निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र दश ओटै वडामा वडाध्यक्ष र वडा सदस्यहरूको उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणा सभामा पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले आगामी निर्वाचनमा जनताले दशेघाती एमसीसी सम्झौता पास गर्ने देशद्रोहीहरूविरुद्ध नेमकिपाका देशभक्त प्रगतिशील उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समानुपातिक सूचीबाट पार्टीले नाम हटाइसकेर पनि हाल उम्मेदवार बनेका केही पार्टी उम्मेदवारहरूलाई निर्वाचन आयोगका कर्मचारीहरूले दुःख दिएको चर्चा गर्दै उहाँले निष्पक्ष निर्वाचन गराउने कर्मचारीहरूले शासकहरूको पक्ष लिन नहुने कुरामा जोड दिनुभयो ।
विगत पाँच वर्षमा नेमकिपाबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले घोषणापत्र अनुसार इमानदारीपूर्वक काम गरेको तथ्य जगजाहेर रहेको बताउँदै उहाँले शासक दलबाट जितेकाहरूले आफ्नो घोषणापत्र अनुसार काम गरेको खै भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “युवालाई रोजगार दिने भनेका थिए, रोजगार यहीँ पाएका भए ८० लाख युवा विदेशिने थिएनन् । मावि तह (कक्षा १२ सम्म) निःशुल्क गर्ने भने पनि आज ८ लाख विद्यार्थी पढाइ छोड्न बाध्य छन् ।”
“कृषिलाई प्राथमिकता दिने भने पनि शासक दलहरूले कृषकहरूलाई समयमा रासायनिक मलसम्म पनि दिन सकेनन्, देशमै रासायनिक मल कारखाना खोल्न भनी हामीले दिएको सुझावको सुनुवाइ भएन । देश विप्रेषणको भरमा चलेको छ, के यही हो कृषिमा प्राथमिकता ?”, उहाँले भन्नुभयो ।
निर्वाचनमा शासक दलहरूले मनि, मसल र डनहरू प्रयोग गरेर प्रजातन्त्र हनन गरिरहेको चर्चा गर्दै सचिव सुवालले जनता अब चुप लागेर बस्ने छैनन् भनी शासक दलहरूलाई खबरदारी गर्नुभयो ।
नेपाली विद्युत् नेपाली जनतालाई सस्तोमा दिएको भए महँगोमा ग्यास विदेशबाट किन्नुनपर्ने तथा देशले व्यापार घाटा भोग्नुनपर्ने बताउँदै उहाँले एमसीसीका कारण देशको सार्वभौमिकता खतरामा परेकोमा नेपाली जनता आक्रोशित भएको उल्लेख गर्नुभयो ।
देउवा सरकारले युक्रेनको पक्षमा मतदान गरेपछि अमेरिकी सांसदहरू युक्रेनको पक्षमा जनमत बनाउन नेपाल आउन थालेको चर्चा गर्दै उहाँले भन्नुभयो, “रुस–युक्रेन युद्धको कारण अमेरिका हो† नेपालले अमेरिकाको पक्ष लिनु देशको असंलग्न परराष्ट्र नीतिको विरुद्ध छ† पञ्चशीलको नीति विरुद्ध छ ।”
सभामा प्रमुख पदका प्रत्यासी सुनिल प्रजापतिले पार्टीले करिब एकतिहाइ नयाँ अनुहार सहित आफूहरूलाई पुनः विश्वास गरेकोमा आभार व्यक्त गर्दै विगत पाँच वर्षमा घोषणापत्रमा उल्लेख भएका प्रायः सबै काम सम्पन्न गरेकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले पाँच वर्षमा देशभरमै भक्तपुर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ लगायतका विषयमा नमुना बन्न सफल भएकोमा त्यसको श्रेय भक्तपुरको जनतालाई जाने उल्लेख गर्नुभयो ।
भक्तपुरलाई अझ राम्रो बनाउन धेरै काम गर्न बाँकी रहेको बताउनुहुँदै उहाँले पार्टीले सार्वजनिक गर्ने घोषणापत्रलाई मार्गनिर्देश मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा बाग्मती प्रदेशसभा सदस्य एवम् नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले भक्तपुरका चारओटै नगरमा उम्मेदवारी दिएको जानकारी दिँदै ती सम्पूर्ण उम्मेदवारहरूलाई जिताउन सबै सक्रिय भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । उहाँले निर्वाचनमा जनताले साथ दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
सभामा उपप्रमुखका प्रत्यासी रजनी जोशी, वडा नं. ९ का वडाध्यक्ष उम्मेदवार रवीन्द्र ज्याख्वसहित नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply