पुँजीवादी सरकार मातहत हुने निर्वाचन स्वच्छ र निष्पक्ष नहुने
- आश्विन २०, २०८३
बोलीचालीमा नेपाली समाजमा ‘सर्वहारा’ वर्गीय भावनालाई मजदुर वर्गीय भावनाको रूपमा लिने गरेको अनुभव हुन्छ । कामगरी खाने कामदार तथा ज्यामीहरूलाई ‘सर्वहारा’ वर्गको रूपमा लिने गरिन्छ । तर, शारीरिक र मानसिकरूपले कामगरी खाने व्यक्ति वा समुदायलाई मजदुर वर्गको रूपमा लिइन्छ । उत्पादनको साधन वा सेवामा मजदुर वर्गको आफ्नो स्वामित्व हुँदैन । ती असङ्गठित तथा उत्पादनको साधन र सेवामा स्वामित्व नभएका मजदुरहरूलाई बोलीचालीको भाषामा मजदुर भनिए पनि तिनीहरूमा पनि ‘पुँजीवादी’ भावना हुन्छ ।
सानो खेतको टुक्रा, सानो घर तथा कोठा र माथिल्लो दर्जाको शैक्षिक प्रमाणपत्रलाई समेत रोजगारीको ज्यावलको रूपमा लिइन्छ । सामन्ती समाजको अवशेष नमेटिएको नेपाली समाजमा पुरानो पारिवारिक नाम ब्राह्मण र क्षेत्रीजस्तै जिल्ला र ठाउँ नै एक प्रकारको प्रमाणपत्र हुने गरेको देखिन्छ । तर, यसलाई वर्गको रूपमा हेरिनु हुन्न । निश्चित पारिवारिक नामका अत्यन्त बहुमत जनता पनि दलित र पीडित छन् । सिंहदरबार र माथिल्ला सरकारी पदमा पुगेका कर्मचारीहरूमा भने सामन्ती र पँुजीवादी प्रवृत्ति भएको कारण ‘कर्मचारी युनियन’ को माध्यमबाट आफ्नो ‘पारिवारिक’ भावनाअनुसार मजदुर वर्गीय भावनाविपरीत काम गर्दै आएको अनुभव सबैले गरेका छन् ।
मजदुर वर्गीय र पुँजीपति वर्गीय भावनाबीचको भेद कसरी छुट्याउन सकिन्छ ? मजदुरहरू जात, धर्म र ठाउँको कारणले होइन आफ्नो मेहनत र सीपअनुसार आफ्नो ज्याला, पारिश्रमिक र तलबमा बाँच्न खोज्छन् । तिनीहरू दास युग र सामन्ती समाजको पृष्ठभूमि एवम् संस्कारप्रति भन्दा आफ्नो मेहनत र सीपमै विश्वास गर्छन् । तर, मजदुर भई ज्यालामा बाँच्ने भए पनि आर्थिकरूपमा सम्पन्न हुनमात्र खोज्ने व्यक्ति यथार्थमा ‘मजदुर’ भावना नभएका हुन्छन् । यसको ठीक उल्टो आर्थिक र सामाजिकरूपले तथा प्रमाणपत्रको हिसाबले माथिल्लो वर्गको पृष्ठभूमि भए पनि आफ्नै बल, बुद्धि, सीप र परिश्रममाथि नै विश्वास गर्ने व्यक्तिमा ‘मजदुर वर्गीय’ भावना हुन्छ ।
वर्गीयरूपले सङ्गठित तथा समाजवाद र समाजवादी क्रान्तिबाट शिक्षित एवम् दीक्षित, सामाजिक र आर्थिकरूपले आफ्नो मेहनत र सीपमा बाँच्ने मजदुर तथा कुनै व्यक्ति र समुदायमात्र ‘सर्वहारा वर्गको भावना भएको व्यक्ति वा समाज’ हुन्छ । सन् १८७०–१८७१ मा पेरिसका क्रान्तिकारी मजदुरहरूले आफ्नो वर्गीय राज्य ‘पेरिस कम्युन’ को स्थापनाको निम्ति एक व्यक्तिसँग भएको बन्दुकमा अन्तिम गोली भएसम्म त्यो रातो झन्डालाई खस्न र ढल्न दिएनन् । जिउँदै पक्राउ परेका मजदुरहरूले आफ्नो ज्यानको निम्ति ‘पुँजीवादी अदालत’ मा कहिल्यै माफी मागेनन् बरु अर्को जन्म भएमा फेरि आफ्नो वर्ग र वर्गीय शासनको निम्ति लड्ने दृढता र अडान कायम राखे । त्यही हो ‘सर्वहारा वर्गीय भावना’ । नेपालमा एमाले र काङ्ग्रेसी नेतृत्वका ‘कर्मचारी युनियन’, ‘मजदुर युनियन’ र डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी आदि शारीरिक तथा बौद्धिक श्रमसँग सम्बन्धित पेशागत सङ्गठनहरू मजदुर भावनाभन्दा व्यवहारमा ‘पुँजीवादी’ भावनाबाट प्रभावित छन् । आफू जुनसुकै पेशामा भए पनि पेशाप्रति इमानदार, पीडित वर्गको हित एवम् देश र समाजवादजस्तो प्रगतिशील समाजप्रति आस्थावान् तथा त्यसको निम्ति लड्ने सङ्कल्प भएका व्यक्ति र समुदाय मात्रै ‘मजदुर भावना’ भएको व्यक्ति र समुदाय हुनेछ ।
आफ्नो स्वार्थको निम्ति समाज, देश र कामदार वर्गको अहित वा भविष्य
(समाजवाद) को निम्ति अहित गर्ने व्यक्ति, समाज र संस्था नामले ‘कम्युनिस्ट’, ‘समाजवादी’ वा ‘प्रजातन्त्रवादी’ भनिए पनि तिनीहरू सामन्तवादी र पुँजीवादी नै हुन्छन् ।
काम नगरी खाने होइन, योग्यताअनुसार काम गर्ने र कामअनुसार मात्रै ‘ज्याला’ र ‘तलब’ वा ‘पारिश्रमिक’ खोज्ने व्यक्ति मात्र ‘मजदुर’ हुन् । धेरै बिदा खोज्ने, अयोग्य भए पनि माथिल्लो पद खोज्ने र बढी सहुलियत लिने प्रवृत्तिको विकासले ‘समाजवादी’ देश रुसमा समेत पुँजीवादको पुनः स्थापना भयो । सोभियत रुसमा दिनको ८ घण्टा कामको समयमा थप दुई घण्टा बढी काम गरी देश र समाजवादको निम्ति योगदान पु¥याएका लाखौँ मजदुरले समाजवादलाई बलियो बनाएका थिए । त्यस भावनामा खिया लागेपछि समाजवादको पतन भयो ।
Leave a Reply