सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
विश्व सर्वहारा वर्गका गुरु एवम् महान् दार्शनिक कार्ल माक्र्स उहीँ बेला कम्युनिस्ट घोषणापत्रमा ‘विश्वका मजदुरहरू एक होऔँ’ भनी विश्वका मजदुरहरूलाई एक हुन आह्वान गरेका थिए । अल्पमत शोषक सामन्तहरूले बहुमत मजदुरहरूलाई एक आपसमा भिडाएर शासन गर्थे । त्यसैले १८ औँ शताब्दीको अन्त्यतिर बेलायत, जर्मनी, फ्रान्स, स्पेन, अष्ट्रिया, हँगेरी, इटाली र रुसजस्ता युरोपेली देशहरूमा ठूल्ठूला मजदुर आन्दोलन भएका थिए । त्यसबेला उनीहरूबीच बलियोले कमजोर देशमाथि आक्रमण गर्ने गर्थे । आफ्नो साम्राज्य फैलाउन, बजार कब्जा गर्न उनीहरूले साम्राज्यवादी युद्ध छेडेका थिए । यस क्रममा सन् १९१७ को अक्टोबरमा विश्व सर्वहारा वर्गका गुरु लेनिनले रुसमा जार सरकारको विरोधमा मजदुरहरूको आन्दोलनलाई नेतृत्व गरेका थिए । उनको सक्षम र सफल नेतृत्वको मजदुर आन्दोलनले रुसमा समाजवादी व्यवस्था स्थापना भएको थियो । विश्वमा मजदुर आन्दोलनबाट समाजवादी व्यवस्था स्थापना भएको पहिलो देश रुस थियो । त्यसबेला रुसमा लेनिनको बोल्सेविक सरकारले मजदुर, किसानलाई काम, माम, शिक्षा र स्वास्थ्यको बन्दोबस्त गरेको थियो । कम्युनिस्ट सरकारले सबैलाई योग्यताअनुसारको काम, कामअनुसारको ज्याला दिने प्रबन्ध गरेको थियो । त्यसैले त्यहाँ काम नपाउने, खान नपाउने, पढ्न नपाउने र स्वास्थ्य उपचार नपाउने कोही मजदुर किसान जनता थिएनन् । सबैले राज्यबाट निःशुल्क सेवा, सुविधा पाइरहेका थिए ।
नेपालमा बहुसङ्ख्यक जनता काम गरी खाने किसान र मजदुर थिए । कारखाना र उद्योगमा काम गर्ने र कृषिमा काम गर्ने किसान पनि श्रम मजदुर नै हुन् । नेपालका बहुमत जनता गरिब, अशिक्षित मजदुर किसान भएकाले नेपाल कम्युनिस्टहरूको लागि सेवा गर्ने उर्वरभूमि हो । त्यसैले हिजो नेपालका कम्युनिस्ट पार्टीहरूले आ–आफ्नो क्षेत्रबाट आ–आफ्नो विचार र सिद्धान्तअनुसार इमानदारीपूर्वक जनताको सेवा गरेका थिए । मजदुर र किसानको पक्षमा कम्युनिस्ट र वामपन्थीहरूले सङ्घर्ष गरेका थिए । उनीहरूले निरङ्कुश राणा शासन र पञ्चायती व्यवस्थाको विरुद्ध गुण्डागर्डी, हत्या, लुट, बलात्कार, शोषण र भ्रष्टाचार आदिको विरोधमा लडेका थिए । त्यसैले उनीहरूले नेपालको किसान र मजदुरको मन, विश्वास जितेका थिए । त्यसको परिणाम उनीहरूले २०७४ सालको स्थानीय तह र संसदीय निर्वाचनमा झन्डै दुईतिहाइ मत पाएका थिए । तर, कुरा कम्युनिस्ट भए पनि व्यवहारले उनीहरूले पञ्च र काङ्ग्रेसको चरित्र देखाए । उनीहरूले कम्युनिस्टकोे विचार र सिद्धान्तअनुसार मजदुर र किसानको हितमा सेवा या काम गरेनन् । उनीहरू पटक–पटक प्रतिपक्षमा बस्दा होस् या सरकारमा बस्दा मजदुरको पक्षमा ऐन कानुन बनाउन, संसद्मा विधेयक पेश गर्न र पारित गर्ने काम कहिल्यै गरेनन् । उनीहरूले मजदुरको रोजीरोटीको ग्यारेन्टी गर्न सकेनन् ।
नेपालको विकास होस्, आफ्नो खुट्टामा उभिएर देशको विकास गर्न सकोस् भनेरै चीन, रुस, जापानजस्ता मित्र देशहरूको सहयोगमा स्थापना भएको भृकुटी कागज कारखाना, गोरखकाली रबर टायर कारखाना, भक्तपुर इँटा टायल कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, हेटौँडा कपडा कारखाना, जनकपुर चुरोट कारखाना, हिमाल सिमेन्ट कारखाना, ट्रलिबस सेवा, साझा बस सेवा, बुटवल धागो कारखानाजस्ता लाखौँ करोडौँ युवाहरूलाई रोजगारी दिने कारखाना उद्योगहरू विदेशी प्रभाव र दबाबमा करोडौँको मोलमा बेचिएको थियो । उनीहरूले मित्र देशले स्थापना गरेको उद्योगको सम्पत्ति नै बेचेर खाए । नेपाली युवाहरूलाई नेपाली माटोमा होइन विदेशी माटोमा रगत पसिना बगाउन विदेश पठाउने अनि विदेशी मजदुरहरूलाई नेपालमा सहजरूपमा भित्र्याउने काम कति ठीक या बेठीक । नेपाली युवा मजदुरहरू चर्काे ब्याजदरको ऋणमा, सस्तोमा घर खेत बेचेर विदेशिन बाध्य भएका छन् । यसमा वैदेशिक रोजगारी कम्पनीहरू, उनीहरूको संरक्षक शासक दल र त्यसका नेताहरू जिम्मेवार थिए ।
एमाले, माओवादी, एकीकृत समाजवादी कम्युनिस्ट भए पनि मजदुरको हक र हितमा काम गर्ने दल भनिए पनि व्यवहारमा मजदुरसहारा दल हुन सकेका छैनन् । उनीहरू पनि पटक–पटक सरकारमा गए पनि मजदुरको पक्षमा केही काम गर्न सकेका छैनन् । उनीहरूले काम गरिखाने मजदुरको पक्षमा ऐन–कानुन बनाउन र ल्याउन सकेका छैनन् । मजदुर वर्गीय ऐन–कानुन बनाएर प्रयोगमा ल्याउन सकेका छैनन् । उनीहरू पनि पुँजीपतिहरूको सञ्चालक समितिजस्तै भए । उनीहरू विदेशीका दासजस्ता भए । उनीहरूले नयाँ उद्योग, कारखाना खोल्ने कुरा छोडिदिउँ बरु बाँकी भएका उद्योग र कारखाना पनि बन्द गर्न र बेच्न लागेका समाचारहरू बाहिर नआएका होइनन् । यदि उनीहरू साँच्चै कम्युनिस्ट भए देशको ठाउँ–ठाउँमा स्थानीय स्रोत, साधन र उत्पादनको आधारमा उद्योग, कारखाना खोलिसक्नुपर्ने थियो । आज, लाखौँ युवा मजदुरहरूले रोजगार पाइरहनुपर्ने थियो तर भएन ।
कामदार वर्गका गुरु माक्र्सले माक्र्सवादको सिद्धान्त प्रतिपादन गरेको कारण, वर्गसङ्घर्षको द्वन्द्वात्मक भौतिकवादको विचार जन्माउनुको कारण रुसमा लेनिनले पुँजीवादको विरुद्धमा मजदुर वर्गको समाजवादी व्यवस्था ल्याएका थिए भने माओ त्सेतुङले चीनमा बहुमत जनता किसान भएकोले किसान सङ्घर्षको नेतृत्व गरेर सन् १९४९ मा जनवादी गणतन्त्रको चीन स्थापना गरेका थिए । त्यहाँ किसान र मजदुर वर्गलाई राज्यले काम, माम, शिक्षा र रोजगारीको व्यवस्था गरेको थियो । हाल छिमेकी मित्र देश चीनका किसान मजदुर र विश्वका स्वाधीनता र स्वतन्त्रता चाहने किसान र मजदुरको सहयोग र समर्थनमा विश्वका तमाम मजदुर र किसानको स्वाधीनता र स्वतन्त्रता लुट्ने अमेरिकी साम्राज्यवादलाई हाँक दिइरहेका छन् । त्यसैले उसले नेपालमा एमसीसीमार्फत ताइवान, हङकङ, जापान, कोरिया, फिलिपिन्स, भियतनाम, मलेसिया र इन्डोनेसियालगायतका देशहरूलाई चीनको विरुद्धमा उचाल्ने प्रयास गरिरहेको छ । चीनमा माओ त्सेतुङको नेतृत्वमा किसानहरूको जनवादी क्रान्तिको फलको राप र तापको प्रभाव नेपालमा पर्नु कुनै अनौठो होइन । त्यसैले नेपालका कम्युनिस्टहरूले नेपाली किसानहरूको विश्वास पाएका थिए । तर, त्यो विश्वासलाई तिनीहरूले घात गरिदिए । यसको परिणाम आज नेपाली किसानहरूले दुःख भोगिरहेका छन् ।
नेपाली काङ्ग्रेस पुँजीपति वर्गको पार्टी हो । उसले किसानको पक्षमा काम नगर्नु कुनै नौलो भएन । त्यो दल वर्गीयरूपमा किसानविरोधी हुनु स्वाभाविक हो । कम्युनिस्ट भनिएका एमाले, माओवादी, एकीकृत समाजवादी, जनमोर्चाले किसानविरोधी ऐन–कानुन, नियम उल्टाउनुपथ्र्याे । त्यसको ठाउँमा किसानको पक्षमा सिँचाइ, बीउबिजन, मल कारखाना, मोहियानी हक, पुस्तौँदेखि जोत्दै, कमाउँदै आएको जग्गाको बनाउने कानुन ल्याएर किसानको हित हेर्नुपथ्र्याे ।
कृषिप्रधान देश नेपालको रोजगारीको प्रमुख स्रोत भनेकै कृषि हो । हिजो हामी अन्न विदेशमा निर्यात गथ्र्याैँ । आज अन्नलगायतका खाद्यान्न, तरकारी विदेशबाट आयात हुन्छ । हामी परनिर्भर भएका छौँ । छिमेकी मित्र भनिएको भारतीय शासकहरूले कुनै पनि बेला बहानामा नाकाबन्दी गर्नसक्छन् । यसले नेपाल र नेपाली जनताले ठूलो दुःख सङ्कट भोग्नुपर्नेछ । कृषि उत्पादित सामान आयात गर्दा नेपाली बजार खुला गरिदिँदा हाम्रा नेपाली उत्पादन बिकेन । तरकारी, दूध, अण्डा, मासु आदिको किसानले उचित मूल्य पाउन सकेका छैनन् । उचित मूल्य पनि नपाउँदा विगतमा किसानहरूले गोलभेडालगायत तरकारी, दूध सडकमा फालेका थिए । तरकारी खेतमा त्यसै कुहाएर पठाएको समाचार नआएको होइन । रगत पसिना बगाउने किसानले मूल्य नपाउने तर बिचौलियाले त्यसको चौगुणा नाफा लिइरहेका छन् ।
किसानको उत्पादन नबिकेपछि, उत्पादन कम भएपछि किसानहरू विदेशिन बाध्य भएकै कारण खेत बाँझो हुन थालेको हो । खेती योग्य जमिन, पानीका स्रोतहरू, सार्वजनिक जग्गा, जङ्गलहरू भूमाफिया, जग्गा दलालहरूले प्लटिङको नाममा सिध्याउँदै छन् । सत्तासीन दलहरूले कृषिलाई बजेटमा कहिल्यै जोड दिएका छैनन् । उनीहरूले स्वदेशकै मल कारखाना खोल्ने आँट गर्न सकेका छैनन् । उनीहरू गुणस्तरीय मल खरिद गर्दा करोडौँ, अरबौँ कमिसन नपाइएला भनेर चिन्तित हुन्छन् । उनीहरूले कृषिलाई व्यवस्थित गर्न सकेका छैनन् ।
न किसानहरूलाई उन्नत बीउबिजनको सहज व्यवस्था गर्न सकेका छन् न कृषि सामग्रीको व्यवस्था वा कृषिऔजार बनाउने कारखाना स्थापना गर्न सकेका छन्, न कृषि उत्पादन बिक्री र वितरण प्रणाली व्यवस्थित गर्न नै सकेका छन् । उनीहरूले आफ्नै माटोमा रगत पसिना बगाउने किसानहरूलाई रगत र पसिनाको मूल्य दिलाउन सकेका छैन । का. रोहितले कुनै दलले सिद्धान्त र मूल्य मान्यताको राजनीति छोड्नु भनेको आत्महत्या गर्नुसरह हुने थियो । हाम्रो अमूल्य मत देश बनाउने देशभक्त दल, नेता, उम्मेदवारहरूलाई दिनुपर्छ । यसले देश, किसान, मजदुर सबैको हित हुनेछ ।
Leave a Reply