भर्खरै :

के पुँजीवादी देशमा मात्रै प्रजातन्त्र र दलहरू हुन्छन् ?

केही पुँजीवादी नेता र लेखकहरू पुँजीवादी देशहरूमा मात्रै प्रजातन्त्र हुन्छ र समाजवादी देशहरूमा प्रजातन्त्र हुँदैन भन्ने प्रचार गर्ने गर्छन् । तिनीहरूको भनाइमा समाजवादी वा कम्युनिस्ट देशहरूमा कम्युनिस्ट पार्टीको एकदलीय शासन हुन्छ, त्यहाँ अरू राजनैतिक पार्टीहरू कानुनी हुँदैन र बहुदलवादी व्यवस्थाको अभावमा प्रजातन्त्र रहँदैन, कम्युनिस्ट देशका नेताहरूको आलोचना गर्न पाइँदैन र नमरेसम्म एउटै नेता, राष्ट्रपति वा प्रधानमन्त्री भइरहन्छ आदि । पुँजीवादी नेता र लेखकहरूका ती समझदारी र लाञ्छनाहरू के कति सही छन्् छलफल गर्नु वा जाँचबुझ गर्नु आवश्यक छ ।
बेलायत, संरा अमेरिका, फ्रान्स, पश्चिम जर्मनी, जापान, भारत आदि संसदीय प्रजातन्त्रका उदाहरणहरू मानिन्छन्् । ती देशहरूमा बहुदलीय व्यवस्था छ । तर, कुनै देशमा प्रजातन्त्र छ वा छैन भनी हेर्ने मापदण्ड नै बहुदलीय व्यवस्थालाई मान्ने हो भने चीन र पूर्वी जर्मनी वा जर्मन जनवादी प्रजातन्त्रले त्यस समझदारीलाई अस्वीकार गर्छ ।
जनवादी गणतन्त्र चीनमा कम्युनिस्ट पार्टीबाहेक अन्य ८ वटा राजनैतिक पार्टीहरू छन् । १९७९ को ११ देखि २२ अक्टोबरसम्म पेचिङ्गमा ८ वटा प्रजातान्त्रिक पार्टी र उद्योगपति तथा व्यापारीहरूको राष्ट्रिय सङ्घको धुमधामसँग महाअधिवेशन भएको सबैलाई थाहै छ । त्यस महाअधिवेशनमा (एक) कोमिन्ताङ क्रान्तिकारी समिति, (दुई) प्रजातान्त्रिक दल, (तीन) प्रजातान्त्रिक निर्माण सङ्घ, (चार) प्रजातन्त्र उत्थान सङ्घ, (पाँच) किसान मजदुर प्रजातान्त्रिक सङ्घ, (छ) चिकाङ ताङ्ग दल, (सात) च्युसान समाज र (आठ) ताइवान प्रजातान्त्रिक स्वशासन दलले भाग लिएका थिए । त्यस्तै जर्मनी जनवादी गणतन्त्र या पूर्वी जर्मनीमा पनि ५ वटा राजनैतिक पार्टीहरू छन् । तिनीहरूका नाम हुन्– (एक) समाजवादी एकता पार्टी, (दुई) जनतान्त्रिक किसान पार्टी, (तीन) क्रिश्चियन युनियन, (चार) उदारवादी जनतान्त्रिक पार्टी र (पाँच) राष्ट्रिय जनतान्त्रिक पार्टी । समाजवादी एकता पार्टी त्यहाँको सबभन्दा शक्तिशाली पार्टी हो । सन् १९४६ मा कम्युनिस्ट पार्टी र समाजवादी पार्टी मिलेर समाजवादी एकता पार्टी बनेको थियो । समाजवादी एकता पार्टी त्यहाँको सबभन्दा बलियो र शासक पार्टी हो । तर, अन्य ४ वटा राजनैतिक पार्टीहरू पनि जर्मन जनवादी गणतन्त्रको संसद् र सरकारमा सम्मिलित छन् । ती पार्टीहरूले पनि आ–आफ्नै वर्ग र पेशाको प्रतिनिधित्व गर्छन् ।
समाजवादी एकता पार्टी पूर्वी जर्मनीको सबभन्दा ठूलो मजदुर वर्गको पार्टी हो । किसान जनतान्त्रिक पार्टीले खास गरेर खेती र खेतीबाट बन्ने खाद्य वस्तुका उद्योगका मजदुरहरूको प्रतिनिधित्व गर्छ । क्रिश्चियन जनतान्त्रिक पार्टीले इसाई वा क्राइस्टेली धर्मालम्बीहरूको पक्ष लिन्छ । उदारवादी जनतान्त्रिक पार्टी र राष्ट्रिय जनतान्त्रिक पार्टीले पसलेहरू, प्राविधिक मजदुरहरू, अफिस कर्मचारीहरू र सांस्कृतिक तथा बौद्धिक क्षेत्रका मजदुरहरूको प्रतिनिधित्व गर्छन् ।
संसदीय प्रजातन्त्र भनिने पुँजीवादी देशहरूमा पनि सुरुमा हरेक राजनैतिक पार्टीले आ–आफ्नो वर्गको प्रतिनिधित्व गर्दथ्यो ।
बेलायती टोरी वा अनुदार पार्टीले राजा र सामन्ती शोषक वर्गको प्रतिनिधित्व गर्दथ्यो भने ह्वीग वा उदार पार्टीले संसद् र पुँजीपति वा व्यापारीहरूको प्रतिनिधित्व गर्दथ्यो । त्यस्तै संरा अमेरिकाको डेमोक्रेटिक पार्टीले दास मालिक, जग्गा धनी र पुँजीपति वर्गको प्रतिनिधित्व गर्दथ्यो भने रिपब्लिकन पार्टीले व्यापारी, उद्योगपति र बैङ्कपतिहरूको प्रतिनिधित्व गर्दथ्यो । तर, समय बदल्दै गएपछि बेलायतको अनुदार र श्रमिक पार्टीहरूजस्तै पश्चिम जर्मनी र जापानका पुँजीवादी पार्टीहरूको माझमा खास मौलिक भिन्नता बाँकी रहेन । भारतमा पनि भारतीय राष्ट्रिय काङ्ग्रेसले जमिनदार, व्यापारी र पुँजीपति वर्गको प्रतिनिधित्व गर्छ भने भारतीय जनता पार्टी र जन सङ्घले पनि पुँजीपति वर्ग, व्यापारी र पुराना राजा, महाराजा सामन्त वर्गको प्रतिनिधित्व गर्छ । कम्युनिस्ट पार्टीले मजदुर, किसान र श्रमिक जनताको प्रतिनिधित्व गर्दछ ।
पुँजीवादी नेता र लेखकहरू समाजवादी वा कम्युनिस्ट देशहरूमा एकदलीय शासन हुन्छ, त्यहाँ अरू कुनै राजनैतिक पार्टीहरूको अस्तित्व जेलमा मात्रै हुन्छ वा एकदलीय शासन हुन्छ वा सर्वहारा वर्गको तानाशाही हुन्छ भन्ने गर्छन् ।
हुन त शासन चलाउनुको अर्थ नै हुकुम वा तानाशाही चलाउनु हो । पुँजीवादी देशका उदार र अनुदार, गणतान्त्रिक वा रिपब्लिकन, काङ्ग्रेस वा जनता पार्टीले कामदार वर्गमाथि हुकुम चलाएकै हुन्छ । त्यसैलाई पुँजीवादी तानाशाही मानिन्छ । जहाँसम्म एउटै दलको शासनको कुरा हो, बेलायतमा दुईदलीय व्यवस्था छ । तापनि, वर्गीयरूपले एउटै पार्टीको शासन हो किनभने बेलायतमा सन् १६८८ देखि १७८३ सम्म अर्थात् ९५ वर्षसम्म टोरी र ह्वीगको शासन चल्यो । तर, मौलिक विषयमा ती दुवै पार्टीको कुनै मतभेद छैन । अन्य पार्टीहरू तिनीहरूकै केटा वा केटी हुने गर्छन् । यसकारण, एक लेखक भन्छन्–
विधिको यो कस्तो विधान
जन्मने हरेक केटा वा केटी
बाँच्ने यस संसारमा ती
हुनेछन् सानो उदार
वा एक सानी अनुदार ।
बेलायतमा अरू पनि केही स–साना पार्टी छन् तर तिनीहरूको कुनै हस्ती छैन । सन् १९२३ देखि उदार पार्टीको ठाउँ श्रमिक पार्टीले लियो । तर, बेलायतको राजनैतिक जीवनमा कुनै मौलिक परिवर्तन आएन ।
त्यस्तै संरा अमेरिकाको गणतान्त्रिक र प्रजातान्त्रिक पार्टी पनि शोषक वर्गकै पार्टी हुन् । तिनीहरू पालैपालो जनतामाथि हुकुम चलाउँछन् । यसकारण, गणतान्त्रिक र प्रजातान्त्रिक पार्टी अमेरिकी पुँजीपति वर्गको दायाँ र बायाँ हात हुन् । अन्य स–साना पार्टीको कुनै प्रभाव छैन । यस अर्थमा पुँजीवादी संसदीय देशहरूमा एउटै वर्ग र पार्टीको तानाशाही चल्छ । भारतमा पनि स्वतन्त्रताको ४० वर्षसम्म झन्डै (जनता पार्टीको अल्प अवधिबाहेक) काङ्ग्रेस पार्टीको हुकुम चलेको थियो । यसकारण, अन्य पार्टीहरू भए पनि भारत एकदलीय देश भनेमा अत्युक्ति हुनेछैन ।
यसप्रकार पुँजीवादी नेता वा लेखकहरूले समाजवादी वा कम्युनिस्ट देशमाथि लगाएको ‘एकदलीय तानाशाही’ वा ‘प्रजातन्त्रको अभाव’ भन्नु वर्गीय र व्यवहारिकरूपले पनि असत्य सावित हुन्छ । साथै कम्युनिस्ट देशमा सत्तामा बसेका नेताहरूको आलोचना हुन्न र आजीवन एउटै नेता राष्ट्रपति वा प्रधानमन्त्री हुन्छ भन्ने भनाइ पनि गलत सावित हुन्छ ।
संसारको पहिलो समाजवादी देश रुसमा लेनिनकै विरोध भएको थियो । लेनिनलाई विरोधीहरूले नै गोली हानेका थिए । स्तालिनको पनि कम विरोध भएको थिएन । ख्रुश्चेभ पार्टीको जनरल सेक्रेटरी र प्रधानमन्त्री हुँदै अपदस्थ भएका थिए । जनवादी गणतन्त्र चीनका पहिलो राष्ट्रपति माओ त्सेतुङ हुनुहुन्थ्यो । दोस्रो राष्ट्रपति ल्यू शाओ चीलाई सत्तामा हुँदै आलोचना, विरोध र अपदस्थ गरिएको थियो । पार्टी अध्यक्ष र प्रधानमन्त्री ह्वा कोफेङले पनि विरोधको सामना गर्नुप¥यो र उनी आफ्नो पदबाट हटाइए । पोल्यान्डका मजदुर वर्गले पनि त्यहाँको सरकारलाई आलोचना र विरोध गरेका छन् । त्यस्तै पूर्वी युरोपका अनेक देशका नेताहरू हेरफेर भइरहेकै छन् । बेलायत र संरा अमेरिकाका कति नेताहरूले १०–१५ वर्षसम्म शासन गरे र गर्दै छन् । स्वतन्त्रतापछि भारतमा नेहरू जीवनको अन्त्यसम्म प्रधानमन्त्री नै रहे । तर, सबैलाई थाहा छ, भारत कम्युनिस्ट वा समाजवादी देश होइन । यसकारण, पुँजीवादी देशमा बहुदलीय, दुईदलीय, एकदलीय र निर्दलीय ‘प्रजातन्त्र’ वर्गीयरूपले फरक देखिन्न, तर राजनैतिकरूपले भिन्न अवश्य देखिन्छ ।
स्रोतः समाजवाद र सान्दर्भिक विषयवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *