भ्रष्टाचारी र जघन्य अपराधीलाई मृत्युदण्डको सजाय आवश्यक छ
- आश्विन १९, २०८३
स्थानीय निकायको निर्वाचन सकिएको छ । यतिबेला सबैको ध्यान निर्वाचनको परिणामतिर छ । केही स्थानमा निर्वाचन हुन बाँकी भए पनि भइसकेका निर्वाचनको मतगणना भइरहेको छ । अहिलेको मतगणनालाई हेर्दा सम्पूर्ण निर्वाचनको परिणाम आउन अझ दुई हप्ता जति लाग्ने देखिन्छ । निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
जनताको मन र विश्वास जित्नु भनेको धेरै ठूलो कुरा हो । यो कठिन पनि छ । मानिसलाई उसको शील, स्वभाव, व्यवहार र कर्मले नै महान् बनाउने हो र कुनै पनि प्रतिस्पर्धामा सफल बनाउने गर्दछ । निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई र सफल कार्यकालको लागि शुभकामना छ ।
जनप्रतिनिधिहरूको सबैभन्दा पहिलो कर्तव्य जनताको सेवा गर्नु हो । कर्म र उत्तरदायित्वले मानिसलाई महान बनाउँछ । जसले कर्तव्य पूरा गर्दछ त्यसलाई सबैले सम्मान गर्दछ । अतः जनप्रतिनिधिहरू जनताका प्रतिनिधि हुन् । जनप्रतिनिधिहरूले जनता र आफ्नो घोषणापत्रलाई कहिल्यै बिर्सनु हुन्न । घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता र वाचाहरू एकपछि अर्को पूरा गरी जनताको मन जित्ने कोसिस गर्नुपर्दछ । कतिपय कुराहरू घोषणापत्रमा समेटेको हुँदैन । गाउँ–सहरका जल्दाबल्दा अरू समस्याहरू पनि हुने गर्दछ । ती समस्यालाई हेरी बुझी सकेसम्म चाँडै पूरा गर्नेतर्फ लाग्नुपर्छ । गाउँ सहरको विकास र जनताको सुख सुविधाकै निम्ति जनताले घामपानी, हावाहुरी केही नभनी आफ्नो अमूल्य मत दिई आफ्नो कर्तव्य निभाए । जनप्रतिनिधिहरूले पनि जनताको भावना र चाहना बुझी आफ्नो कर्तव्य निभाउनुपर्छ ।
यस पटकको निर्वाचनमा कतिपय ठाउँमा असल चरित्र र व्यवहार भएका, जनताको सुख–दुःखमा साथ दिँदै आएकाहरूलाई मत दिई जिताएको देखिन्छ । तर, पनि ठूला पार्टीहरूले चुनावमा विभिन्न लोभलालच र आश्वासन दिएर फकाउन छाडेका छैनन् । कतिपय ठाउँमा भोट खेर जाला है भन्दै आफूतर्फ भोट तान्न ठूला पार्टीहरूले फट्याइँ र बदमासी गर्ने गरेको देखिन्छ । ठूला दलहरू देशघाती बने, उनीहरूले सत्ता स्वार्थमा लागेर देशका नदीनाला बेचे । एमसीसीजस्ता देशघाती सम्झौता गरे । जनप्रतिनिधिहरूले जनताको सुख दुःखमा साथ दिनुपर्दछ । तर, जनप्रतिनिधि भएर जनतालाई टेरपुच्छर नलगाउने, केही काम नगर्ने, कमाउ धन्धातिर लागे भने जनताले उचित समयमा सजाय दिनेछन् ।
जनप्रतिनिधिहरूले जनताको भावना र चाहनालाई बुझेर काम गर्नुपर्छ । राम्रो कामको फल राम्रै हुन्छ । राम्रो काम गर्नेलाई जनताले कहिल्यै बिर्सदैनन् । जनताको सच्चा जनप्रतिनिधि भएर काम गर्ने आम मतदाताको विश्वास छ ।
Leave a Reply