भर्खरै :

निर्वाचन स्वच्छ, शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै जुट्नुपर्छ

निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचन आयोगले हरेकपल्ट राजनीतिक दललाई ध्यानाकर्षण गर्दै आएको हो । तर, अहिलेसम्म निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण भएको छैन । निर्वाचनको बेला कहीँ न कहीँ बुथ कब्जा गर्ने, एकै व्यक्तिले बारम्बार मतदान गर्ने, मतपत्र च्यात्ने, मतदान केन्द्रमा आतङ्कित बनाएर मतदान गर्न नदिने आदि घटनाहरू दोहोरिरहेको सर्वविदितै छ । मतदानकै बेला पैसा बाँड्ने, निर्वाचन चिह्न अङ्कित लुगा, टोपी आदि लगाएर निर्वाचन मतदान केन्द्र वरिपरि घुमिरहने काम पनि पहिले हुँदै आएको थियो । कति मतदान केन्द्रमा त धाक–धम्की दिइन्थ्यो, भनेको चिह्नमा मत नहाले कुटपिट गर्ने धम्की दिइन्थ्यो । कति ठाउँमा निर्वाचन बिथोल्न उच्छृङ्खल तत्वहरू नै प्रयोग गरिएको हुन्थ्यो ।
धाँधली मतदानको दिनमात्र होइन, मतगणनाको बेला पनि हुन्छ । स–साना कुरालाई विवादमा ल्याएर झगडा गराइन्थ्यो र मतगणना गर्न ढिलो बनाइन्थ्यो । कहिलेकाहीँ मतपत्रमा हालेको छापकै विषयमा विवाद हुन्थ्यो । कति मतगणना स्थलमा एकतर्फी मतगणना गर्ने काम हुन्थ्यो । कति मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले नै धाँधली गर्थे । दलको चुनाव चिह्नमा छाप हाले पनि आफ्नो आस्था भएको दलको चुनाव चिह्नमा छाप हालेको भनी बेइमानी हुन्थ्यो ।
निर्वाचन शान्तिपूर्णरूपमा सफल पार्न, धाँधली हुन नदिन, कहीँ कतै विवाद चर्केर शान्ति नबिथोल्न नदिन सबै राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी, दलका प्रतिनिधिदेखि निर्वाचन अधिकृतसमेत इमानदार हुनुपर्छ । आफ्नो अधिकार सही ढङ्गले प्रयोग गर्नुपर्छ । तर, निर्वाचनको बेला आफ्नो दलका कार्यकर्ताले हाहु गरे पनि, जाँड रक्सी खाएर आतङ्कित पारे पनि, पैसा बाँडे पनि सम्बन्धित दल मौन बसेर आपराधिक क्रियाकलापमा बढावा दिन्छ । अझ उल्टो आफ्ना दलका कार्यकर्ताहरूलाई अपराध छोप्ने काम गर्छ । यस कार्यमा राजनीतिक दलहरू सचेत हुनुपर्ने हो ।
विगतको निर्वाचनमा झैँ यो स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारी मनोनयनको सिलसिलामा आफू आफूबीच कुटाकुट भयो, उम्मेदवारलाई कुटेर लखेटियो, कतै बागी उम्मेदवारी दिइयो, कतै राजीनामा दिइयो, कहीँ आफ्नो पार्टी छोडेर अर्काे पार्टीमा लागे । भागबन्डा नमिल्दा, आफूलाई निर्वाचनमा उम्मेदवारी बन्न टिकट नदिएको कारण यी घटनाहरू भएका हुन् । यी घटनाहरू निर्वाचनको क्रममा देखिएका विकृत घटना हुन् । यस्तै यस्ता घटनाले पनि मतदानको बेला, मतगणनाको बेला विवाद उठेर मतदान केन्द्र बिथोल्ने र मतगणना रोकेर समस्या निम्त्याइएको हुन्छ । आफ्नो दलको विवाद मतदान केन्द्रमा पोखेर आतङ्कित पार्ने काम विगतमा भएको थियो । भनिन्छ, पुँजीवादी व्यवस्थामा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुनेछैन । पुँजीवादी दलहरूले निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई जिताउन साम, दाम, दण्ड र भेदको नीति अपनाउँछ । यही कारण कति राजनीतिक दलले आचारसंहिता उल्लङ्घन गर्छन्, सीमाभन्दा बढी पैसा खर्च गर्छन् । यो राजनीतिक दलले सिद्धान्त र विचारको राजनीति नगर्दाको परिणामले भएको हो । सिद्धान्त र विचारको पालना नगर्दा यो समस्या निम्तिएको हो । अतः सबै राजनीतिक दलहरूले स्वच्छ राजनीति गर्नुपर्छ । देश र जनताप्रति समर्पित भएर राजनीति गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *