भर्खरै :

महिला प्रमुख हुँदैमा समानता हुन्छ भन्ने होइन

‘अन्नपूर्ण पोष्ट’ ले ६ वैशाख २०७९ मा महिलालाई पन्छाउँदै दलहरू भन्ने लेख प्रकाशन ग¥यो । हामी अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छौँ । निर्वाचनलाई सिद्धान्त र विचारको लडाइँको रूपमा उपयोग गर्नुपर्दछ । २०७४ को स्थानीय निर्वाचनमा अतिकम महिलामात्रै प्रमुख पदमा निर्वाचित भए । अधिकांश स्थानीय तहका उपप्रमुख भने महिला नै बने । वडा अध्यक्षमा पनि कममात्रै महिलाले जिते । उपाध्यक्ष÷उपप्रमुख बनेकाहरू यसपटक प्रमुख पदमा दाबी गरिरहेका छन् ।
सबै ठाउँमा महिलामात्र प्रमुख हुँदा समानता हुन्छ भन्ने होइन । पद हाँक्न सक्ने योग्यता र क्षमताको विकास भएको हुनुपर्दछ । जितेका उम्मेदवार पार्टी सिद्धान्तको आधारमा नचल्दा महिला वा पुरुषभन्दा पार्टीको काम र सिद्धान्त महत्वपूर्ण रहेको जनताबीच चर्चा छ । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने कामदार वर्गका महिला होस् या पुरुष राजनीतिक संस्कारबाट टाढा बसेको पाइन्छ । एउटा साधारण वडासदस्यको लागि कामदार वर्गका महिला र पुरुषलाई छनोट गरे पनि उनीहरू राजनीतिमा आउन डराउँछन् । गरिब तथा कामदार जनता राजनीतिमा नआउनुका मुख्य कारण राजनीतिमा पुस्ता हस्तान्तरण हो । कुनै एक पुस्ताका बाजे वा बुबाको योगदानले गर्दा छोराछोरी नाति नातिना राजनीतिमा जोडिरहेको पाइन्छ । कामदार जनता थोरैमात्र राजनीतिक क्षेत्रमा आएको छ । कोही साथी सङ्गतमा लागेर, अध्ययन, गतिविधि र सङ्घर्ष गरेर राजनीतिमा आएको पाइन्छ । कामदार जनता सङ्गठित भएमा मात्र मजदुर र कामदार जनताको समस्या सुल्झिन्छ भनेर गरिबहरू राजनीतिमा आउँछन् भने धनीहरू आफ्नो सम्पत्ति संरक्षणको लागि र आफ्नो हैकममात्र कायम गर्न राजनीतिमा निरन्तर लागिपरेको पाइन्छ । राजनीतिक दलहरूले उम्मेदवार छनोट गर्दा गरिब वर्गको हित र अधिकारको निम्ति सङ्घर्ष गर्ने, शोषण र दमनको विरुद्ध आवाज उठाउने, देशभक्त, दूरदर्शी, देश र जनताप्रति समर्पित र जिम्मेवारीबोध भएको उम्मेदवार छनोट गर्नुपर्छ ।
पुँजीवादी पार्टीमा केही लाभ पाउन राजनीतिमा संलग्न भएको पाइन्छ । आ–आफ्नो अपराध लुकाउन, आफ्नो गल्ती या आपराधिक क्रियाकलापमा बाधा नपु¥याउन नै धनीहरू राजनीतिमा छिरेका छन् । पैसाले मात्र उम्मेदवारले जित्छ भन्नु मूर्खता हो । जित्नका लागि उम्मेदवारको जनताको दैनिक जीवनसँग सम्बन्धित समस्याबारे जानकार हुनुपर्दछ । त्यसका उम्मेदवार जनताको दैनिक जीवनसँग घुलमिल हुने, जनताको समस्या समाधानबारे ध्यान दिने र फरासिलो हुनुपर्दछ । उम्मेदवारमा राम्रो व्यवहार, मीठो बोली, योग्य एवम् सहयोगी भावना हुनु आवश्यक छ । बौद्धिकरूपमा परिपक्वता नभएसम्म कुनै पनि पद र संवेदनशील ठाउँमा पुरुष वा महिला जो पायो त्यसलाई राख्नुहुुँदैन कि ? हामीले दक्ष र योग्य उम्मेदवारलाई छान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *