भर्खरै :

निर्वाचन देशघातीहरूलाई दण्ड दिने सशक्त हतियार

प्रजातन्त्र र विकासको जग स्थानीय निकायको निर्वाचन नजिकिँदै छ । सरकारले वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुने घोषणा यसअगाडि नै गरिसकेको छ । अब देशभक्त जनताले विगत पाँच वर्षमा कुन दलको नेताले बहुसङ्ख्यक नेपाली जनताको हितमा के काम गरे, कुन दल र नेताले देशको हितमा के काम गरे र कुन कुन दल र नेताहरूले देश र जनतालाई घात गरे मूल्याङ्कन गर्ने बेला आएको छ । दलको नेताको मूल्याङ्कन भनेको नौटङ्की कुराले होइन, ताली पड्काउने भाषणले होइन । उनीहरूको विगतको चरित्र, व्यवहार र परिणामलाई हेरेर गर्ने हो । जनता आफैँले अनुभव गरेर सही गलत छुट्याउने हो । सही को को र कुन कुन दल हुन् र गलत को को र कुन कुन दल हुन् ? निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने दललाई अबको निर्वाचनमा बहुमत दिएर जिताउने र देशघातीहरूलाई मत नदिइकन हराएर दण्ड दिने समय आउँदै छ ।
निश्चय पनि निर्वाचन देशघातीहरूलाई सजाय दिने सशक्त हतियार हो । यो हतियार भुत्तो होइन, धारिलो हुनुपर्छ । अब यसमा धार लगाउने, तिखार्ने काम देशभक्त दल र जनताको काम हो । यसमा धार लाउनु र तिखार्नु भनेको दलले जनतालाई, मतदातालाई राजनीतिक चेतना दिनु हो । विगतका देशघाती कामहरू, काला कर्तुतहरूबारे गाउँ–ठाउँमा गएर जनताको बीचमा उदाङ्ग्याउनु हो, सचेत पार्नु हो । यो हतियारले देशलाई ध्वस्त पार्ने, देश र जनतालाई चुस्दाचुस्दै, खाँदाखाँदै शेष पनि बाँकी नराख्ने कुहिएका, गन्हाएका नेता, दलका उम्मेदवारलाई भोट नदिएर हराउनुपर्छ । यो निर्वाचन देश र जनताको अहित गर्ने, विदेशी दलाल, भ्रष्टाचारी, अपहरणकारी, घुसखोरी, सार्वजनिक, पर्ती जग्गा खाने, खोला पँधेरा खाने, जङ्गल खाने अपराधीहरू र त्यसका संरक्षकहरूलाई हराउने सशक्त हतियार हो ।
निर्वाचन भनेको जनतालाई राजनीतिक चेतना दिने मञ्च हो । जनतालाई शिक्षित र दीक्षित पार्ने दबु हो । त्यसैले वरिष्ठ राजनीतिज्ञ एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन भनेको एकै पटक छोटो समयमा, छिटो लाखौँ करोडौँ जनतालाई राजनीतिक शिक्षा दिने जनताको विश्वविद्यालय हो भन्नुभएको हो । यसले दल, नेता र उम्मेदवारले मतदातालाई लोभ देखाउँछ कि देखाउँदैन, डर, धम्की, दबाब दिन्छ कि दिँदैन, मतदाताले पैसामा, ग्यास सिलिन्डरमा, कुर्ता, सारीमा, एक छाक भोजमा, पाँच÷दस लिटर पेट्रोलमा, डिजेलको लोभमा मत दिन्छ कि दिँदैन, जतिसुकै अभाव, दुःख खपेर लोभ, डर र धम्कीको अगाडि नझुकीकन देश बिगार्ने उम्मेदवारलाई मत नदिइकन देश बनाउने उम्मेदवार र दललाई मत दिन्छ कि दिँदैन आदि जाँच्न र मूल्याङ्कन गर्न मद्दत गर्दछ । यसैले नेमकिपाले चुनावमा हार जितभन्दा जनतालाई राजनीतिक शिक्षा दिने मञ्चको रूपमा प्रयोग गर्दै आएको जनताले देखिरहेका छन् ।
निर्वाचनमा जित्न विभिन्न दलले, उम्मेदवारले जनताको आँखामा छारो हाल्ने काम गर्दै छन् । उनीहरू निर्वाचनको बेला कसैले बिजुली ल्याइदिने, कसैले तार टाँग्न बिजुलीको लट्ठा गाडिदिने, कसैले मोटर बाटो ल्याइदिने, कसैले झोलुङ्गे पुल, पक्की पुल ल्याइदिने, कसैले विद्यालय, कलेज ल्याइदिने, कसैले घर–घरमा रोजगारी ल्याइदिने, कसैले खेतबारी हराभरा पारिदिने, कसैले स्वास्थ्य चौकी, अस्पताल ल्याइदिनेजस्ता आश्वासन दिन्छन् । ठूला र सत्तासीन दलका उम्मेदवारहरू पनि अबुझ, अशिक्षित, गरिब मतदाताको मत बटुल्न, चुनावमा जित्न विकास र सुविधाको आश्वासन दिन्छन् । त्यसलाई बहुसङ्ख्यक गरिब, अशिक्षित जनताले पत्याएर मत दिन्छन् । निर्वाचनमा जितेपछि तिनीहरू खोलो तरेपछि लौरो बिर्सेजस्तै जनतालाई लात मारेर राजधानी छिर्छन्, सदरमुकाम छिर्छन् र घडेरी जोड्छन् । उनीहरूले चुनाव जित्न गरेको खर्च घूस, कमिसन खाएर, उपहार लिएर ब्याजस्याजसहित उठाउनेछन् । उनीहरूले हामी जोगी बन्नलाई राजनीति गर्न आएका होइनौँ भनेर हाकाहाकी भन्दै आएका छन् । आगामी दिनमा निर्वाचनमा जनता सचेत भएर यस्ता उम्मेदवारलाई चिनेर दण्ड दिनुपर्छ ।
विदेशी सहयोग र विकासको नाउँमा विदेशी एनजीओ, आईएनजीओको लोभमा फसेका देशघातीहरूको कारण देशको दुरवस्थामा पुगेको इतिहास संसारमा पाइन्छ । युक्रेन, युगोस्लाभिया, चेकोस्लोभाकिया, ल्याटिन अमेरिका, अफ्रिका, श्रीलङ्का आदि यसका उदाहरणहरू हुन् । भारतले सिक्किमको विकास र सहयोगको नाममा त्यहाँका दल, राजपरिवारलाई हातमा लिएर, एक आपसमा लडाएर देशद्रोह गर्न सघायो । सबै दललाई हातमा लिइसकेपछि जनमतसङ्ग्रहको नौटङ्की गरेर ३२ सभासद्मध्ये ३१ सभासद्को बहुमतले सिक्किमलाई भारतमा विलय गरेका थिए । त्यही जनमतसङ्ग्रहको सेरोफेरोमा तत्कालीन भारतका गृहमन्त्री वाइवी चौहान र देशद्रोही लेण्डुप डोर्जेले अब सिक्किम अर्काे स्वीजरल्यान्ड हुनेछ भनेर समृद्धिको नारा दिएका थिए । सिक्किम भारतमा विलय भएपछि सिक्किम स्वीजरल्यान्डै होइन अफ्रिकी मुलुकजत्तिको पनि समृद्धि भएन । सिक्किमको सार्वभौमिकताकै हत्या भयो । नेपालमा देउवा, ओली, दाहाल, माधवहरूले नेपालको समृद्धि हुन्छ भनेर नेपाली जनताको व्यापक विरोध र खबरदारी हुँदाहुँदै अमेरिकाको दबाब, प्रभाव, धम्कीमा झुकेर देशघाती एमसीसी पास गरिसकेका छन् ।
अहिले अपहरणकारीहरू, हत्याराहरू, भ्रष्टाचारीहरू, कालाबजारियाहरू, कमिसनखोरहरू, दलालहरू, सार्वजनिक जग्गा हडप्नेहरू, भूमाफियाहरू, खोलानदी, जङ्गल हात पार्ने अपराधीहरू काङ्ग्रेस, एमालेजस्तो अधिकांश दलको संरक्षणका रहेका छन् । तिनीहरू ती दलका असल, इमानदार त्यागी नेता कार्यकर्ता भएका छन् । जीवनभर पार्टीमा लागेका, त्याग, स्वच्छ छवि, इमानदार चरित्र भएका नेता कार्यकर्ताहरू ती दलहरूमा पाखा लगाइएका छन् । ती नेता, कार्यकर्ता भनिएका देशघातीहरूले पार्टी र नेताहरूलाई उपहार, दक्षिणा भेटी चढाइरहेका छन् । ती दल र नेताहरूले हिजो त्यस्तै मान्छेहरूलाई चुनावको टिकट दिएका थिए । उनीहरू चुनाव जितेर आएका थिए । यिनीहरूले देशमा ताण्डव नृत्य देखाए । दलका नेताहरूले यिनीहरूलाई केही गर्न सकेनन् । यिनीहरूले जस्तोसुकै अपराध गरे पनि सुरक्षा निकायले पनि केही गर्न सकेन । सुरक्षा निकायले त्यस्ता देशघातीहरूलाई पक्रने, हट्कडी लगाउने, थुन्ने होइन खुट्टा बजारेर स्यालुट ठोक्ने काम गरेको छ । उनीहरू देशघातीका नोकर बनेका छन्, विदेशी दलालको सेवक बनेका छन् । दलका नेताहरू, राष्ट्रसेवक कर्मचारीहरू देशभक्त भएका भए, सेना, प्रहरी राष्ट्रसेवक कर्मचारीहरू देशभक्त भएका भए देशको सार्वभौमिकता र स्वाधीनतामा आँच आउने गरी विदेशीले धम्की दिँदा, दबाब दिँदा, नेपाली भूमि अतिक्रमण र हस्तक्षेप गर्दा उठ्नुपथ्र्याे । एमसीसीजस्तो देशघाती सम्झौता संसद्मा दर्ता गर्दा, पास गर्दा उनीहरू मरेको दासजस्तै बसे । त्यस्तै सुस्ता अतिक्रमण गर्दा, दार्चुला, कालापानी, लिपुलेक मिचेर भारतले जबरजस्ती बाटो बनाउँदा यिनीहरू दासजस्ता भए । यिनीहरू कालापानी, लिपुलेक, लिम्पियाधुरा हडप्दा, भारतीय सेना कालापानी लिपुलेकमा बस्दा दासजस्तो बसे । त्यहाँबाट भारतीय सेना फर्काएर नेपाली सेना राख्ने कसैले आँट गरेनन् । यस्ता उम्मेदवारहरू हामीसामु भोट माग्न आउँदै छन् । यस्ता दल र उम्मेदवारलाई नेपाली जनताले निर्वाचनमा हराएर उचित दण्ड दिनुपर्छ । त्यो दिन नेपाली जनताको अगाडि आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *