भर्खरै :

दर्शनमा माओको देन

कामरेड माओ त्सेतुङ महान् माक्र्सवादी–लेनिनवादी–क्रान्तिकारी मात्र नभई एक महान् दार्शनिक पनि हुनुहुन्थ्यो । छोटो लेखमा दर्शनको क्षेत्रमा माओका सबै योगदानको चर्चा गर्न सम्भव छैन । म यहाँ माओको दर्शनका एकाध आधारभूत पक्षको चर्चा गर्ने कोसिस गर्छु ।
अन्तरविरोधबारे
‘अन्तरविरोधबारे’ माओको प्रमुख दार्शनिक रचना हो । यसमा उहाँले मानिस र पदार्थमा हुने अन्तरविरोधको सर्वव्यापकताबारे चर्चा गर्नुभएको छ । साथै, विकास कसरी विद्यमान अन्तरविरोधहरूबीचको टकरावको फलअनुरूप हुँदै जान्छ भन्ने देखाउनुभएको छ । यस निबन्धको पहिलो वाक्य भन्छ, “वस्तुमा ‘अन्तरविरोधको नियम’ अर्थात् विपरीतहरूको एकता भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो ।” यो निकै गहिरो कथन हो ।
यस नियमको सामान्य अर्थ हो, गति पदार्थका हरेक रूपमा निहीत हुन्छ । त्यो गति अर्थात् विकास सदा विद्यमान अन्तरविरोधहरूको विकास र टकरावको फल हुन्छ । अझ हरेक अन्तरविरोधका फरकफरक पक्षहरूबीच सङ्घर्ष हुन्छ । अन्तरविरोधहरू हुर्किने प्रक्रियामा एउटा वस्तु वा परिघटना आफ्नो उल्टो स्वरूपमा फेरिन्छ । यसरी कामरेड माओले एकै वाक्यमा भौतिकवादी द्वन्द्ववादको आधारभूत नियमको व्याख्या गर्नुभएको छ ।
वैज्ञानिक समाजवादका एकजना निर्माता एँगेल्सको अत्यन्त प्रसिद्ध रचना ‘ड्यूहरिङको खण्डन’ मा माक्र्सवादी द्वन्द्ववादको सबैभन्दा व्यवस्थित व्याख्या पाइन्छ । यो निकै महत्वपूर्ण पुस्तक हो किनभने ड्यूरिङले फैलाएका सबै प्रकारका अफवाहलाई यसले खण्डन ग¥यो । ‘अन्तरविरोधको नियम’ लाई अस्वीकार गर्नु ड्यूरिङको सबैभन्दा ठूलो गल्ती थियो । उनको विचारमा अन्तरविरोधहरू कृत्रिम हुन्छन् ।
एँगेल्सले ड्यूरिङको विस्तृत आलोचना गर्नुभयो र उनका गलत सिद्धान्तहरू अस्वीकार गर्नुभयो । उहाँले ‘अन्तरविरोधको नियम’ भौतिक जगतको वस्तुगत नियम भएको तथ्य स्थापित गर्नुभयो । उहाँले गति नै अन्तरविरोध हो भन्नुभयो । यसको अर्थ हो निहित अन्तरविरोधका कारण वस्तुहरू गतिशील र विकासशील छन् । र ‘अन्तरविरोधको नियम’ भनेको ‘विपरितहरूको एकताको नियम’ हो ।
हेगेलले आफ्नो पुस्तक ‘तर्कको विज्ञान’ मा लेखेका छन् द्वन्द्ववादका तीन आधारभूत नियम छन् । ती हुन्,
१) गुणात्मक र मात्रात्मक परिवर्तनको आलोपालोको नियम ।
२) ‘विपरीतहरूको एकताको नियम’
३) निषेधको निषेध नियम ।
हेगेलले अघि सारेका द्वन्द्ववादका तीन नियम यिनै हुन् । माक्र्स र एँगेल्सले यी नियमलाई मान्यता दिनुभयो र अझ पुष्ट बनाउनुभयो तर तिनको क्रम भने उल्टाउनुभयो । हेगेलले यी नियमलाई वस्तुगत द्वन्द्ववादको रूपमा नभई मनोगत द्वन्द्ववादको रूपमा प्रस्तुत गरे । उनले यी नियमलाई अन्तरनिहीत चीज मानेनन् । बरु मानिसका विचारहरू अर्थात् मानिसको चिन्तनको तार्किकता निर्धारित गर्ने नियमको रूपमा मात्र लिए । अर्को शब्दमा हेगेलले द्वन्द्ववादलाई आदर्शवादको कोणबाट विवेचना गरे ।
जबकि, माक्र्स र एँगेल्सको विचारमा ‘अन्तरविरोधको नियम’ अर्थात् ‘विपरीतहरूको एकताको नियम’ वस्तुगत यथार्थमा निहित थियो । त्यसैगरी, अन्तरविरोधहरूबारे मान्छेको ज्ञान खासमा मानिसको चिन्तनमा वस्तुगत नियमको प्रतिविम्ब मात्र हो । त्यसैले, माक्र्स र एँगेल्सले हेगेललाई व्यङ्ग्य गर्नुभयो र उनले सत्यलाई टाउकोको भरमा उभ्याएका थिए भनी औँलाउनुभएको थियो ।
माक्र्स र एँगेल्सले यो स्थितिलाई उल्टाइदिनुभयो र वस्तुगत यथार्थमा द्वन्द्ववादका नियमहरू अन्तरनिहीत हुन्छन् भनी पहिल्याउनुभयो । यो कुरा एँगेल्सले ‘ड्यूहरिङको खण्डन’ र ‘प्रकृतिमा द्वन्द्ववाद’ नामक दुई रचनामा छर्लङ्ग पार्नुभयो ।
लेनिनको समयमा यी तीन नियममध्ये कुनचाहिँ सर्वथा आधारभूत हो भनी प्रश्न उठ्यो । कामरेड माओ त्सेतुङले लेनिनको लेख ‘द्वन्द्ववादको प्रश्नमा’ को चर्चा गर्दै यसमा “लेनिनले अक्सर ‘अन्तरविरोधको नियम’ लाई द्वन्द्ववादको सार भन्नुभएको” कुरा औँलाउनुभयो ।
लेनिनले यो नियमलाई द्वन्द्ववादको गुदी भने तापनि यस गुदी र द्वन्द्ववादका अन्य दुई नियमबीचको सम्बन्धको बारेमा पर्याप्त व्याख्या गर्न पुग्दो आयु बाँच्न पाउनुभएन ।
पछि सोभियत सङ्घका दार्शनिकहरूले यी तीन नियमलाई फरकफरक क्रममा राखे । सन् १९३८ मा प्रकाशित ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको सङ्क्षिप्त इतिहास’ मा स्तालिनले ‘विपरीतहरूको एकताको नियम’ लाई पहिलो स्थानमा राख्नुपर्ने ठाउँमा पुछारमा राख्नुभयो ।
कामरेड माओले माक्र्सवादी–लेनिनवादी द्वन्द्ववादका नियमको व्यवस्थित अध्ययन गर्नुभयो र लेनिनको थेसिसलाई विकसित गर्नुभयो, आफ्नो रचना ‘जनताबीचका अन्तरविरोधलाई कसरी हल गर्ने’ मा ।
यस रचनामा माओले शत्रु र हामीबीचका अन्तरविरोधहरूको हल कसरी गर्ने नभई जनताबीचकै अन्तरविरोधहरू कसरी हल गर्ने भनी चर्चा गर्नुभयो । उहाँले फरकफरक प्रकृतिका अन्तरविरोधलाई एकअर्कामा कसरी फेर्न सकिन्छ भन्ने सिद्धान्तमाथि प्रकाश पार्नुभयो । साथै, उहाँले अन्तरविरोधका नियमको प्रयोग गरेर पार्टीभित्रका फरक विचार र दृष्टिकोणबीचको सङ्घर्षको सामना गर्ने तरिकाबारे व्याख्या गर्नुभयो ।
माओले आफ्नो निबन्ध ‘अन्तरविरोधबारे’ मा लेख्नुभएको छ, “पार्टीमा फरक किसिमका धारणाहरूबीच निरन्तर मतभेद र सङ्घर्ष चालु रहन्छ । यो सङ्घर्ष समाजका विभिन्न वर्ग एवम् नयाँ र पुरानोबीचका अन्तरविरोधहरूको छाप हो । पार्टीभित्र अन्तरविरोध हुन्छन् र यसलाई हल गर्न कुनै सैद्धान्तिक सङ्घर्ष हुँदैन भने पार्टीको जीवन समाप्त हुनेछ ।”
पहिलोचोटि माओले ‘अन्तरविरोधको नियम’ वा ‘विपरीतहरूको एकताको नियम’ लाई पार्टीभित्रका फरक विचारहरूबीचको मतभेद र सङ्घर्षको प्रश्न व्याख्या गर्न उपयोग गर्नुभएको थियो । यो माक्र्सवाद–लेनिनवादको सिर्जनशील विकास हो ।
वर्गसङ्घर्ष
के समाजवादी समाजमा वर्ग र वर्गसङ्घर्ष हुन्छ ? खासगरी उत्पादनका साधनको स्वामित्वमाथि समाजवादी रूपान्तरणको मुख्य काम सम्पन्न भइसकेपछि पनि यस्तो हुन्छ ? के समाजका सारा वर्गसङ्घर्ष त्यसपछि पनि राजनीतिक सत्ताको निम्ति हुने हानथापको प्रश्नवरिपरि केन्द्रित हुन्छन् ? सर्वहारा वर्गको हुकुमका अवस्थाअन्तर्गत पनि के क्रान्ति गरिनुपर्छ ? कसको विरोधमा क्रान्ति गर्ने ? अनि कसरी क्रान्ति गर्ने ?
माओले केही प्रश्न पहिलोचोटि उठाउनुभयो । माक्र्स र एँगेल्सले आफ्नो समयमा यी शृङ्खलाबद्ध मुख्य सैद्धान्तिक समस्यालाई सायद हल गर्न सक्नुहुन्नथ्यो । सर्वहारा वर्गले सत्ता खोसेपछि लेनिनले देख्नुभयो, पराजित पँुजीपति वर्ग सर्वहारा वर्गभन्दा बलियो रहिरह्यो र सत्ता फिर्ता लिन खोजिरह्यो । त्यसैबेला साना उत्पादकहरूले लगातार पँुजीवाद र नयाँ पँुजीपति वर्गको निर्माण गरिरहेका थिए । यसले सर्वहारा वर्गको हुकुमउपर खतरा आइलाग्यो । यो प्रतिक्रान्तिकारी खतराको सामना गर्न र त्यसमाथि विजयी हुन सर्वहारा वर्गको हुकुमलाई लामो समयसम्म बलियो बनाइराख्नु अपरिहार्य हुन गयो । अर्को बाटो थिएन । तैपनि लेनिन यी समस्या सुल्झाउनुभन्दा अघि नै बित्नुभयो ।
स्तालिनले सोभियत सङ्घमा सर्वहारा वर्गको हुकुमलाई सुदृढ तुल्याउनुभयो, यसको रक्षा गर्नुभयो । तर, सैद्धान्तिकरूपमा उहाँ कहाँ चुक्नुभयो भने उहाँले सर्वहारा हुकुमको लामो ऐतिहासिक अवधिभरि समाजमा वर्ग र वर्गसङ्घर्ष रहिरहन्छ र क्रान्तिमा कसको जित हुनेछ भन्ने विषयको टुङ्गो लागेको छैन भन्ने कुरा सिद्धान्तको तहमा ठम्यानुभएन । अर्को शब्दमा यी सबै विषयलाई राम्ररी हल नगरेको खण्डमा पूँजीपति वर्गले फेरि शिर उठाउने सम्भावना थियो । तैपनि मृत्युभन्दा वर्षदिन अघि स्तालिनले आफ्नो अन्तिम रचना ‘सोभियत सङ्घको अर्थतन्त्रका केही समस्या’ मा स्तालिनले आफूलाई सच्चाउनुभयो ।
कामरेड माओले सोभियत सङ्घका सबै ऐतिहासिक अनुभवप्रति ध्यान दिनुभयो । त्यहाँ संशोधनवादीहरूले सत्ता हत्याएर पँुजीवादको पुनःस्थापना गर्न अग्रसर थिए । त्यो तीतो अनुभवतिर सबै माक्र्सवादी–लेनिनवादीले गम्भीर ध्यान दिन जरुरी थियो । ती अनुभवहरूको अध्ययनपछि नै कामरेड माओले पहिल्याउनुभयो, समाजवादी समाज र सर्वहारा हुकुममा समेत विभिन्न रूपमा वर्ग र वर्गसङ्घर्ष कायम रहन्छन् । साथै, कामदार वर्गले राज्यसत्ता हत्याउनु त सुरुआत मात्र हो भन्ने उहाँको विश्वास थियो । माओले सोभियत सङ्घ, चीन र अन्य देशका क्रान्तिको विश्लेषण गरी सार खिच्नुभयो । साथै, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने ऐतिहासिक कालखण्डभरि वर्ग र वर्गसङ्घर्ष कायम रहन्छन् तथा पँुजीवादको पुनःस्थापना र सर्वहारा हुकुमलाई पराजित गर्ने र ध्वस्त पार्ने खतरा रहिरहन्छ भन्ने उहाँको निष्कर्ष थियो । यो निष्कर्ष माक्र्सवाद–लेनिनवादको भण्डारमा कामरेड माओले दिनुभएको अर्को विशिष्ट योगदान थियो ।
सर्वहारा हुकममा पनि कामदार वर्गले आफूबीच लुकिबसेका वर्गशत्रुहरूको विरोधमा कसरी वर्गसङ्घर्षको अगुवाइ गर्ने सिक्नुपर्छ, माओले सोच्नुभयो । व्यक्तिगतरूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी र अगुवाइ गरेर माओले यस्तो गर्न सकिन्छ भनी देखाइदिनुभयो । सांस्कृतिक क्रान्ति यस अर्थमा माओले नेतृत्व गरेको क्रान्तिकारी शक्ति र ल्यू शाओचीले नेतृत्व गरेको मुठ्ठीभर फटाहा र विश्वासघातीहरूबीचको महान् वर्गसङ्घर्ष थियो । ती धोकेबाजहरूले आफूलाई साम्राज्यवादी र प्रतिक्रियावादीहरूको सेवामा बेचेका थिए र आधुनिक संशोधनवादीहरूले शासन गरेका सोभियत सङ्घ र अन्य देशमा जस्तै चीनलाई पुनः पँुजीवादको पुनः स्थापनाको बाटोमा हिँडाउन चाहन्थे ।
पँुजीवादी मतियारहरूको वर्गीय आधार
समाजवादी राज्यमा कसरी पँुजीवादी मतियारहरू निस्कन्छन् ? उनीहरूको वर्गीय आधार के हो ? लेनिनले भन्नुभयो, “सानो उत्पादनले निरन्तर, दैनिक, घण्टाघण्टामा, स्वतस्फूर्त तवरले ठूलो मात्रामा पँुजीवाद र पँुजीपतिहरू पैदा गर्छ ।” माओले व्याख्या गर्नुभयो– “तिनीहरू कामदार वर्ग र पार्टी सदस्यहरूबीच पनि पैदा हुन्छन् साथै सर्वहाराको पङ्क्ति, राज्यका अधिकारीहरू र अन्य जनवर्गीय सङ्गठनबीच पैदा हुन्छन् । तिनीहरूले पँुजीवादी जीवनशैली अपनाउँछन् ।”
विद्यमान पँुजीवादी प्रभाव र अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र संशोधनवादको प्रभाव नै नयाँ पँुजीवादी तत्वका राजनीतिक एवम् वैचारिक स्रोतहरू हुन् । र, पँुजीवादी अधिकारको उपस्थितिले तिनीहरू उकासिने महत्वपूर्ण आर्थिक जग उपलब्ध गराउँछ ।
लेनिनले भन्नुभयो, “कम्युनिस्ट समाज अर्थात् समाजवादको पहिलो चरणमा पँुजीवादी अधिकार पूर्णरूपले उन्मूलन गरिन्न । बरु आंशिक रूपमा, त्यसबेलासम्म गरिएको आर्थिक क्रान्तिको अनुपातमा अर्थात् उत्पादनका साधनहरूको आधारमा मात्र तिनको उन्मूलन गरिन्छ । जेहोस्, जहाँसम्म यसको अर्को पाटोको सवाल छ त्यो रहिरहन्छ र उत्पादनहरूको वितरण तथा समाजका सदस्यहरूबीच श्रमको बाँडफाँटमा नियमक (निर्धारक तत्व) को सामथ्र्यमा त्यो रहिरहन्छ । समाजवादी सिद्धान्तमा ‘काम नगर्नेले खान नपाउने’ पहिल्यै व्यवहारमा ल्याइयो । अर्को समाजवादी सिद्धान्त, ‘श्रमअनुसार मालसामान’ पनि लागु गरियो । तर, यत्ति पनि साम्यवाद होइन । यसले अझैपनि ‘पँुजीवादी अधिकार’ उन्मूलन गर्न सकेको छैन । यस अधिकारले असमान व्यक्तिलाई असमान (वास्तवमै असमान) श्रमको बदलामा बराबर मालसामान दिन्छ ।”
माओले औँल्याउनुभएको छ, “चीन एक समाजवादी देश हो । स्वतन्त्र हुनुभन्दा पहिले यो पँुजीवादी मुलुकजस्तै थियो । अहिले पनि यहाँ आठघण्टे ज्यालाको व्यवस्था छ, कामअनुसार वितरण छ र पैसाको माध्यमबाट विनिमय हुन्छ । यी सबै कुरामा यो पुरानो समाजभन्दा अलिकति मात्र भिन्न छ । फरक यत्ति हो स्वामित्वको परिपाटी फेरिएको छ ।” माओले व्याख्या गर्नुभएको छ, यस्तो अवस्थामा पँुजीवादको पुनःस्थापना सम्भव छ किनभने पँुजीवादी अधिकारमा रोकतोक लगाइएको छ तर उन्मूलन गरिएको छैन ।
यस विषयमा माओका विचारलाई उनका अनुयायी याओ वेन युनले आफ्नो लेख ‘पार्टीविरोधी लिन प्याओ गुटको सामाजिक आधारबारे’ सविस्तार लेखेका छन् । उनले भनेका छन्, “समाजवादी देशमा हामीकहाँ अझैपनि दुई किसिमका समाजवादी स्वामित्व छन् । सारा जनताको स्वामित्व र सामूहिक स्वामित्व । यसले अहिलेको माल व्यवस्थाको हाम्रो अभ्यास निर्धारित गर्छ । लेनिन र अध्यक्ष माओको विश्लेषण दुवैले हामीलाई के बताउँछ भने समाजवादी व्यवस्थामा वितरण र विनिमयमा अनिवार्यरूपमा रहने पँुजीवादी अधिकार सर्वहारा हुकुममा निषेध गरिनुपर्छ ताकि समाजवादी क्रान्तिको लामो अवधिमा मजदुर र किसान, गाउँ र सहर, शारीरिक र मानसिक श्रम यी तीनथरी मुख्य भेदलाई बिस्तारै कम गर्दै लगिन्छ, त्यसैगरी विभिन्न सामाजिक तहबीचको भेद पनि साँघुराउँदै लगिन्छ जसले गर्दा यी सबै दूरी हटाउन भौतिक र सैद्धान्तिक अवस्थाहरू बिस्तारै सिर्जना हुँदै जान्छन् । हामीले यस्तो नगरेर पँुजीवादी अधिकार र यसले निम्त्याउने आंशिक असमानताको सुदृढीकरण, विस्तार र सुगठन गर्न आह्वान ग¥यौँ भने यसको अनिवार्य परिणाम ध्रुवीकरण हुनेछ । अर्थात्, वितरणको मामिलामा, केही मानिसले अलिअलि वैध तरिकाबाट र धेरै अवैध तरिकाबाट बढ्दो मात्रामा माल र धनपैसा जम्मा गर्नेछन् । यसप्रकारको ‘भौतिक पहल’ बाट प्रेरित भएर भाग्य चम्काउने र व्यक्तिगत प्रसिद्धी हासिल गर्ने पँुजीवादी विचार अनियन्त्रितरूपले फैलिनेछ । सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्तिमा फेर्ने, सट्टाबाजी, आर्थिक हिनामिना, भ्रष्टाचार, चोरी एवम् घुसखोरीजस्ता परिघटना बढ्नेछन् । माल विनिमयको पँुजीवादी सिद्धान्त राजनीतिक र पार्टी जीवनमा समेत पस्नेछ र योजनाबद्ध समाजवादी अर्थतन्त्रलाई भित्रभित्र हानी पु¥याउनेछ । पँुजीवादी शोषणका रूपहरू जस्तै माल र मुद्राहरू पुँजीमा रूपान्तरण हुनेछन् तथा श्रमशक्ति मालमा रूपान्तरण हुनेछन् । अलिअलि गर्दै स्वामित्वको प्रकारमा फेरबदल आउनेछ र यसले संशोधनवादी लाइन लिनेछ । अनि, कामदार जनतामाथि दमन र शोषणका घटनाहरू फेरि बढ्नेछन् ।”
उनी थप व्याख्या गर्छन्, “लिन प्याओजस्ता व्यक्तिहरू सत्तामा आए भने पँुजीवादी व्यवस्था किन सजिलै फर्काउन सक्नेछन् ? किनभने, हाम्रो समाजवादी समाजमा वर्ग र वर्गसङ्घर्ष अझै ज्यूँकात्यूँ छन् । र, पँुजीवाद पैदा गर्ने माटो र अवस्थाहरू पनि जिउँदै छन् । यो माटो र अवस्थालाई बिस्तारै घटाउँदै निमिट्यान्न पार्न हामीले क्रान्तिलाई समाजवादी समाजमा निरन्तर चालु राख्नुपर्छ । अध्यक्ष माओको क्रान्तिकारी लाइनको मार्गनिर्देशनमा सर्वहारा वर्गलाई अग्रपङ्क्तिमा राखेर अनेकौँ पुस्तासम्म को कडा र अदम्य प्रयत्नपछि यो कार्य पूरा गर्न सकिन्छ ।”
यिनै क्षेत्रमा कामरेड माओ त्सेतुङले माक्र्सवादी दर्शनलाई नयाँ उचाइमा विकास गर्नुभयो । चीनमा सर्वहारा हुकुम स्थापना गरेर, समाजवादी निर्माणको समस्या हल गरेर र त्यसपछि सर्वहारा हुकुमभित्र कसरी क्रान्तिलाई जारी राख्ने भन्ने शृङ्खलाबद्ध प्रश्नहरू हल गरेर माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादलाई एकदम नयाँ चरणमा उठाउनुभएको छ ।
माक्र्सवाद पहिले लेनिनवादमा विकसित भयो र अहिले माओ त्सेतुङ विचारधारामा विकसित भएको छ ।
(यो लेख पहिलोपटक सन् १९८६ मा प्रकाशित भएको थियो । – अनु.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *