भर्खरै :

परीक्षा यसरी दिनुहोस्

भाइबहिनीहरू !
तपाईँहरू कक्षामा विभिन्न शिक्षकले बताएको कुरा सुन्नुहुन्छ । भनेको कुरा सँगसँगै दोहो¥याउनुहुन्छ । निर्देशन दिएबमोजिम पढ्नुहुन्छ । लेखाएको लेख्नुहुन्छ । कम्प्युटर÷प्रोजेक्टरबाट देखाइएका र अन्य शैक्षिक सामग्री हेर्नुहुन्छ । कक्षाकार्य/गृहकार्यमा सक्रियता देखाउनुहुन्छ । परियोजना कार्यमा मिहिनेत गर्नुहुन्छ । ‘फिल्ड भिजिट’ गर्नुहुन्छ । अतिरिक्त कक्षा लिनुहुन्छ । ‘कोचिङ क्लास’ पनि पढ्नुहुन्छ । निकै कठिन लाग्ने कतिपय विषयको त कसैकसैले ‘होम ट्युसन’ समेत लिनुहुन्छ । खासगरी गणित विज्ञान र अन्य विषयका अनेक सूत्र घोक्नुहुन्छ । सम्झन सजिलो होस् भनेर आफै सूत्र पनि बनाउनुहुन्छ । यो सब परीक्षामा राम्रो गर्नकै लागि हो । यति गर्दागर्दै पनि तपाईँहरूमध्ये कतिले परीक्षैमा चाहिँ राम्रो गर्न सक्नुहुन्न । अनि नतिजा सन्तोषजनक आउँदैन । मलाई लाग्छ, त्यस्तो हुनुमा परीक्षाताका र परीक्षा दिँदै गर्दा तपाईँहरूले देखाउनुभएका केही असावधानीहरू जिम्मेवार छन् । आज, तिनलाई हटाएर परीक्षामा राम्रो गर्नका लागि केही सुझावहरू दिन मन लागेको छ ।
(क) परीक्षा दिन जानुअघि हलुका खाना खानुहोस्
स्वास्थ्य राम्रो राख्नका लागि हामीले सधैँ नै आफ्नो खानपानमा ध्यान दिनुपर्छ । यो कुरा परीक्षाको बेलामा अझ विचार पु¥याउनुपर्ने देखिन्छ । परीक्षा दिन जानुअघि तपाईँले पेट अटेसमटेस हुने गरी र चर्को, पिरो खानेकुरा खानुभयो भने तपाईँलाई गाह्रो हुन्छ । बारम्बार पानी खानुपर्ने र शौचालय जानुपर्ने भएपछि, निश्चित समयभित्र लेखिसकेर उत्तर पुस्तिका बुझाउनुपर्ने काममा तपाईँको शरीरले ततपाईँलाई नै बाधा उत्पन्न गराउने हुन्छ । त्यसैले परीक्षा दिन जानुअघि जिब्रोको लहैलहैमा लागेर स्वादिला खानेकुरा बढी नखाई शरीर र स्वास्थ्यको ख्याल गरेर हलुका खालको खाना ठिक्क खानुहोस् ।
(ख) शैक्षिक सामग्रीबारे
परीक्षा दिन जाँदा तपाईँले प्रवेश पत्र, राम्ररी हात बसेको कलम/डटपेन/बलपेन, क्यालकुलेर, स्केल, पेन्सिल, इरेजर इत्यादि लानुपर्ने हुन्छ । यीमध्ये प्रवेशपत्र छुटाउनुभएमा तपाईँले परीक्षा नै दिन नपाउने हुनसक्छ । अनि अन्य सामग्री छुटेमा तपाईँले नजिकको साथीसँग माग्नुपर्ने हुन्छ । यसो गर्दा हल्ला भई परीक्षाको मर्यादा भङ्ग भएमा त्यसको कारबाही तपाईँले भोग्नुपर्ने हुन्छ । त्यसैले पनि परीक्षा दिन जानुअघि आफूले लानुपर्ने आवश्यक सामग्रीबारे सचेत हुनुहोस् ।
(ग) प्रश्नमा दिइएको निर्देशन राम्ररी पढ्नुहोस्
कुनै पनि प्रश्न सुरु हुनुअघि त्यहाँ निर्देशन दिइएको हुन्छ । केही प्रश्नमा प्रश्न छनोट गर्ने सुविधा हुन्छ । कुनै एउटामात्र प्रश्नको उत्तर दिनुपर्नेमा तपाईँले निर्देशन नै नपढी विकल्पमा दिइएका तीनवटै प्रश्नको उत्तर दिनुभयो भने पनि तपाईँको अङ्क बढ्ता आउँदैन । बेकारमा समयमात्रै खेर जान्छ । खेर जाने त्यो समय, अन्य प्रश्नको उत्तर लेख्नमा उपयोग हुनसक्ने हुँदा प्रश्नमा दिइएको निर्देशन राम्ररी पढ्नुहोस् ।
(घ) प्रश्नको उत्तर सकेसम्म, मेलैसँग अर्थात् क्रमशः लेख्नुहोस्
सबै प्रश्नको उत्तर आउँछ भने, सकेसम्म मेलैसँग अर्थात् क्रमशः प्रश्नको उत्तर लेख्नुहोस् । त्यस्तो नभएमा पहिला सजिलो प्रश्नको उत्तर लेख्दै जानुहोस् । कठिन प्रश्नको उत्तरमा घोत्लिएर समय खेर नफाल्नुहोस् ।
(ङ) कुन प्रश्नलाई कति समय दिने हो, ख्याल गर्नुहोस्
प्रश्नहरू कुनै लामा उत्तर लेख्नुपर्ने र कोही छोटा उत्तर लेख्नुपर्ने खालका हुन्छन् । त्यसबापत आउने अङ्कमान धेरथोर हुन्छ । यो कुरा ख्याल नगरी कतिपय विद्यार्थीहरू सजिलो प्रश्न पाए थोरै अङ्क आउने भए पनि लामो उत्तर लेखेर समय बर्बाद गर्छन् । अप्ठ्यारो प्रश्न लागेमा धेरै अङ्क आउने भए पनि एकदुई वाक्य लेखेर त्यत्तिकै छोडिदिन्छन् । यस कुरामा पहिला एकदुई पटक घरमै स्वनियन्त्रित भएर परीक्षा दिई कुन प्रश्नका लागि कति समय लाग्ने रहेछ, त्यसको ख्याल गर्नुहोस् । यस्तो अभ्यास तपार्इँलाई, परीक्षा दिँदा उपयोगी हुनसक्छ ।
(च) उत्तर बिर्सेमा एकैछिन सोच्नुहोस्
परीक्षाका लागि तपाईँले सकेसम्म पढ्नुभएको हुन्छ । त्यति गर्दा पनि कुनै कुनै प्रश्नको उत्तर लेख्ने बेलामा बिर्सनुहुन्छ । त्यो बेलामा एकैछिन तपाईँको दिमागमा उत्तर ‘क्लिक’ हुनसक्छ ।
(छ) थोरै भए पनि उत्तर लेख्नुहोस्
भारतीय प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद परीक्षा हलमा पुग्दा समय धेरै गइसकेको थियो । एउटा प्रश्न यस्तो रहेछ : ‘ह्वाट इज एन एसे ?’ समय नपुग्ने भएको हुँदा उनले त्यसको उत्तर छोटोमा लेखेछन्, : ‘एसे इज नोथिङ बट मेमोरी माइन्ड ।’ उत्तर छोटो भए पनि कुरा त पुगेकै थियो । पछि उनले प्रथम स्थान हासिल गरेछन् । यसै गरी, कारणवश समय पुगेन भने तपाईँको पनि छोटो र बुँदागतरूपमै भए पनि प्रश्नको उत्तर लेख्ने गर्नुहोस् । कुनै पनि प्रश्न नछोड्नुहोस् । अन्दाजको भरमा उत्तर नलेख्नुहोस् ।
(ज) अनावश्यक कुरा नलेख्नुहोस्
कतिपय परीक्षार्थीले उत्तरपुस्तिकामा, ‘मैले पढ्न नभ्याएर पढेको थिइनँ’, ‘मलाई जसरी पनि पास गराइदिनुहोला’, ‘पास नभएमा त मलाई घरमा बस्नै दिँदैनन्’ ….इत्यादि लेखेर सहानुभूति खोजेका हुन्छन् । तर, यस्तो लेखेर अङ्क पनि आउँदैन र माया पनि पाइँदैन । बरु त्यसको असर विद्यालय प्रशासन र उत्तरपुस्तिका परीक्षकमा नराम्रो पर्नसक्छ । त्यसैले यस कुरामा पनि ख्याल गर्नुहोस् ।
बाँकी ध्यान दिनुपर्ने कुरा तपाईँआफैँ पनि विचार गर्नुहोस् । सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *