भर्खरै :

छायाँदेवी कम्प्लेक्सको आइपीओ निष्काशन नगर्न पीडितको आग्रह

काठमाडौँ, १५ चैत । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएको छायाँदेवी कम्प्लेक्स प्रालिले सर्वसाधारणलाई बिक्री गर्न आइपीओ निष्काशन गर्न लागेको विरोधमा पीडितहरूले नेपाल धितोपत्र बोर्डमा रोक्का गर्न निवेदन दिएका छन् ।
“छायाँदेवी कम्प्लेक्स प्रा.लि.को आईपीओ निष्काशनसम्बन्धी यस कार्यालयबाट निर्णय भई प्रभु क्यापिटल लि.ले सर्वसाधारणलाई वितरण गर्ने सम्बन्धमा उक्त छायाँदेवी कम्प्लेक्स प्रा.लि. र प्रभु क्यापिटल लि. (प्रकाशित सूचनाअनुसार) बीच चैत ६ गते सम्झौता भइसकेको भन्ने समाचार आएको थियो । यस्तो कार्यले सर्वसाधारण जो कोहीलाई झुक्याउने मुद्दा मामिलाजस्तो झमेलामा अनावश्यकरूपमा फसाउने खालको काम कारबाही हुन जाने प्रस्ट छ । यस्तो विवादित विषयवस्तुमा नेपाल धितोपत्र बोर्डजस्तो सम्मानित संस्थाको छविमा समेत आँच आउने भएकोले सो कार्य नगर्न र नगराउन पीडितहरूले ध्यानाकर्षण गरेका छन् । यस्तो कार्य हुँँदै गएमा समुदाय र शेयर निष्काशन गर्ने सङ्घ–संस्थाबीच असमझदारी तथा द्वन्द्व सृजना हुने भएकोले सो विषयमा गम्भीर भएर सोचिदिन आग्रह गर्दछौँ”, धितोपत्र बोर्डमा बुझाइएको निवेदनमा उल्लेख छ ।
पीडितको तर्फबाट अनिल प्रधान, राजवीर डंगोल र भगवत नरसिंह प्रधानले धितोपत्र बोर्डमा आइपीओ निष्काशन सूचना रोक्का गर्न निवेदन दिनुभएको हो । विवादास्पद छायाँदेवी कम्प्लेक्स सम्बन्धमा सर्वोच्च अदालतमा हाल १२ वटा मुद्दा विचाराधीन छन् ।
निवेदकहरूले सर्वसाधारणलाई पछि हुनसक्ने ठूलो नोक्सानलाई मध्यनजर गरी धितोपत्र बोर्ड कार्यालयबाट आईपीओ निष्काशन भएको भए निर्णय खारेज गर्न वा हाललाई छायाँदेवी कम्प्लेक्स प्रा.लि.को आईपीओ निष्काशन तथा वितरण गर्ने कार्य तत्काल रोकी छायाँदेवी कम्प्लेक्स प्रा.लि. र प्रभु क्यापिटल लि. बीच सम्झौताबमोजिमको कुनै काम नगर्न नगराउन छायाँदेवीलाई आग्रह गर्नुभएको छ । कम्पनी रेजिस्टार कार्यालय र प्रभु क्यापिटल लिमिटेडलाई पनि सो पत्र बोधार्थ बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *