भर्खरै :

पार्टी अपराधीहरू पस्ने थलो नबनोस्

हरेक निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार र निर्वाचन आयोगले फुके पनि निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण भइरहेको छैन । निर्वाचन सिद्धान्त र विचारको लडाइँ हुनुपर्ने हो । तर, पैसा, शक्ति र धाकधम्कीको आधारमा निर्वाचन हारजित हुन्छ । यसको एउटा कारण निर्वाचन अपराधी, ठेकेदार, पैसावालको चलखेलबाट मुक्त नहुनु हो । राजनीति विदेशी दलाल, बिचौलिया र माफियाको हातमा रहेसम्म देशको राजनीति जनताको हातमा हुनेछैन । पार्टी ठूलो बनाउने र टिकाउने नाउँमा पार्टीभित्र जो कसैलाई भित्र्याउँदा पार्टी अपराधीहरू हुल्ने थलो बन्न पुगेको छ ।
पार्टीभित्र हुलेका अरू दलका नेता, कार्यकर्ताहरू पार्टीको सिद्धान्त र विचार राम्रो भएर पसेका हुँदैनन् । पार्टीमा केही लाभ पाउन उनीहरू भित्रिएका हुन्छन् । आ–आफ्नो अपराध लुकाउन, आफ्नो गल्ती या आपराधिक क्रियाकलापमा बाध नपु¥याउन नै अपराधीहरू पार्टीभित्र छिरेका हुन्छन् । पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरू जो भए पनि दललाई कार्यकर्ता पार्टी प्रवेश भए पुग्छ । पार्टीमा कार्यकर्ता हुल्याएर जिते पुग्छ  । यसरी अपराधी, विदेशी दलाल, ठेकेदार, ठूलठूला उद्योगपति, व्यापारी र व्यवसायीहरूलाई हुल्याएर निर्वाचन जित्ने दलले कसरी देश बनाउँछ, कसरी नेपाली सुखी हुन्छन् ?
हो, देशमा इमानदार, देशभक्त, दूरदर्शी, देश र जनताप्रति समर्पित र जिम्मवारी बोध भएका नेताहरूको खाँचो छ । हामीले निर्वाचनमा त्यस्तै उम्मेदवारहरू छान्नुपर्छ । मत तान्न या जित्न जोकोही पार्टीमा भित्र्याउने काम राम्रो होइन । के दललाई सङ्ख्या भए पुुग्छ ? के सङ्ख्या नै दलको सच्चाइको मापदण्ड हो ? यसरी जो कोहीलाई पार्टीमा भित्र्याएर निर्वाचन जित्ने भएकै कारण पार्टीमा आपराधिक व्यक्तिहरू निर्वाचित हुन्छन् । आपराधिक उम्मेदवारहरू जितेपछि उसले जनताको सेवा कसरी गर्छ ? यसकारण, सत्तारूढ दलका नेताहरूले देश विकासको लागि दिशानिर्देश गर्न नसकेका हुन् । सर्वसाधारण जनतालाई राहत पुग्ने खालको काम गर्न नसकेका हुन् । अनि देश कसरी आत्मनिर्भर हुन्छ ?
सरकार, सत्तारूढ दल र निर्वाचन आयोग हरेक कुरामा जिम्मेवार हुनुपर्छ । सत्तारूढ दलका नेताहरूले जो कोही व्यक्तिलाई पार्टीमा भित्र्याउनु हुँदैन । कलुषित व्यक्तिहरू पार्टीभित्र हुल्दा मत सङ्ख्या बढे पनि आखिरमा त्यस्ता व्यक्तिहरूले पार्टी बदनाम गराउँछ, पार्टी तहसनहस बनाउँछ । अन्ततः पार्टी फुट्छ । आपराधिक व्यक्तिहरू कुनै दल प्रवेश गर्ने बित्तिकै सज्जन हुने होइन । पार्टी प्रवेश भएको दलको सिद्धान्त र विचारको ख्यालै नगरी पार्टी प्रवेश गर्ने व्यक्तिहरू सिद्धान्तनिष्ठ भए नभएको पनि ख्याल गरिँदैन । जित्नुमात्रै ठूलो कुरा होइन । ठूला दलले पटक–पटक सरकारको नेतृत्व गरेकै हो । तर, जनतालाई राहत दिन सकिएन । दललाई शुद्धीकरण गर्नुभन्दा अपराधीकरण गर्दै गएपछि आखिर त्यस्तो दलको गति के हुन्छ ? दलको पथ प्रदर्शक माक्र्सवाद–लेनिनवाद भए पनि वर्गसङ्घषको बाटो किन रोज्छ ? आमूल परिवर्तनको निम्ति पूर्वाधार किन तयार गर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *