भर्खरै :

विद्यार्थी भेला तथा प्रशिक्षण सम्पन्न

भक्तपुर, ५ बैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान, स्थानीय निकायको चुनाव विशेष विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सृजना सैँजुले कम्युनिस्टहरूको लागि चुनाव समाजवादी विचारको बृहत् राजनीतिक कक्षा सञ्चालनजस्तै हुने बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिइँदै आएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पार्टीले संसदीय व्यवस्थाको क्रान्तिकारी उपयोग गर्दै आएको हुँदा पार्टीको घोषणापत्रको प्रचारप्रसारमा लाग्न आग्रह गर्दछु ।”
श्रीलङ्कामा आर्थिक सङ्कट हुनुको मुख्य कारणमध्ये भ्रष्टाचार पनि भएकोले हाम्रो देशमा भ्रष्टाचारविरूद्धको सङ्घर्षमा निरन्तर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
चुनावमा पैसा खर्च गर्ने उम्मेदवारले जितेमा पछि जनताकै रगत–पसिना चुस्ने निश्चित भएकोले त्यस्ता उम्मेदवारलाई हराउन उहाँले सुझाउनुभयो ।
हाम्रो देश आर्थिकरूपमा परनिर्भर हुनुको पछाडि भारतीय एकाधिकार पुँजी सक्रिय भएकोले राजनीतिकरूपमा स्वतन्त्र हुन नसकेको केन्द्रीय सदस्य सैँजूले बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले युवा–विद्यार्थीले राजधानीमा बस्नुको अर्थ सुविधा भोग गर्नुमात्रै होइन भन्नुभयो ।
देशघाती एमसीसी सम्झौताविरोधी आन्दोलनमा सहभागी भएर सिकेबुझेका कुरा स्थानीय निकायको चुनावमा जनतालाई बुझाउन युवा–विद्यार्थी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “शिक्षित, सचेत र प्रगतिशील युवा–विद्यार्थी चुनावमा सहभागी भएर आफ्नो कर्तव्यप्रति सचेत र अधिकारप्रति जागरूक हुनुपर्छ ।”
नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य नगेन्द्रबहादुर कार्कीले आफूले सिकेजानेका कुरा जनतालाई बुझाउन नसके त्यो ज्ञानको औचित्य नहुने बताउनुभयो ।
कार्यक्रममा उमेश शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *