सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
कुनै पनि सच्चा कम्युनिस्ट पार्टी या सच्चा कम्युनिस्ट नेताले समाजवादी सिद्धान्त आत्मसात गर्ने देश र नेताको विरोध गर्दैनन् न त उनीहरू त्यस देशको अन्धानुकरण नै गर्छन् । तर, आफूलाई कम्युनिस्ट नेता ठान्ने, समाजवादी व्यवस्थाको निम्ति लड्ने भनी एमालेभन्दा फरक धार देखाउन खोजिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओ त्सेतुङ विचारधारा पहिले नै त्यागेको र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली सरकारको पनि विरोध गरे । चिनियाँ नेता माओ त्सेतुङको नेतृत्वमा चीनमा चिनियाँ क्रान्ति नभएको भए के चीन अहिलेको अवस्थामा आउँछ ? साम्राज्यवादको निरन्तर विरोध गरिरहेको कोरियाले विचारधारात्मक क्रान्ति, प्राविधिक क्रान्ति र सांस्कृतिक क्रान्ति नगरेको भए प्रजग कोरिया हालको अवस्थामा रहन्छ र ? अहिले प्रजग कोरिया संसारकै शक्तिशाली साम्राज्यवादी देश अमेरिकालाई हाँक दिने एक समाजवादी देश बनेको छ । समाजवादी देश बनाएर निःशुल्क शिक्षा र स्वास्थ्यको बन्दोबस्त भएको देश र पार्टीको विरोध गर्ने, समाजवादी व्यवस्था मन नपराउने नेता नेपालले देशमा कस्तो समाजवादी व्यवस्था ल्याउन खोज्दै छन् ? एमाले र एकीकृत समाजवादीको धारणा फरक देखाउन पो नेता नेपालले समाजवादको कुरा उठाउन खोजेका होइनन् ?
समाजवादको कुरा खोक्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालले के पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दल नेकासँग साठगाँठ गरेर नेपालमा समाजवाद आउँछ ? प्रजग कोरियामा साम्राज्यवादी देश अमेरिकाले नाकाबन्दी नगरेको भए प्रजग कोरियाको विकास संसारको निम्ति उदाहरणीय बन्छ । प्रजग कोरिया अहिले नै शिक्षाको देश बनेको छ, सफा सुग्घरको देश बनेको छ । प्रजग कोरिया देशका सबै जनतालाई बुद्धिजीवीकरण गर्न प्रयासरत छ । एउटा सानो देश प्रजग कोरियाले शक्तिशाली देश अमेरिकासँग नझुकिकन साम्राज्यवादको विरोध गर्दै छ । यसरी समाजवादी व्यवस्था अँगाल्दै अघि बढिरहेको देश र त्यस देशको पार्टीको विरोध गर्ने नेता नेपाल कसरी सच्चा कम्युनिस्ट र समाजवादी व्यवस्थाका पक्षधर हुन्छन् ?
प्रजग कोरिया वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति गरी समाजवादलाई अझ उन्नत र सुसंस्कृत बनाउन लागिरहेको छ । प्रजग कोरियाली सरकार, पार्टी, जनता र सेना सबै एकगठ छन् र सबै समाजवादी झन्डालाई अझ उच्च पार्न जोडतोडले लागिरहेका छन् । वैचारिक क्रान्तिले श्रमिक जनतालाई क्रान्तिकारी बनाउन र मजदुर वर्गीय ढाँचामा फेर्ने काममा सफलता मिलेको छ । एक मन र एक उद्देश्य लिएर एकगठ भएको कोरिया क्रान्तिकारी जनताको परिवार बनेको छ । प्राविधिक क्रान्ति गरेर उत्पादक शक्तिलाई विकसित पारेको छ, जनताको भौतिक समृद्धि स्थिररूपले अगाडि बढाएको छ र श्रमिकहरूलाई मुक्त गरी क्रान्तिकारी अभिभारा पूरा गरेको छ । सांस्कृतिक क्रान्तिको अभिभारा बोकी कोरियाली सरकार र कोरियाली पार्टीले सम्पूर्ण समाजलाई बौद्धिकीकरण गरिरहेको छ । सांस्कृतिक क्रान्तिको अभिभारा भनेको जीवनमा सभ्य, शिष्ट ढङ्गले समाजवादी जीवन बसाल्नु हो । त्यस कार्यमा प्रजग कोरिया सफल भएको छ । यसरी कम्युनिस्टको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्ने देश प्रजग कोरिया र कोरियाली मजदुर पार्टीको विरोध गरेर ‘समाजवादी’ नेता माधव नेपालले कतै अमेरिकालाई खुसी पार्न अमेरिकाको पक्षपोषण त गरिरहेका छैनन् ? शङ्का गर्ने ठाउँ छ ।
Leave a Reply