भर्खरै :

सिद्धान्त र विचारको ख्यालै नगरी हिलो छ्यापाछ्याप

सिद्धान्त र विचारको लडाइँमा कुनै पनि दलहरू पछि पर्नु हुँदैन । कम्युनिस्ट पार्टीहरू त झनै पछि पर्नु हुँदैन । कम्युनिस्ट पार्टीको लक्ष्य आमूल परिवर्तन हो । दलको सिद्धान्त र विचार जनतामाझ नपु¥याइकन, जनतालाई सुसूचित र सङ्गठित नगरिकन परिवर्तन सम्भव छैन । निर्वाचन जनतालाई सचेत पार्ने एक माध्यम हो । लाखौँ जनतालाई सुसूचित पार्ने दबु निर्वाचनमा सिद्धान्त र विचारै नमिलेका दलहरूसँग तालमेल गरेर कम्युनिस्ट या अन्य दलहरूको सिद्धान्त कसरी प्रचार हुन्छ ? कसरी जनताको घर–आँगनमा पुग्छ ? देशका सत्तासीन कम्युनिस्ट पार्टीहरू किन गलत दिशामा गइरहेका छन् भन्नेबारे कम्युनिस्ट पार्टीका सदस्य र शुभचिन्तकहरू चिन्ता व्यक्त गर्दै छन् ।
एमालेले कहिले पनि निर्वाचनमा कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेन, माओवादी केन्द्रले पनि प्रचार गरेन । पार्टीको उद्देश्य आमूल परिवर्तन राख्ने ती कम्युनिस्ट भनिने दलले किन कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेनन् ? रहस्यको विषय छ । स्पष्ट छ, ती दलहरू सच्चा कम्युनिस्ट होइनन् । उनीहरू जसरी भए पनि निर्वाचन जित्न चाहन्छन्, निर्वाचनमा जित्नुलाई उनीहरू आफूलाई सही र सच्चाइ ठान्छन् । उनीहरू समाज परिवर्तनको मतलबै राख्दैनन् । अबको स्थानीय तहको निर्वाचनमा हुन लागेको सिद्धान्तहीन गठबन्धनले यही सङ्केत गर्दै छ । हरेक निर्वाचनमा अवसर छोपेर कहिले कोसँग कहिले कोसँग गठबन्धन या तालमेल गरेर जित्दैमा के देशमा आमूल परिवर्तन हुन्छ ? के जनतामाझ सही विचार पुग्छ ?
हुन त कम्युनिस्ट भनिने सत्तासीन र ठूला दलका नेताहरूले मुलुकमा ५० वर्ष कम्युनिस्ट पार्टीले शासन गर्ने बताएका थिए । उनीहरूले नै समाजवाद र कम्युनिस्ट शासन गर्ने समय होइन भन्दै अरू कम्युनिस्ट पार्टीलाई बेमौसमको बाजा नबजाउन पनि सुझाए । ती नेताहरू सिद्धान्त र विचारअनुसार अघि नबढेको हुँदा कहाँ कसले के बोले कुनै ठेगान छैन । उनीहरू कहिले कम्युनिस्ट शासन परको कुरा हो भन्थे त कहिले कम्युनिस्ट शासन लामो समय चल्ने भन्दै द्वैधचरित्र बोके । यसले तिनीहरूको विचारमा अडान नभएको थाहा हुन्छ । अहिले पनि एमालेले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता र माओवादी र एकीकृत समाजवादीका नेताले एमालेका नेताहरूलाई हिलो छ्याप्दै छन् । सिद्धान्त र विचारको ख्यालै नगरी एकले अर्कोलाई हिलो छ्यापेर जनता कसरी सचेत तथा सङ्गठित हुन्छन् र देशमा कसरी परिवर्तन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *