राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
काभ्रे, १२ चैत । छालिङ सामुदायिक सिकाइ केन्द्रको आठौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार काभ्रेमा सम्पन्न भयो ।
कार्यक्रममा सांसद् सुवालले सामुदायिक सिकाइ केन्द्रले सदस्यहरू र तिनका परिवारलाई साक्षर सँगसँगै शिक्षित र सचेत बनाउने कार्यक्रम सञ्चालन गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्रका सदस्यहरूलाई देशको भूगोल र संस्कृति अध्ययन गर्ने भ्रमणहरू राखेको उचित हो । संस्कृति र सम्पदा अध्ययन भ्रमणमा केन्द्रका सदस्यहरूले अन्धविश्वासको भावना राख्नुहुँदैन । केन्द्रले सदस्य र परिवारलाई धूमपान, मद्यपान, सुर्ती सेवनलगायत स्वास्थ्यलाई हानिकारक पेयपदार्थबाट टाढा बस्ने चेतना दिनु जरूरी छ ।”
पुरूषलाई भन्दा महिलालाई थप धेरै प्रकारका रोग लाग्ने, बच्चा जन्माउने र हुर्काउने बेला महिलाको धेरै शक्ति खर्च हुने, शरीर कमजोर हुनेबारे जानकारी दिनुपर्नेमा जोड दिँदै महिलालाई सहयोग र सम्मान गर्नुपर्ने आवश्यकता सांसद सुवालले औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने पार्टी र उम्मेदवारलाई बहिष्कार गर्नु जरूरी छ । त्यस्ता उम्मेदवारविरूद्ध जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा उजुरी दिनु जरूरी छ ।”
निर्वाचन जितेर काठमाडौँमा आएर घर–जग्गा जोड्ने, भ्रष्टाचार गर्ने पार्टी र तिनका नेताहरूको कारण सिंहदरबार फोहर भएको र देश र जनताले दुःख पाएको सचिव सुवालले बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सिकाइ केन्द्रले सीपमूलक तालिमहरू सञ्चालन गरेर रोजगार सृजना हुने कार्यक्रम ल्याउनु जरूरी रहेको बताउनुभयो ।
उहाँले समाजमा भएका विकृति हटाएर सुसंस्कृत समाज निर्माणको निम्ति राजनीतिक शिक्षाको आवश्यकता रहेको औँल्याउनुभयो ।
नेमकिपा छालिङका अध्यक्ष रत्नबहादुर ह्यौँमिखाले छालिङका जनताको स्वास्थ्य, शिक्षा र जीवनस्तर उठाउन जनपक्षीय कार्यक्रमहरू ल्याउनु जरूरी रहेको बताउनुभयो ।
सामुदायिक सिकाइ केन्द्र छालिङका अध्यक्ष सानुमाया लागेजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिकाइ केन्द्रको आ.व. २०७७/७८ को आर्थिक प्रतिवेदन र आ.व. २०७८/७९ को अनुमानित बजेट तथा भावी कार्यक्रम सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा मिनबहादुर बाटा र जीना चाकतुले पनि बोल्नुभएको थियो ।
Leave a Reply