भर्खरै :

‘मजदुर’ दैनिकका लेख–रचना पठनीय र उपयोगी

‘मजदुर’ दैनिकमा छापिने हरेक सामग्री पठनीय छ । यसमा वैचारिक पक्ष अनुकरणीय छ । यस्ता सामग्रीको विषयमा केही प्रतिक्रिया लेखूँ भन्दाभन्दै अर्को दिन आइसकेको हुन्छ । यसरी नै दिन बितिरहेको छ । २०७९ वैशाख ७ गतेको ‘मजदुर दैनिक’ बारे केही लेख्दै छु ।
पहिलो पृष्ठ हेर्दा चुनाव नजिकिएको आभाष भएको छ । चाँगुनारायणमा नगरस्तरीय निर्वाचन परिचालन समिति गठन, भनपा १ मा पनि निर्वाचन परिचाल समिति गठन, जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने, जनताका उम्मेदवार चिनौँ र रोजौँ आदि शीर्षक, उपशीर्षकहरूले निर्वाचन नजिकिएको प्रस्ट पारेको छ ।
‘देशघाती काम गर्ने शासक दलहरूलाई जनताले निर्वाचनमा सजाय दिनुपर्छ’ भन्ने शीर्षक अहिलेको सन्दर्भमा मिलेको छ । पक्कै पनि एमसीसी सम्झौता पास गर्ने त्यस्ता देशघाती राजनैतिक दलहरूलाई जनताले आफ्नो सबभन्दा ठूलो अधिकार ‘मताधिकार’ को प्रयोगबाट सजाय दिनुपर्छ ।
‘मजदुर’ दैनिकले पाठकहरूलाई निर्वाचनसम्बन्धी शिक्षा प्रदान गरेको छ । ‘विकृत राजनीतिको विकृत परिणाम’ शीर्षकको सम्पादकीयले पाठकलाई निर्वाचनको बेलामा राजनैतिक दलहरूले दिएको अवसरवादी नीतिबाट सजग हुनुपर्ने कुरा प्रस्ट राखेको छ । यसले पाठकलाई अझ बढी चुनावमा भाग लिन उत्साह जगाएको महसुस गर्छु । यसले देश र जनताको पक्षमा काम गर्ने राजनैतिक दल छान्न पनि सहयोग पु¥याएको छ ।
हामीमा अमेरिका एकदमै विकसित देश भन्ने भ्रम छ । वैशाख ७ को ‘मजदुर दैनिक’ को विचार पृष्ठमा छापिएको ब्राडले ब्लिनकेनसीपको ‘किन निरास छन् अमेरिकी किशोरकिशोरी ?’ शीर्षकको लेखले अमेरिका कस्तो देश हो प्रस्ट पारेको छ । अमेरिकामा हिँड्न मिल्ने सडकको अभाव, सार्वजनिक यातायातको कमी अनि सार्वजनिक खुला क्षेत्र कम हुँदै गएकोले मानसिक स्वास्थ्यमा प्रभाव पारेको अभिव्यक्ति उल्लेख छ । यसले समुदाय भन्ने भावनालाई समेत कमजोर बनाएको छ । यो संरा अमेरिकाको सामाजिक अथवा खुला क्षेत्रविरोधी आवास नीतिको परिणाम हो ।
त्यसैगरी लेखमा अमेरिकाका एक बुद्धिजीवी नोम चोम्स्कीको भनाइ उद्धृत छ, ‘हामी मानव इतिहासकै सबभन्दा खतरनाक समयमा आइपुगेका छौँ ।’ नराम्रो भौतिक विकासले मानवलाई त्राहीत्राही बनाउने गर्छ । यस्ता विकास सँगसँगै बुद्धि विवेक, संवेदनशीलताको विकास हुनुपर्ने तर भएन । विकसित देशका शासकहरू संवेदनशील नभएको, अरूप्रति सहयोगको भावना नभएको र आत्मकेन्द्रित दृष्टिकोण राख्ने, नोम चोम्स्कीको भनाइलाई मैले यसरी बुझँे ।
भारतको माक्र्सवादी विद्वान तथा ट्राइकन्टिनेन्टलः सामाजिक अध्ययन प्रतिष्ठान’ का कार्यकारी निर्देशक विजयप्रसादसँग युक्रेनमा चालु युद्धबाट निम्तिएको सङ्कटबारे द ग्लोबल टाइम्सले लिएको अन्तर्वार्ता छापिएको छ । ‘असंलग्न अभियानलाई बलियो बनाउनुपर्ने समय आएको छ’ शीर्षकको अन्तर्वार्ताबाट युक्रेन युद्धको परिणामबाट निम्तिएको सङ्कटले संसारभर फैलिन सक्नेबारे सचेत पार्ने खोजिएको छ । युक्रेन युद्धमा भारत तटस्थ बसेको छ । भारत र रुसबीच पुरानो सम्बन्ध छ । भारतले ६० प्रतिशतभन्दा बढी हातहतियार रुसबाट आयात गर्छ । भारतले रुससँग इन्धन सस्तोमा लिइरहेको छ । युरोपेली साम्राज्यवादी देशले रुसलाई आर्थिक कष्ट पु¥याउने सोच राखेको प्रस्ट देखिन्छ । युरोपेली साम्राज्यवादी देशले गर्दा संसारलाई दुःख भइरहेको छ ।
रूपान्तरित ईश्वर ‘नेतेश्वर’ ! भन्ने शीर्षकको इन्द्रकुमारको लेखमा आफूमा शिक्षा, ज्ञान, आँट, चेतना र तत्वबोध भर्न सकेमा ईश्वरीय भ्रान्तिबाट मुक्ति पाउन सकिने कुरा प्रस्ट्याउनुभएको छ । ‘निमुखा जनताको दुःख जहाँको तहीँ’ शीर्षकको पाठक विचार राखेर जनताको स्थितिबारे जानकारी दिनुभएकोमा आरके श्रेष्ठ, चितवनप्रति आभारी छु ।
आगामी दिनमा पनि ‘मजदुर दैनिक’ मा यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय विचारोत्तेजक र उपयोगी सामग्री पढ्न पाउने आशा गरेकी छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *