भर्खरै :

भक्तपुर जिल्लामा सर्वदलीय बैठक सम्पन्न

भक्तपुर, १४ वैशाख । भक्तपुरमा निर्वाचनसम्बन्धी सर्वदलीय बैठक बुधबार भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा सरोकारवालाहरूसँग स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्नेबारे अन्तरक्रिया गरिएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, नेमकिपा, नेकपा एमाले, नेपाली काङ्ग्रेस, राप्रपा, स्वतन्त्र उम्मेदवारलगायत पत्रकार प्रतिनिधि तथा भक्तपुरका चारै नगरका मुख्य निर्वाचन अधिकृतलगायतको उपस्थिति थियो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वडा नं ९ का उम्मेदवार रवीन्द्र ज्याख्वले निर्वाचन कार्यालयहरूमा मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली र उम्मेदवारको पूर्ण जानकारी नभएकोले उजुरी दिन र लिन समस्या आएको बताउनुभयो ।
उहाँले आचारसंहिता देखाउनको लागि मात्र नभएको बताउँदै आचारसंहिता उल्लङ्घन गर्ने दल र उम्मेदवारहरूमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ भन्नुभयो ।
एमालेका प्रतिनिधि वचन देउजाले आचारसंहितामा भएको कडा नियमले कार्यान्वयन गर्न झन् समस्या ल्याएको र फ्लेक्सको विकल्पमा कपडामा विज्ञापन लेख्ने ठाउँ नै नभएको जिकिर गर्नुभयो ।
बैठकमा नेपाली काङ्ग्रेसका प्रतिनिधि यादवप्रसाद अधिकारीले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न जोड दिनुभयो भने राप्रपाका प्रतिनिधिले सम्पर्क निर्वाचन कार्यालयमा फोटोसहितको फ्लेक्सबोर्ड राख्न पाउने कि नपाउने भनी प्रश्न उठाउनुभएको थियो ।
त्यस्तै स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरूले आचारसंहिता कार्यान्वयन नभएमा त्यसले कानुनी राज्यको उपहास गर्ने भएकोले निरन्तर निगरानी हुनुपर्ने जोड दिनुभएको थियो ।
भक्तपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश गोपालप्रसाद बाँस्तोलाले २ दिनको समयमा राजनीतिक दलले गर्नुपर्ने दायित्व पूरा नगरेको तथा कामको लोडले प्राविधिक समस्या हुँदा समयमै नामावली प्रकाशन गर्न ढिलाइ भएको स्वीकार गर्नुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले निर्वाचन स्वच्छ भयरहित बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर जिल्लाका चारै नगरपालिकाका निर्वाचन अधिकृतले आआफ्नो नगरपालिकाले निर्वाचनको लागि गरेको गतिविधिको जानकारी दिँदै मतदाता शिक्षा सञ्चालन नभएकोले सही तरिकाले मतदान गराउन कठीन हुने विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *