भक्तपुर दरबार परिसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रम
- जेष्ठ १३, २०८३
निर्वाचन प्रजातन्त्रको महत्वपूर्ण प्रक्रिया हो । प्रजातन्त्र फरक विचारलाई पनि सम्मान गर्ने र स्वीकार्ने उच्च कोटीको राजनीतिक संस्कार हो । तर, नेपालका शासक दलहरूले प्रजातन्त्रको जतिसुकै फलाको गरे पनि उनीहरूको व्यवहार र सोच प्रजातान्त्रिक भावना र आचरणविपरीत छ । उनीहरू अझै पनि फरक विचार र दृष्टिकोणलाई स्वीकार्न सक्दैनन् । भिन्न विचारसँग राजनीतिक प्रतिस्पर्धा गर्न उनीहरू तयार छैनन् । त्यसकारण, उनीहरू निर्वाचनमा फरक विचारका उम्मेदवारलाई दबाउने, अराजनीतिकरूपमा खेदो खन्ने र गालीगलौजसमेत गर्छन् । कतिपय ठाउँमा फरक विचार राख्ने दलका कार्यकर्तामाथि भौतिक हमला र आक्रमणसमेत गरिएका दृष्टान्त छन् । साङ्गठनिकरूपमा कमजोर राजनीतिक कार्यकर्तामाथि अनेकन दबाब दिएर उसलाई पथ विचलित बनाउने गरिएको छ । शासक दलले पैसाको खोलो बगाएर फरक विचारमाथिको बहसलाई ओझेलमा पार्ने गरिएको छ । यस्ता व्यवहार आज प्रजातन्त्रको बखान दिएर नथाक्ने र आफूलाई असली प्रजातन्त्रवादी दाबी गर्ने राजनीतिक दलबाट भइरहेको छ ।
उनीहरूको यस्तो व्यवहारबाट मुखले जतिसुकै प्रजातन्त्रको कुरा गरे पनि खासमा अझै पनि त्यस्ता दलका नेता कार्यकर्ता राणाकालीन वा पञ्चायतकालीन सामन्तवादी चिन्तनबाट मुक्त नभएको छर्लङ्ग हुन्छ । जसरी राणा र पञ्चहरू फरक राजनीतिक सोच र सिद्धान्त स्वीकार्न तयार थिएनन्, त्यस्तै आजका शासक दलहरू पनि फरक विचारको सम्मान गर्न तयार देखिएका छैनन् । यसले खासमा नेपाली जनताको बलिदानबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थालाई कमजोर बनाएको छ ।
प्रजातन्त्र भनेको भाषणमा फलाक्ने वा राजनीतिक दलका दस्तावेजमा मात्र लेख्ने शब्दावली होइन । जबसम्म प्रजातन्त्र जनताको जीवनसँग एकाकार हुँदैन, खास प्रजातन्त्र कार्यान्वयन र सबलीकरण सम्भव छैन । शासक दलहरूले आफ्नै दलभित्र मात्र होइन, नेतृत्वको चिन्तन शैलीमा समेत प्रजातान्त्रिक व्यवहार देखाउन सकेका छैनन् । स्थानीय तहको निर्वाचनमा नेताहरूका यस्ता कमजोरी स्थानीय स्तरका कार्यकर्तासम्म फैलिएको देखिएको छ । संविधानले दिएको अधिकार प्रयोग गरी निर्वाचनमा वैचारिक प्रतिस्पर्धामा होमिएका राजनीतिक दलका कार्यकर्ताहरूलाई शासक दलले हतोत्साहित गर्ने प्रयास भइरहेका छन् । वैचारिक प्रतिस्पर्धाको निम्ति चुनाव लडेका उम्मेदवारलाई अनेकन दबाब दिने, धम्की दिने, मतदाताबीच भ्रमको खेती गरेर र आचारसंहिताको खिल्ली उडाएर पैसा बाँड्ने र भोजभत्तेर गरेर खास प्रजातान्त्रिक प्रक्रियाप्रति निरुत्साहित गरिँदै छ ।
एउटा निर्वाचनको निम्ति यस्ता काम शासक दलका केही नेताहरूको निम्ति फलदायी हुनसक्छ । यस्तै व्यवहारले शासक दलका उम्मेदवारलाई प्राविधिकरूपमा चुनाव जिताउन पनि सक्छ । तर, देशको प्रजातन्त्रको निम्ति यसले समग्रमा पार्ने प्रभाव भने घातक हुनेछ । यसले समयान्तरमा प्रजातन्त्रलाई कमजोर बनाउनेछ । देशको राजनीतिक व्यवस्थालाई विकृत बनाउनेछ जसको भारी आजका शासक दलकै लागि पनि समयान्तरमा भारी पर्न सक्छ ।
शासक दलका बोली र व्यवहारबीचको यो विरोधाभाष नेपाली जनताले बुझ्न जरुरी छ । बकुला माछा आफ्नो फन्दामा नपर्दासम्म रामनाम जपेजस्तै शासक दलहरू चुनावी विजयको झिनो स्वार्थको लागि आज प्रजातन्त्रको नक्कली जपतप गरिरहेका छन् ।
राजनीतिक चेतनाले जनतामा आलोचनात्मक दृष्टिकोणको विकास गर्छ । शासक दलहरूका व्यवहारबाट पटक–पटक ठगिएको अनुभव गरेका नेपाली जनताले अब उनीहरूका यस्ता झूटा व्यवहारबाट सजग बन्न जरुरी छ । आगामी स्थानीय तहको निर्वाचनमा जनताले यो कोणबाट राजनीतिक दललाई नियाल्न जरुरी छ ।
Leave a Reply