भर्खरै :

भारतले निर्यात रोकेपछि विश्वभर बढ्यो गहुँको मूल्य

लन्डन, १६ मे । भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।
भारतले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै गहुँको निर्यातमा रोक्ने निर्णय गरेको थियो । यतिबेला विश्वबजारमा गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको स्थिती छ । अन्तर्राष्ट्रिय बजारमा गहुँको प्रयोग रोटी बनाउनेदेखि नूडल्सलगायतका खाद्य वस्तु उत्पादनमा प्रयोग गरिन्छ ।
निर्यात प्रतिबन्ध लगाउँदै भारतको केन्द्र सरकारले भनेको छ, “देशको खाद्य आवश्यकता पूर्ति गर्न निर्यात बन्द गरिएको हो ।” यद्यपी, भारतीय सरकारी अधिकारीहरूका अनुसार यो प्रतिबन्ध स्थायी नभइ अस्थायी मात्र हो ।
भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णयसँगै जर्मनीका कृषि तथा खाद्य मन्त्री केम ओज्डेमिरले विरोध गरेका छन् । उनले जी सेभेनको सभामा बोल्दै भनेका छन्, ‘यदि सबै मुलुकले आफ्नो आवश्यक्ता पूरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा नराम्रो स्थिति आउन सक्छ ।’
खासगरी, रूस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर गहुँको आपूर्ति व्यवस्था खलबलिएको छ । मूल्यवृद्धि भएसँगै भारतले आन्तरिक माग पूरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । यसअघि, इण्डानेशियाले पाम तेलको निकासी पूर्णरूपमा रोकेको थियो । आन्तरिक बजारमा तेलको मूल्य बढेको र त्यसलाई नियन्त्रण गर्नेभन्दै इन्डोनेसिया सरकारले पाम तेल निकासी रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *