भर्खरै :

हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य शुभारम्भ

भक्तपुर १३ चैत । भक्तपुर नगरपालिका वडा नं. ७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शुभारम्भ भयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नपा वडा नं. ७ को संयोजनमा उक्त प्रशोधन केन्द्र निर्माणको शुभारम्भ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच आइतबार गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले जारी गरेको भक्तपुर नपाको घोषणापत्रमा दुईवटा उपचार पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउनुभयो । हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिङ्गो भक्तपुरकै स्वरूप फेरिने र यहाँका स्थानीय बासिन्दाहरूलाई फाइदा पुग्ने बताउनुभयो ।
उहाँले प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरूरी छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्राचीन र ऐतिहासिक हनुमानघाट धार्मिक स्थल पनि भएको बताउँदै यस ठाउँमा निर्माण हुने फोहर पानी प्रशोधन केन्द्र निर्धारित समयमा डिजाइनअनुसार निर्माण हुनेमा विश्वास गर्नुभयो ।
त्यस्तै आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रतिसेकेन्ड रहेको उल्लेख गर्दै हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने बताउनुभयो । उहाँले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरू भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै ५ वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताउनुभयो ।
आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एम.एल.डी. क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एम.बी.बी.आर. प्रविधिबाट सञ्चालन गरिने जानकारी गराउँदै हनुमानघाटस्थित पुरानो फोहर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताउनुभयो ।
कार्यक्रममा भनपा ७ का वडा सदस्य हरिरत्न गोर्खालीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *