको कारण ठूलठूला दुर्घटना हुने विचार व्यक्त गर्दै उहाँले जग्गा र सम्पत्ति भए पनि नागरिक भावना र सांस्कृतिक स्तर भएन भने अरूले हेला र होचो गर्छ भन्नुभयो ।
अमेरिकी सरकार देश र जनताप्रति समर्पित नभएकै कारण कोरोनाले अमेरिकामा लाखौँ अमेरिकी नागरिकको निधन भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
आफूले गरेको हरेक काम सतर्कतापूर्वक गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यकर्ताले परिस्थिति अनुकूल काम गर्नुपर्छ भन्नुभयो ।
आफूले गरेको काममा बाधा हाल्न र बिगार्न अरूले उक्साउने, झुलाउने र फसाउन सक्ने हुँदा हरबेला सतर्क हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सृजना सैँजूले ज्ञानबहादुर दाइ एक अनुशासित, असल, इमानदार, सरल, देश र जनताप्रति समर्पित कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
व्यक्तिगत जीवनभन्दा पार्टी, समाज र देश महत्वपूर्ण हुन्छ भन्ने कुरा अग्रजहरूबाट नयाँ पुस्ताले सिकिरहेको उल्लेख गर्दै उहाँले कार्यकर्ताले पार्टीको सिद्धान्त र विचार कहिल्यै छोड्न नहुने बताउनुभयो ।
“जनताको सद्भाव र विश्वास जित्ने ज्ञानबहादुर दाइमा जतिसुकै गरिब र अभावमा पनि उहाँ निरास हुनुभएन”, उहाँले भन्नुभयो ।
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर जनताको सेवा गर्ने नीति पार्टीले अङ्गालेको विचार व्यक्त गर्दै उहाँले सामाजिक परिवर्तनमा पु¥याएको योगदान नयाँ पुस्ताले सिके ज्ञानबहादुर दाइको सपना पूरा हुने विश्वास दिलाउनुभयो ।
स्थानीय सरकार बलियो भए प्रदेश सरकार आवश्यक नहुने विगतको नेमकिपाको विचार स्मरण गर्दै उहाँले प्रदेशको काम शून्यसरि भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
जनताको श्रम शोषण गरी राजस्वमा दाइँ गर्ने सत्तासीन दलका नेताहरूको प्रवृत्तिको आलोचना गर्दै उहाँले भागबन्डा मिलाउन मन्त्रालय थप्ने काम ठीक होइन भन्नुभयो ।
पुँजीवादी र प्रतिक्रियावादीहरूसँग लडिरहने भावना ज्ञानबहादुर दाइबाट सिक्नुपर्छ, उहाँले भन्नुभयो ।
नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति गोविन्द दुवालले जीवनभर गरिब र अन्यायमा परेका जनताको निम्ति काम गरेकाले जनतामाझ ज्ञानबहादुर दाइ सम्मानित भएको बताउनुभयो ।
किसान आन्दोलनले जनताको आर्थिकस्तर वृद्धि भएको उल्लेख गर्दै उहाँले नेमकिपाले देश जोगाउन देशभक्तिपूर्ण आन्दोलन गरिरहेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपा कहिल्यै पछि नपरेको चर्चा गर्दै उहाँले देश अर्काको अधीनमा रहेसम्म देश र जनताले सधैँ दुःख पाइरहने बताउनुभयो ।
देशमा नेमकिपा नभए देशभक्तिपूर्ण आन्दोलन नै नहुने सङ्केत गर्दै उहाँले कामदार जनताको हितको निम्ति क्रान्ति आवश्यक भएको छ भन्नुभयो ।
कुनै पनि सरकारले किसानको पक्षमा काम नगरेको उल्लेख गर्दै उहाँले नेपालमै नयाँ नयाँ बीउबिजन तयार गर्न र रासायनिक मल कारखाना खोलेर किसानलाई राहत दिनुपर्छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका उपेन्द्र सुवालले ज्ञानबहादुर दाइ पार्टीको प्रत्येक निर्देशन पालना गर्ने आज्ञाकारी कार्यकर्ता र सबैका प्रिय व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।
सफाइ गर्नु अछुत होइन जीवनकै लक्ष्य हो भन्ने भावना राखेर ज्ञानबहादुर दाइले आफू प्रधानपञ्च हुँदा च्वाफी समातेर सफाइ अभियानको नेतृत्व गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पार्टीले जात होइन तल्लो वर्गका कामदार जनताको उद्देश्य पूरा गर्नेतर्फ काम गरिरहेको बताउनुभयो ।
हाम्रा अग्रज कार्यकर्ताहरूले भ्रष्टाचारमाथि जनकारबाही गरेर जनताको विश्वास जित्ने कामको स्मरण गर्दै उहाँले समाज परिवर्तनमा टेवा पु¥याउन हरेक कार्यकर्ताहरू जिम्मेवारीपूर्वक अघि बढिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरका उपाध्यक्ष केशव तिमल्सिनाले अग्रजहरूको अनुभव र योगदान नयाँ पुस्ताले सिक्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीेले हरेक कार्यकर्तालाई सत्मार्गमा लान निर्देशन दिइरहको बताउनुभयो ।
सो अवसरमा गङ्गाराम ज्याख्वले ज्ञानबहादुर दाइको स्मरणमा कविता वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *