भर्खरै :

घोषणापत्र देखाउने दांँत होइन

यही वैशाख ३० गते हुने स्थानीय निकायको चुनावमा भाग लिन पार्टीहरूले उम्मेदवारीको लागि नाम दर्ता गर्दै छन् । ती पार्टीहरूले आफ्नो पार्टीको तर्फबाट आकर्षक नाराका साथ चुनावी घोषणापत्र पनि जारी गर्दै छन् ।
घोषणापत्र भनेको पार्टीका उम्मेदवारहरूले चुनावमा जितेको खण्डमा गर्ने भनी व्यक्त गरिएको प्रतिबद्धता पत्र हो । कसैले यसलाई सङ्कल्प पत्र पनि भन्ने गरेका छन् । सार्वजनिकरूपमा व्यक्त गरिने प्रतिबद्धता पत्रमा पार्टीको नीति तथा कार्यक्रम र विकास योजनाहरू समावेस गरिएको हुन्छ । कुन कुन ठाउँमा के के गर्ने हो, के के कुरामा प्राथमिकता दिने हो भन्ने कुरा विस्तृतरूपमा उल्लेख गरिएको हुन्छ । चुनावको बेलामा मतदाताहरूलाई आफूतर्फ आकर्षित गर्न घोषणापत्रमा पार्टीहरूले आकर्षक नारा जारी गरेका हुन्छन् । यो मतदाताहरूलाई विश्वास दिलाउनको लागि गरिएको हो ।
घोषणापत्रको महत्व धेरै छ । यसलाई मतदाताहरू सबैले अध्ययन र मनन गर्नु जरूरी छ । घोषणापत्र पार्टीहरूको दस्ताबेजमात्र नभई जनतासमक्ष व्यक्त गरिएको सार्वजनिक प्रतिबद्धता पनि भएकोले उम्मेदवारहरूले जितेको खण्डमा पार्टीका प्रतिनिधिको हैसियतले यसमा उल्लेखित नीति तथा कार्यक्रमहरू निर्देशक सिद्धान्तको रूपमा काम गर्नुपर्छ । जनप्रतिनिधि भएर पार्टीको घोषणापत्रको आधारमा कति काम गरेको छ भनी जनताले सोधेको खण्डमा हर प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । घोषणा पत्रअनुसार काम नगरी आफ्नै मनोमानी गर्ने गरेको छ भने त्यो देश र जनताको लागि मात्र धोका नभई पार्टीकै लागि पनि धोका हुन्छ । यस्ता अजिम्मेवार व्यक्ति तथा पार्टीहरूलाई विश्वास गर्नु हुँदैन ।
बहुदल आएपछि नेपालमा धेरै पटक चुनाव भए । चुनावपिच्छे पार्टीहरूले घोषणापत्र निकाल्ने गरेका छन् । प्रत्येक चुनावमा पार्टीहरूले दिएको घोषणापत्रअनुसार काम हुने हो भने नेपाल स्वर्ग भइसकेको हुन्थ्यो । त्यस विषयमा अहिलेसम्म न त जनता गम्भीर बनेका छन् न त पार्टीहरू नै यसमा जवाफदेही बनेका छन् । चुनाव सकेपछि आफ्नो कर्तव्य सकेको जस्तो चुप लाग्ने र राजनैतिक पार्टीहरूले पनि यसलाई रद्दीको टोकरीमा फाल्ने गरेका छन् । जनता सचेत नभएकाले राजनीतिक पार्टीहरूले जनताको कमजोरीमाथि फाइदा उठाएको म देख्छु । यो राजनैतिक बेइमानी हो । बहुदल आएपछि सरकारमा जाने पार्टीहरू नै यसमा बढी जिम्मेवार देख्छु ।
चुनाव आएपछि राजनैतिक पार्टीहरू आकर्षक नाराका साथ चुनावमा होेमिने गरेको सर्वविदित्तै छ । हावादारी कुरा गर्न र मीठो मीठो आश्वासन दिन सिपालु ठूला दलका नेताहरूले नेपाललाई सिङ्गापुर बनाइदिने, हङ्गकङ्ग बनाइदिने, घर–घरमा ग्यासको पाइप जडान गरिदिने कुरा गर्न पछि परेका छैनन् । त्यतिमात्र होइन, उनीहरूले सुकुमवासीलाई घरखेत, बेरोजगारीलाई रोजगार, बेरोजगार भत्ता, मेटो रेल, स्मार्ट सिटी, दिल्लीबाट रेल, ल्हासाबाट रेल ल्याउने पनि भन्न छाडेका छैनन् । अब आउँदो स्थानीय चुनावमा पनि ती ठूला दल भनाउँदाहरूले मतदाताको मत तान्न के कस्तो नारा लिएर आउने हुन् र के कति आश्वासन दिने छन् ? थाहा छैन ।
अहिले ठूला पार्टीहरूलाई विश्वास गर्ने ठाउँ नै छैन । उनीहरू देशको सम्पत्ति लुट्नमा व्यस्त छन् । जनताको समस्यामा कुनै चिन्ता छैन । देश र जनताप्रति कुनै वास्ता छैन । एमसीसीजस्तो देशघाती सम्झौता गरेर देशलाई साम्राज्यवादीहरूको हातमा सुम्पने देशद्रोहीहरूलाई कुन मुखले विश्वास गर्ने ? जनताले उनीहरूलाई सजाय दिने भनेको यही बेला हो । यति बेला जनताले उनीहरूको गुलियो पोतेको विषजस्तो मीठो भाषण र आकर्षक नारालाई मीठो मानी मनमा लिन्छन् भने फेरि जनताले दुःख पाउनेछन् ।
अतः यो चुनावमा पनि राम्रो नारा र राम्रो घोषणापत्र लिएर आउँदैमा राम्रो गर्छ भन्ने सोच्नु गलत हो । उनीहरूले घोषणापत्रलाई देखाउने दाँतको रूपमा मात्र लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *