नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सत्यमोहन जोशीको जीवनीपरक कृति ‘सत्यमोहन’ को विशिष्ट विमोचन समारोहमा १०२ वर्ष टेक्नै लागेका सत्यमोहन जोशी आफै ठमठम हिँड्दै आएर पुस्तक विमोचन गरे । जोशीलाई केही मानिस उनको दीर्घायुको कारण आदर गर्छन् । एक पटक भीमरथारोहण भोगेका ज्येष्ठ नागरिकलाई नेपाली समाजमा भगवान्को कोटीमा राख्ने चलन छ । जोशी त तीन पटक त्यस्ता रथारोहण भोगिसकेका व्यक्ति । त्यसकारण उनीप्रति उमेरकै कारण पनि आदर गर्नेहरूका आधार पनि उति कमजोर भने होइन ।
तथापि, एक सय वर्षभन्दा बढी बाँचेका व्यक्तिहरू त संसार र नेपालमै पनि धेरै छन् । सत्यमोहनप्रतिको सम्मान दीर्घायुको कारण मात्र नभई उनले बिताएको सार्थक जीवनको लागि पनि हो ।
‘सत्यमोहन’ विमोचन कार्यक्रममा गायक अमृत गुरुङले पुस्तकबारे बोल्ने क्रममा पोडियमबाट तन आधा बाङ्गो पारेर पछिल्तिर दुवै हातका औँला एक अर्कामा सिउरेर ध्यानपूर्वक कुरा सुन्दै बसेका जोशीको अनुहारमा हेर्दै भनेका थिए,“होइन हौ दाइ ¤ कति मात्र काम गर्न सकेको ?”
सत्यमोहन जोशीको भोगाइलाई आफ्ना वाक्यमा उनेका पत्रकार एवम् लेखक गिरीश गिरीको कृति ‘सत्यमोहन’ पढेपछि धेरै पाठकलाई अमृत गुरुङलाई जस्तै लाग्ने ठोकुवासाथ भन्न सकिन्छ । अझ ‘सत्यमोहन’ मा पर्न नसकेका सत्यमोहनका कृतित्वका कुरा कति बाँकी होलान् !
एक शताब्दीभन्दा लामो समय संसार भोगेका सत्यमोहन जोशीका जीवनकथा एक जना व्यक्तिको आत्मकथनमा मात्र सीमित छैन । सम्पदा र पुरातत्वमा एउटा सिद्धान्त छ–एक सय वर्षभन्दा पुरानो कुनै पनि कुरा पुरातात्विक हुन् । मानिस पनि एक सय वर्ष बाँच्नु पुरातात्विक हुनु हो । त्यस अर्थमा सत्यमोहन आफै इतिहासको पुस्तक र धरोहर हुन् ।
९० सालको भूकम्प आउँदा महाराजगञ्जको चौरमा साथीसँगै खेल्दै गरेका सत्यमोहनले २०७२ सालको भूकम्प पनि झेले । यो लामो अवधिभित्र उनले एकाध त्यस्तै प्राकृतिक भूकम्पसँगै जीवनमा धेरै भूकम्पहरूसँगै यात्रा गरे । राणाकालमा धेरै पढेलेखेका मानिस औँलामा गन्न सकिन्थ्यो । त्रिचन्द्र कलेजको स्थापनापछि सर्वसाधारणका छोराहरूले पनि पढ्ने ढोका खुलेको थियो । तर, त्यही त्रिचन्द्र कलेजमा पढ्नेहरू पनि राणाकै वरपरका भातरदार र सेवकहरूका छोराहरू मात्र हुन्थे । (राणाकै छोरीहरूलाई पनि तिनताक पढाइन्नथ्यो ।) त्यस परिस्थितिमा अङ्ग्रेजीमा स्नातकोत्तर सकाएर मोहन शम्शेरका कान्छो छोरा विजय शम्शेर देश फर्के । अनि वाणिज्यशास्त्रमा एमकम सकाएर भीमबहादुर पाँडे पनि घर फर्के । देशको लागि के गरौँ भन्ने ती ‘धेरै पढेका’ युवाहरू सँगै बस्दा देशको विकास गर्न पहिला त देश चिन्नुपर्ने निधो गरे । देश चिन्ने भनेको देशको सही साँचो तथ्याङ्क जम्मा गर्नु थियो । पाँडे आफै लागेर नमुनास्वरूप काभ्रेपलाञ्चोक जिल्लाको तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यस्तै तथ्याङ्क देशैभरिबाट सङ्कलन गर्नुपर्ने तय भयो । राणाको चाकडीका भरमा जागिर पाइने र राणा रिसाएकै भरमा जागिर खोसिने जमानामा पहिलोपटक गोरखापत्रमा विज्ञापन प्रकाशित गरी तथ्याङ्क सङ्कलकको आवेदन माग गरियो । आईए पढ्दै गरेका सत्यमोहन जोशीले पनि आवेदन दिए । उनी परेनन् । तर, परेकामध्ये एकजनाले छोड्ने भएपछि उनले त्यो काम पाए ।
काठमाडौँ उपत्यकाका नेवार समुदायमा घर छोडेर ‘अनकन्टार’ ठाउँमा जागिर गर्न जाने चलन थिएन । काठमाडौँ उपत्यका आफै राजधानी हुनु, स्रोतसाधनले सम्पन्न हुनु र नेवारहरूको काठमाडौँ उपत्यकाभित्रै सीमित रहने सामाजिक सम्बन्धको कारण पनि कमै मात्र मानिस उपत्यकाबाहिर काममा जाने चलन थियो । तिब्बतसँगको व्यापार सम्बन्ध चुस्त हुञ्जेल उत्तर जाने गरेका नेवार समुदाय पनि समयान्तरमा यता र उताका विभिन्न राजनीतिक र आर्थिक परिवर्तनले निम्त्याएको परिस्थितिले आउजाउ पातलो बन्दै गयो । त्यस्तो परिस्थितिमा हुर्केका सत्यमोहन जोशी पाटनको घर छोडेर तनहुँ र लमजुङमा तथ्याङ्क सङ्कलनका निम्ति गए । औँलो रोग उन्मूलन भइसकेको थिएन । अहिलेका बाटाघाटा त फुर्तिला छैनन् । आठ दसकअघि कस्ता थिए होलान् । तथ्याङ्क सङ्कलनकै क्रममा तनहुँको एउटा गाउँमा औँलोले मरणासन्न भएर मृत्यु कुर्दै बसेको कथाबाट ‘सत्यमोहन’ आरम्भ हुन्छ । पाटने नेवारको छोरालाई विकट डाँडाकाँडा पहाड छिचोल्दै, गाउँघरको गोरेटो बाटो नाप्दै हिँड्नु सजिलो पक्कै थिएन । तर, त्यही चुनौतीले आजको सबैले सम्मान गर्ने सत्यमोहन जोशी बनाउने जग राख्दै थियो । बल्लबल्ल ज्यान जोगाएका सत्यमोहनले तनहुँ र लमजुङका गाउँमा बस्दा खाँदा सर्वसाधारणले विभिन्न बेला अवसरमा गुनगुनाउने, गाउने भाकाहरूको अध्ययन गरे । तिनै गीतबारे किताब लेखे । मदन पुरस्कार जिते । आफ्नै वरपरका सीमित मानिसबीच परिचित सत्यमोहनलाई आजको सत्यमोहन जोशी बनाउने ढोका खुल्दै गए ।
सत्यमोहनलाई समयले विभिन्न क्षेत्रमा डो¥याउँदै लग्यो । तथ्याङ्कको अध्ययनको क्रममा उनी न्युजिल्यान्ड पुगे । संयोगवश, त्यही सेरोफेरोमा न्युजिल्यान्डकै सर एडमन्ड हिलारी र तेञ्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । हिलारी न्युजिल्यान्डका नागरिक हुन् भन्ने जानकारीसमेत केही दिनअघि मात्र थाहा पाएका सत्यमोहन न्युजिल्यान्ड पुग्दा धुमधाम स्वागत भएछ, सञ्चारमाध्यमहरू उनलाई भेट्न ठेलमठेल गर्न थालेछन् ।
जोशीले पुरातत्व तथा संस्कृति विभागमा निर्देशकको जिम्मेवारी वहन गरे । चीनमा गएर नेपाली भाषा सिकाए । कर्णाली पुगेर त्यहाँको जनजीवन, संस्कृति र इतिहासको अध्ययन गरी पुस्तकको ठेली तयार पारे । समयको लयले जताजता डो¥याए पनि उनले हात हालेका क्षेत्रमा मिहीन ढङ्गले काम गरे । ‘सरकारी काम कहिले जाला घाम’ को पाराले काम गरेनन् । आफ्नो जिम्मेवारी क्षेत्रबारे उनले अध्ययन अनुसन्धान गर्दै गए । उनका तिनै अध्ययन देश र सिङ्गो संसारको निम्ति अमूल्य निधि बन्दै गयो । पुरातत्व विभागमा काम गर्ने शिलशिलामा सिक्का र मुद्राको पुरातात्विक महत्व बुझेर तिनको सङ्कलन र अध्ययन गरे । मुद्राले पनि सभ्यता र इतिहास बोल्ने चेतनाले उनलाई त्यो काम गर्न हौस्यायो । उनले मुद्रा र सिक्काबारे लेखेको अनुसन्धानमूलक कृति नेपालकै इतिहासको एउटा हिस्सा बन्यो ।
चीनमा नेपाली भाषा सिकाउन जाँदा नेपाली विभूति अरनिकोबारे खोज अनुसन्धान गरे । चीनको राजधानी पेइचिङमा नेपाली शिल्पीले यति भव्य र ऐतिहासिक महत्वको सम्पदा निर्माण गरेको इतिहास नेपालीलाई थाहा पत्तो नभएको समयमा सत्यमोहनले अरनिकोबारे पुस्तक लेखेर नेपालको समृद्ध इतिहासलाई उजिल्याउन योगदान गरे ।
सांस्कृतिक संस्थानको जिम्मेवारीमा बस्दा त्यो संस्थालाई पूर्वाधारको हिसाबले बलियो मात्र बनाएनन् । बरु नेपालको अमूर्त संस्कृतिलाई अझ धनी बनाउन दौडिए । वीर पुस्तकालयमा असरल्ल परेका ऐतिहासिक र पुरातात्विक महत्वको वस्तुको उचित संरक्षण गर्न भक्तपुरमा सङ्ग्रहालय स्थापना गर्न लागिपरे । त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न बारी, चौर, खोला किनारमा त्यत्तिकै फालिएको अवस्थामा रहेका ऐतिहासिक अभिलेख र सम्पदाको संरक्षण गरेर इतिहास जोगाउने काममा लागे । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव र प्राज्ञको रूपमा रहँदा जोशीले बृहत् नेपाली शब्दकोश निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरे ।
३०८ पृष्ठको ‘सत्यमोहन’ मा सत्यमोहन जोशीले देश र नेपाली जनताको निम्ति गरेका योगदानको सूची अझै लामो छ । कृति छिचोल्दै गर्दा मनमा बारम्बार अमृत गुरुङकै कुरा खेलिरहन्छ– होइन हौ कति मात्र काम गर्न सकेको !
‘सत्यमोहन’ मा नेपालभाषाको साहित्य र संस्कृतिमा सत्यमोहन जोशीले पु¥याएको योगदानबारे कतै चर्चा गरिएको छैन । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा स्थापित गर्न सत्यमोहन जोशीले खेलेको भूमिकाबारे जोशीले लेखेका लेख रचना नेपालभाषामा मात्र भएकोले हुन सक्छ, त्यो विषयमा पनि कृति मौन छ । लेखक गिरीश गिरीले नेपालभाषा जानेका भए ‘सत्यमोहन’ ले अझै पूर्ण हुने मौका पाउने थियो । नेपालभाषा साहित्य क्षेत्रमा सत्यमोहन जोशीको योगदानबारे कुतः पिकाक ख्वपले प्रकाशित गरेका सत्यमोहनका निबन्ध र महालक्ष्मी श्रेष्ठलिखित सत्यमोहन जोशीको जीवन पढ्दा पुस्तक अझ गहन हुने थियो । यी दुवै कृति नेपालभाषामा लेखिएका छन् ।
निःसन्देह एक शताब्दीलाई केही सय पृष्ठको पानाभित्रै ल्याउनु सजिलो काम होइन । तथापि, गिरीको ‘सत्यमोहन’ ले सत्यमोहन जोशीलाई नेपाली पाठकबीच अझ परिचित बनाएको छ । अघि उमेरको कारणले मात्र सत्यमोहन चिनेका मानिस अहिले सत्यमोहन जोशीका बहुआयामिक व्यक्तित्व बुझ्दैछन् । अघि सत्यमोहनलाई साहित्य र संस्कृतिको कोणबाट चिनेका मानिसले अहिले विभिन्न संस्थामा रहेर उनले गरेका बहुआयामिक योगदान पनि बुझ्दै छन् । अघि नेपालभाषा पढ्न सक्ने पाठकले मात्र थाहा पाएका धेरै कुरा गिरीको कृतिमार्फत नेपाली भाषाका पाठकले पनि जान्ने भएको छ ।
सत्यमोहन जोशीको जीवन सार्थक उनको दीर्घायुको कारण मात्र होइन, उनको अथक जीवनयात्राले पनि त्यसलाई सार्थक बनाएको छ । जीवनमा केही न केही गरिरहने त्यो जाँगरले उनलाई प्रेरक व्यक्तित्व बनाएको छ । प्रतिकूलता र कठिनाइ कसको जीवनमा नआउला । तर, जस्तै पहाड तेर्सिए पनि यात्रालाई निरन्तर अघि बढाउनुमा नै जीवनको सार्थकता छ । सत्यमोहन जहाँ गए केही न केही गरेर आफूलाई खोज्ने प्रयास गरिरहे । उनको जुरेली दर्शन जीवनको लामो आरोहअवरोहको संश्लेषण हो । त्यही दर्शनले पनि शून्यतामा विलिन हुनुअघि जीवनको सार्थकतालाई जोड दिएको छ । सत्यमोहनको जीवन भन्नु नै निरन्तरको प्रवाह हो । त्यही निरन्तरताको लहरमा लहरी लहरी जोशी अथक जीवन यात्रा अघि बढाइरहेका छन् ।
सत्यमोहन जोशीको जीवन सार्थक उनको दीर्घायुको कारण मात्र होइन, उनको अथक जीवनयात्राले पनि त्यसलाई सार्थक बनाएको छ । जीवनमा केही न केही गरिरहने त्यो जाँगरले उनलाई प्रेरक व्यक्तित्व बनाएको छ । प्रतिकूलता र कठिनाइ कसको जीवनमा नआउला । तर, जस्तै पहाड तेर्सिए पनि यात्रालाई निरन्तर अघि बढाउनुमा नै जीवनको सार्थकता छ । सत्यमोहन जहाँ गए केही न केही गरेर आफूलाई खोज्ने प्रयास गरिरहे ।
Leave a Reply